महोत्तरी, धनुषा र सिन्धुली जङ्गली हात्तीको आतंक, सर्वसाधरण रातैभरि जागै

महोत्तरी, धनुषा र सिन्धुली जङ्गली हात्तीको आतंक, सर्वसाधरण रातैभरि जागै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १४, २०७६

महोत्तरी । जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न थालेका छन् । महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्र चुरे काछका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो ।

'रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन', चुरेको काखकै महोत्तरीको बर्दिवास नगरपालिका–३ पर्साहीधापकी गृहिणी मनमाया पुलामीले भन्नुभयो, 'हात्तीले आफ्नो बस्तीमा पोहोरपरार मच्चाएको उधुम सम्झायो कि निद्रा लाग्दैन ।' गत वर्ष हिउँदमा पर्साहीधापका मात्र चार घर हात्तीले भत्काएको पुलामीले सम्झनुभयो ।
 
अहिले पछिल्ला तीन दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो । बिहीबार बिहानमात्र चुरे काखको सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको आक्रमणले दुई घाइते भएपछि तीनै (महोत्तरी, धनुषा र सिन्धुली) जिल्लाका जोडिएका बस्तीमा त्रास बढेको बर्दिवास–३ कै रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउनुहुन्छ ।

'हेर्नुहोस् न तीनै जिल्लाका बस्ती जोडिएका छन्, एक ठाउँमा हात्तीको उत्पात मच्चिनासाथ वरपरका कुनै बस्तीका मान्छे सञ्चसँग सुत्न सक्दैनन्', थापाले भन्नुभयो, 'वर्षेनी जङ्गली हात्तीको उत्पात ती जिल्ला जोडिएका बस्तीमा हुँदै आएको छ ।'
 
महोत्तरीको बर्दिवास नगरपालिका, धनुषाको मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका बस्ती चुरेसँगै जोडिएर वारिपारि छन् । यी क्षेत्रका बस्तीमा वर्षेनी जङ्गली हात्तीले घर भत्काउने, बालीनाली सखाप पार्ने र कतिपय बेला मान्छेलाई लडाउने गरेको दुःख आपूmहरुको नियति नै बनिसकेको छिमेककै धनुषाको मिथिला–१० तुलसी बस्तीका ७२ वर्षीय टीकाप्रसाद बराल बताउनुहुन्छ । 

वर्षेनी प्रायःजसो हिउँदतिर तीन–चारको सङ्ख्यामा चुरे काछका बस्तीमा पस्ने हात्तीले पालैपालो एकअर्को जिल्लाका बस्तीमा पसेर नोक्सान पुर्‍याउने गरेका छन् । गत वर्ष हिउँदमा बर्दिवास नगरपालिका–३, ४ र ५ का करिब एक दर्जन बस्तीमा पसेका जङ्गली हात्तीको समूहले ११ घरमा क्षति पुर्‍याउनसँगै बालीनाली नोक्सान गरेको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले सम्झनुभयो ।

दिनभरि घना जङ्गलमा सुत्ने हात्तीले प्रायःजसो मध्यरातपछिको समयमा बस्ती पसेर उधुम मच्चाउने गरेको छ । 'भर्खर चुरेपारिको गिजियानीमा दुई जनालाई लडाएर घाइते बनायो', बर्दिवास–३ पाटुका सुदर्शन घिमिरेले भन्नुभयो, 'कुन दिन कुन बस्तीमा पस्छ, भन्नै सकिँदैन, अनि निदाउने त कुरै आउँदैन ।'अहिले कोरोना त्रासले मुलुकमा ‘लकडाउन’ जारी गरिएका बेला जङ्गली हात्ती बस्ती पसेपछि सर्वसाधारणको हैरानी बढेको हो । यस भेगका सर्वसाधारणले हात्ती धपाउन सुरक्षा निकायले पहलकदमी लिएर आफूहरुलाई सुरक्षित बनाइदिन हारगुहार गरेका छन् ।

गोपालप्रसाद बराल/ रासस