पोखरामा पर्यटकका लागि छ वटा रेष्टुरेन्ट खुल्ने

पोखरामा पर्यटकका लागि छ वटा रेष्टुरेन्ट खुल्ने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र १३, २०७६

कास्की । ‘लक डाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ ।

विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने निर्णय गरिएको हो । रेवानका अध्यक्ष भिमसेन भुजेलका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि लेकसाइडका अम्मटस्थित माउण्ट कैलाश रिसोर्ट र ग्रेट वाल रेष्टुरेन्ट, बाराही चोकस्थित मुनडान्स रेष्टुरेण्ट, गौरिघाटस्थित होटल ग्लासिएर, सेण्टर प्वाइन्टस्थित सम्राट तन्दुरी तथा विरौटास्थित ड्याडिज किचनबाट पर्यटकलाई सेवा दिइने छ ।

तोकिएका रेष्टुरेन्ट मध्ये ग्रेटवालले चाइनिज खाना, सम्राट तन्दुरीले इण्डियन तथा बाँकी रेष्टुरेण्टमा सबैखाले खानाका परिकार पाइने उहाँले जानकारी दिनुभयो । रेष्टुरेन्टहरुले कोरोना सङ्क्रमणबाट जोगिने गरी मास्क, स्यानिटाइजर तथा अन्य आवश्यक सतर्कता अपनाउँदै ग्राहकलाई सेवा दिने रेवानले जनाएको छ ।