झुलाघाटमा दुई सय नेपाली अलपत्र,६४ जनाको उद्धार ​​​​​​​

झुलाघाटमा दुई सय नेपाली अलपत्र,६४ जनाको उद्धार ​​​​​​​

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७६

बैतडी । भारतबाट फर्किन लागेका दुई सय जना नेपाली  नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् । 

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताउनुभयो । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिक्कै कुटपिट गर्ने गरेको गुनासो गर्नुभयो । 

सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिनुभयो । अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदीे किनारको जंगलमा लुकेर बसेका छौं', उहाँले भन्नुभयो 'भारतमा लकडाउनका कारण होटलहरू बन्द रहेकोले तीन दिनदेखि भोकभोकै  बाहिरै सुत्ने गरेका छौं ।' उहाँहरू भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन्  बिरामी भइने चिन्ता थपिएको छ । यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पुर्‍याउन केही पहल नगरेको भन्दै उहाँहरूले आक्रोस व्यक्त गर्नुभएको छ । 
   
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताउनुभएको छ ।  दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताउनुभयो ।  
 
जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएकोे जनाएको छ । 

बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ् ।  

६४ जनाको उद्धार 

‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो । 

खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिनुभएको छ ।  महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

‘लक डाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको छ । दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी दिनुभयो ।  स्थानीय प्रशासनले ‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ ।