विदेशबाट आएका नागरिक खोज्दै धरान उपमहानगरपालिका, 64 जना फेला परे

विदेशबाट आएका नागरिक खोज्दै धरान उपमहानगरपालिका, 64 जना फेला परे

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७६

सुनसरी । विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि धरानमा  विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ । 

गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहानगरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गरिरहेको छ । 

हालसम्म  धरानमा ६४ जना विदेशबाट आएको विवरण सङ्कलन भएको उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनुभयो । उनीहरुलाई उपमहानगरपालिकाको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट कतार ट्रान्जिट हुँदै सङ्क्रमित युवती चढेकै हवाइजहाजमा आउनेमा धरानका पनि दुई जना फेला परेका थिए । उनीहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशङ्कर साहका अनुसार प्रतिष्ठानको सम्पर्कमा आएका १० बिमारीमध्ये ६ जनालाई होम क्वारेन्टाइनमा बस्न पठाइएको छ भने ६ जनालाई प्रतिष्ठानको आइसोलेशन वार्डमा राखिएको छ । पाँच जनाको थ्रोट स्वाब लिएर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पठाइएको तर रिपोर्ट आइनपुगेको निर्देशक साहले जानकारी दिनुभयो ।