पर्वतमा   विदेशबाट आएका १८२ जनालाई होम क्वारेन्टाइनमा

पर्वतमा   विदेशबाट आएका १८२ जनालाई होम क्वारेन्टाइनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७६

पर्वत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।

जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । उहाँका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् ।

जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा  ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०,  जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् । विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् ।

 उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिनुभयो । विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरुलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।