रामकृष्ण ढकालकाे पहिलो रेकर्डिङ र एल्बममा रहेकाे गीत 'बाँधिन लाग्दा माया'को रचना सन्दर्भ

रामकृष्ण ढकालकाे पहिलो रेकर्डिङ र  एल्बममा रहेकाे गीत 'बाँधिन लाग्दा माया'को रचना सन्दर्भ

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  चैत्र १३, २०७६

‘बाँधिन लाग्दा मायाको बन्धन तीन तारा डुबेछ
धेरै थियो रातमा कुरा उज्यालो भएछ’  

प्रसिद्ध गायक रामकृष्ण ढकालले गाएको गीत हो यो । संंभवतः मेरो रचनामा रहेको यस गीतबाट रामकृष्णले ‘रेकर्डिङ’ यात्रा प्रारम्भ गरेका थिए । त्यसै कारणले रामकृष्णको आफ्नो पहिलो एल्बममा यो गीत समावेश  गरिएको छ । 

यो गीतको रचना ३० वर्षअघि गरेको थिएँ । यस गीतको ‘रेकर्डिङ’ भने २०५२ सालमा आएर भएको थियो । यस गीतको ‘रेकर्डिङ’मा प्रसिद्ध संंगीतकार सचिन सिंहको ठूलो योगदान छ ।   

अहिले म मेरो पुस्तकालयमा बसेर बितेका पलहरूलाई सम्झिरहेको छु । समयले आफैँलाई डोहोर्‍याउँदोरहेछ । त्यो कुरा जीवनको करिब आधा उमेर पार गरेपछि वा उपभोग गरेपछि थाहा हुँदोरहेछ । बितेका समयलाई  फर्केर नियाल्दा कताकता इतिहास जस्तो पनि लाग्दोरहेछ  ।

गायक रामकृष्ण ढकाल र संंगीतकार सचिन सिंहलाई यो मेरो गीत गाएको समय ‘नोस्टाल्जिक’ हुँदो हो ! सेतो पाइन्ट लगाएको एउटा सुन्दर ठिटो आदर भाव प्रकट गर्दै रामकृष्णले म्युजिक नेपालबाट ल्याएर मलाई एल्बम दिएको स्मरण ताजै छ मसँँग । 

करिबकरिब ३५ वर्ष अगाडि सचिन सिंहसँग मेरो भेट रेडियो नेपालमा भएको थियो । उहाँको संंगीत फिल्मी गीतहरूमा घन्किरहेको समय थियो । 

सिंह शालीन आचरणका मानिस हुनुहुन्थ्यो । मलाई एक दिन एउटा गीत लेख्न अनुरोध गर्नुभयो । त्यसपछि मैले जसोतसो लेख्ने प्रयास गरेँ । मेरा लागि अवसर पनि थियो त्यो ।  मेरो दिमागमा आफूले देखेको समय र दृश्यहरू शतत् फिल्मको रिलझैँ मन मस्तिष्कमा घुम्न थाले । अचानक मेरो ध्यान मेरो जिल्ला खोटाङमा लाग्ने वर्षदिने बजार बराह पोखरी, सोल्दुंगाहरूका रात्रिकालीन दृश्यहरूको स्मरणले तान्यो । 

ती बजारहरूमा हजारौँ मानिसहरू धार्मिक स्थलको ‘बजार भर्न’ जान्थे । उक्त बजारमा मानिसले भोग्ने जीवनको रोमान्टिक क्षण, दुःखान्त, हाँसो, रोदन र आफन्तसँगको भेटघाटका रमाइला दृश्यहरूलाई नजिकबाट स्पर्श गरेको थिएँ ।

मेरो मन उडेर त्यो रात्रिकालीन सोल्दुंगा बजारको दृश्य सलबलाउँछ । प्राय: रातको बजारमा प्रेम गर्ने मायालुहरूको लागि उपयुक्त अवसर भएको पाउँछु ।  रातभरी प्रेममा बाँधिएर पनि उज्यालो भइसक्दासम्म अझ भन्न बाँकी रहेको जस्तो, कुनै काम गर्न अझ अधुरो रहेको समय जस्तो, छुट्नुपर्दाको असहज परिस्थितिले रोएको भावुक दृश्य प्राय: निकै जोडीमा देखेको सम्झना मलाई आउने गर्छ । 

अझ भेटघाटबाट आफन्तहरू छुट्टिन लागेको समयको मार्मिक अवस्था मात्र होइन, उज्यालो हुने पख कयौँ प्रेमिल जोडीहरू छुट्टिन नसकेर भावविभोर भएको दृश्य झलझलती अहिले र यही समयमा भएको जस्तो भएर आउन थाल्यो । बरु अझ बढी के लाग्न थाल्यो भने ‘उनीहरू कसरी छुट्टिए होलान् !’  

गीत लेख्नलाई कुनै समय वा धटनाहरू भए पुग्नेरहेछ । त्यसलाई कविले कल्पित आघारहरू निर्माण गरेर सुन्दर रचना निर्माण गर्ने न हो । स्रष्टा प्रकृतिभन्दा पर जान सक्दै सक्दैन । लेख्ने लत लागेका चिन्तकलाई यस्तै परिवेशले मस्तिष्कमा लेख्नका लागि आग्रह गरिरहेको हुन्छ ।

कहिलेकाहीँ चट्याङ परेजस्तो कल्पनाको आकाशमा डुबेर लेख्दा गीत, कविता, कथालगायतका रचना रचना पनि गर्न सक्छ । त्यस्तो काव्यिक मिठास नबन्न पनि सक्छ । 

तसर्थ लेखकलाई लेख्नु भनेको डरलाग्दो ‘रिस्क’ पनि हो । सजिलै अरूले बुझ्दैनन् । समय, शरीर, थकान, मस्तिष्कमा त्रास, सामाजिक चुनौती आदिबाट कविको ज्यान नै जीर्ण हुन सक्दोरहेछ । मैले निकै रात र दिन खर्चेको छु यो गीत लेख्नलाई । धेरै दिनपश्चात् बल्ल गीत तयार भएको महसुस गरेको थिएँ ।  

यसरी आफूले गीत तयार गरेँजस्तो लागेपछि सचिनजीलाई कमलादीको चिया पसलमा चिया पिउने योजनाका साथ बेलुका ४ बजे उपलब्ध गराएँ ।  

पहिले मैले जानेर गीत लेखेको होइन तर संंगीतको धून सानैदेखि ममा बजिरहेको थियो ।  स्कुल र क्याम्पसमा जानी नजानी खुब गाउने कोसिस गर्थेँ । आफ्नै जीवनका रङहरूको भावुकता, उदासी, खुसी, आश्चर्य, सम्मोहन थुप्रै मिश्रित कल्पनाको अवेगलाई लेख्ने प्रयास गरेको थिएँ । 

भद्र स्वभावका सचिन हुनुहुन्छ ।  एक दिन फेरि रेडियो नेपालमा भेट भयो । आज जस्तो फोनको सुविधा थिएन त्यसबेला । ल्याण्डलाइन राख्नलाई निवेदन दिएपछि १० वर्ष कुर्नुपर्ने  अवस्था थियो । एक कुनामा गितार बजाएर गीतको धून मीठो लयमा सुनाउनुभयो । सुनेर म त हर्षित नहुने कुरै भएन, अनि फेरि भन्नुभयो, ‘अहिले सानो फुच्चे रामकृष्ण ढकाल आएको छ,  उसलाई दिएर ट्राई गरौँ, के छ तपाईंको विचार ?’ 

त्यस समयका स्थापित संगीतकारले भनेपछि मैले हुन्न भन्न सकिनँ ।  रामकृष्ण कार्यक्रमहरूमा, सार्वजनिक स्थानमा मीठो गीत गाउँछन् भन्नेसम्म  सुनेको थिएँ । मेरो चिनजानसम्म थिएन । मेरो विचारचाहिँ प्रेमध्वज प्रधानलाई दिने थियो ।  किनभने 'घुम्तीमा नआऊ है' उहाँको गीत क्याम्पसतिर निकै गाइसकेको थिएँ । त्यस कारणले पनि म उहाँलाई दिन चाहन्थेँ ।  

म पहाड घर गएको थिएँ । मेरो रचनाको यो गीत रेकर्ड भएछ । म आउनासाथ सचिनजीले रेकर्डको टेप सुनाउनुभयो । मलाई कताकता गायनमा केके भएजस्तो लाग्यो ।  पहिले सुनेजस्तो थिएन ।  उहाँले मेरो अनुहार पढिहाल्नुभएछ । भनिहाल्नुभयो, ‘फेरि गाउन लगाउँछु, रामकृष्णलाई पनि चित्त बुझेको छैन होला ।’  

फेरि रेकर्ड गर्ने भनेपछि म कम्ती खुसी भएको थिइनँ । निकै मिहिनेत गरेर फेरि  अर्काे पल्ट रेकर्ड गरिएछ । त्यो समयमा पनि म काठमाडौँमा नभएको समय परेछ ।

‘तिमीलाई हेरी लुकेछ लाजले आकाशको चन्द्रमा 
चाहना मेरो उर्लेर आयो आजको यो भेटमा  बाँधिन लाग्दा...

पुछिदिऊँ कि घुम्टोभित्र झरेको आँसुलाई 
यस्तै हुन्छ माया लाउँदा जीवन साट्नेलाई  बाँधिन लाग्दा...

जबजब यो गीत बज्न थाल्छ र सुन्ने गर्छु, तब मेरो गाउँको सिरानमा लाग्ने बजार, जंंगल, भिर, चौर, सुन्दर प्रकृतिहरू मानसपटलमा आइदिन्छन् । वसन्तको समयमा गुराँस फुलेर वर्णन गर्न नसकिने सुन्दरता देखिन्छ । 

मेरो मन उडेर त्यो रात्रिकालीन सोल्दुंगा बजारको दृश्य सलबलाउँछ । प्राय: रातको बजार प्रेम गर्ने मायालुहरूका लागि उपयुक्त अवसर भएको पाउँछु । रातभर प्रेममा बाँधिएर पनि उज्यालो भइसक्दासम्म अझ भन्न बाँकी रहेको जस्तो, कुनै काम गर्न अझ अधुरो रहेको समय जस्तो, छुट्नुपर्दाको असहज परिस्थिले रोएको भावुक दृश्य प्राय: निकै जोडीमा देखेको सम्झना मलाई आउने गर्छ । 

अझ पनि सम्झन्छु, उनीहरू मायाको डोरीले रातभर बाँधिएर कसैले देख्छ कि भन्ने डरले कसरी छुट्टिए होलान् ! कतिको घरजम भयो कि भएन होला ? अथवा कुनै परिस्थितिले त्यतिमा नै जीवनको मनोरंंजन पूरा भयो कि ? मेरो यो गीत उनै प्रेमिल रातमा माया साट्ने जोडीहरूप्रति समर्पित  गरिरहेको छु,  जसले यो गीत लेख्न मलाई अथक मिहिनेत गर्न कर लगएको थियो ।  

आज फेरि प्रिय गायक रामकृष्ण ढकाल र प्रसिद्ध संंगीतकार सचिन सिंहलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।   

प्रिय स्रोतहरूले गीत सुन्न रुचि भए युट्युबमा यहाँ पनि सुन्न सकिन्छ ।