सांसद मोहन आचार्यद्वारा घर नै क्वारेन्टाइन लागि प्रदान

सांसद मोहन आचार्यद्वारा घर नै क्वारेन्टाइन लागि प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७६

 रसुवा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि  क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गर्नुभएको छ ।  

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व  गर्ने  सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित  आफू बसोबास  गर्ने  धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर  प्रदान गर्नुभएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

सांसद आचार्यले २१ शय्यायुक्त क्वारेन्टाइनका लागि  आफ्नो घर निःशुल्क प्रदान गर्नुभएको हो । सो घरमा  खाट र शय्यासमेत उपलब्ध छ ।

जनताको मतको सम्मान गर्दै विपद् व्यवस्थापनअन्तर्गत जनसेवाका लागि आफूले बसोबास गर्दैआएको घर स्वतस्फूर्त क्वारेन्टाइनका लागि प्रदान गरिएको सांसद आचार्यले बताउनुभयो ।

जिल्लाका अन्य नेताले पनि यस्तै सहयोग गर्ने विश्वास स्थानीय वरिष्ठ समाजसेवी चन्द्रशेखर लम्सालले व्यक्त गर्नुभएकाे छ ।