'नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत '

'नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत '

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन २२, २०७५

रुपन्देही । ‘मौका मिल्दा गीत गाउन झरौं है, गीत–सङ्गीतको जगेर्ना गरौं है’ बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले 'नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि त रगत 'भनेर जवाफ दिइन् । 

पुरानो लोकभाका 'फूलमा भमरा, सानु हितैको मायालाई भुल्ने नगर' भन्ने भाकामा दोहोरी गीत शुरु गरेका उनीहरुले लोकसंस्कृतिको संरक्षणमा लागौँ भन्ने चेतना दिए । 

दोहोरी प्रतियोगिताकै लागि जाजरकोटबाट बुटवल आएका गायक गोविन्द न्यौपाने र स्याङ्जाका राजु केसी साथी बनेर दोहोरी गाए । 'तिमी गाउनी म पनि गाउनी, भन हाम्ले रोजगारी के पाउनी' दोहोरीमा वेरोजगारीको प्रसङ्ग जोडेर उनीहरुले पनि चेतनामूलक गीत गाए । 

दोहोरी प्रतियोगिताका लागि पाल्पाबाट आएका गायक राजकुमार न्यौपाने र दाङका विजय भट्टराईले पनि पुरानो लोकदोहोरी भाका लिएर प्रस्पिर्धामा उत्रिए । 'दोहोरी गाउन सारै मन पराउँछु, कृषक हुँ म गाईबाख्रा चराउँछु' भनी राजकुमारले दोहोरी गाउँदै गर्दा दर्शकले गाउँघरका वनपाखामा गाउने दोहोरीको सम्झना गरे । उनीहरुले 'छिनको छिनैमा, भेटभो माया के भनी बोलाऊँ म पहिलो दिनैमा' भन्ने पुरानो भाका गाएर दर्शकलाई मनोरञ्जन दिलाए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बुटवलमा आयोजना गरेको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवमा पहिलोपटक पुरुषरपुरुष र महिलारमहिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था मिलाइएको छ । 

यही मौकामा कलाकारले माया पिरतीभन्दा पनि फरक प्रसङ्गमा गीत गाएर दर्शकलाई नचाए । सम्धी–सम्धी, साथी–साथीमात्रै होइन ज्वाइँ र जेठानको भूमिकामा पनि कलाकारले दोहोरी गाएर दर्शकलाई नयाँ स्वाद दिलाए । 

महोत्सवमा दर्शकलाई दोहोरी गीतको फरक स्वाद चखाउन पहिलोपटक पुरुषरमहिला, पुरुषरपुरुष र महिलारमहिलाबीचमा पनि दोहोरी गाउन मिल्ने व्यवस्था गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीले बताउनुभयो । 

देशभरका कलाकारको जमघट रहेको महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, शिव हमाल, पूर्णकला बिसीलगायतका कलाकारले दर्शकलाई नचाएका थिए । बुटवलको बुटवलमण्डपमा आयोजित महोत्सवमा आठ समूहले दोहोरी प्रतियोगितामा भाग लिएको दोहोरी गीत प्रतियोगिता उपसमितिका सदस्य दामोदर बस्यालले जानकारी दिनुभयो । महोत्सव २५ गतेसम्म चल्ने कुरा राससको समाचारमा उल्लेख  छ ।