निर्जला कक्षपति | दृष्टिकोण | चैत्र १४, २०७६
विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकारले मुलुकमा लकडाउन गरेको छ । यो समयमा कतिपय मानिसहरूले घरमा बस्न आफूहरूलाई सकस भएको भन्दै साँझ ५ बजे पछि अन्य समयमा राज्यले कर्फ्यु बेला झैँ घर बाहिर हुरुरु निस्कने गरेको देखिन्छ ।
सरकारले अकस्मात् मुलुकमा लक डाउन गरेपछि कति त यो के हो ? भन्ने समेत थाहा पाएका थिएनन् । कतिले यसलाई कर्फ्युका रूपमा बुझे भने कतिले ५ बजे पछि त पसलहरू खुली हाल्छ नि भन्दै हिँडेको पाइन्छ । यसो भन्दै मानिसहरू किनमेलको लागि बाहिर निस्करहेका छन् ।
किनमेलको लागि निस्कनुसम्मलाई स्वाभाविकै मान्न सकिन्छ । तर ५ बजे पछि करोनाको भाइरस सक्रिय नहुने गरी परिवारका सबै सदस्यहरू ताँत लागेर बाहिर निस्कनुचाहिँ अनौठो दृश्य देखिने गरेकाे छ । न त मास्कको प्रयोग, न त भिडभाडमा जानु हुँदैन भन्ने कुरालाई ख्याल गरिएको पाइन्छ ।
मानिसहरु मलाई त कोरोनाले केही गर्दैन भने जस्तो गरी मानिसहरू तरकारी र दैनिक उपभोग्य समान किन्न तछाँडमछाँड गरेको पाइन्छ । कोरोनाको महामारीसँग केही व्यक्तिहरू डर मानेर सजगता र सावधानी अपनाएको पाइन्छ । तर अधिकांश मानिसहरू भने रत्तीभर यो महामारीसँग सजगता अपनाएको पाइँदैन । मानौँ उसले असावधानी गर्दा परिवार, समुदाय र सिगो समुदाय प्रभावित हुन्छ भनने कुरालाई ख्याल गरिराखेको हुँदैन ।
विशेष गरी मध्यम र निम्न वर्गीय परिवारका व्यक्तिहरू साँझ बिहान श्रम गरेरै बाँच्ने हो । यसमा कुनै शङ्का छैन । यो वर्गका मानिससँग प्रशस्त मात्रामा रुपैंया पनि जम्मा गरिरहेका हुँदैनन् । जसले गर्दा यस्ता सङ्कटका बेलामा धेरै खाद्यान्न एकैचोटी किनेर ‘स्टक’मा राख्न सकिरहेका हुँदैन । लामो समयसम्म हुने लक डाउनले मध्यम र निम्न वर्गीय परिवारलाई नै धेरै प्रभाव पार्ने निश्चित छ । प्रभावको कुरा त छँदैछ तर यस्तो विपत्तिका बेला आफ्नो ज्यान जोगाउनु झनै ठुलो कुरा हो भन्ने कुरालाई ख्याल गरी रहेका हुँदैनौ । मानिस एक छाक खाएर बाँच्न सक्छ तर कोरोनाको भाइरस सल्कियो भने हाम्रो दिन बिताउन उकुसमुकुस र छटपटाहट भएको भन्दा ज्यानै नरहन सक्छ ।
अति आवश्यक र बिरामी भएको अवस्थामा मात्र हस्पिटल जानलाई निस्कनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । हैन भने घर बाट बाहिर ननिस्कनु नै बुद्धिमानी हुन जान्छ । विश्वलाई नै त्रसित बनाइरहेका बेला घरको लक्ष्मण रेखा नै किन तोड्नु पर्यो र ?
सरकारले अहिले सबै नेपालीलाई घरमै बस्न निर्देशन दिइसकेको अवस्था छ । सर्वप्रथम यो निर्देशन कसको लागि भनेर ख्याल गर्न जरुरी छ । बाहिर निस्केर त्रास मान्नु भन्दा घरमा नै बस्नु बुद्धिमानी हो । अति आवश्यक र बिरामी भएको अवस्थामा मात्र हस्पिटल जानलाई निस्कनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । हैन भने घर बाट बाहिर ननिस्कनु नै बुद्धिमानी हुन जान्छ । विश्वलाई नै त्रसित बनाइरहेका बेला घरको लक्ष्मण रेखा नै किन तोड्नु पर्यो र ?
यो विपद्का समयमा केही मानिसहरूले बहादुरी देखाउन खोजेको आभास पनि मिलिरहेको छ कतिपय सन्दर्भमा । हामी नेपालीलाई केही हुँदैन भनेर भिडभाडमा जाने गर्ने र १०-१२ जना भेला भएर टोलटोलमा बस्ने गरेको पनि देखिएको छ । कोरोना कराउँदै आउँदैन शङ्ख र घण्टी बजाउँदै पनि यसले । सङ्क्रमित व्यक्तिको परीक्षण पछि मात्र थाहा हुने भएकाले यसलाई हेलचेक्रयाईँ भने पटक्कै गर्नु उपयुक्त हुँदैन । कोरोनाबाट बच्ने उपाय भनेकै घरमै बस्नु हो भनेपछि यति सानो कुरा पालना गर्न किन गाह्रो मान्ने ?
विशेषगरि पुरुषहरूबाट घर बस्न निकै कठिन हुने गरेको कुराहरू सुन्नमा आउँने गरेको छ । केही काम नगरी बस्यो भने घर होस् वा अफिस जो सुकैलाई निकै झ्याउ लाग्ने गर्छ र समय बिताउन निकै गाह्रो पर्दछ ।
घरमा बस्ने भनेको ढुमढुम्ती बस्ने होइन । घरमा बस्दा धेरै सृजनशील काम गर्न सकिन्छ । ((आइसोलेसन) एकान्तबास बस्दा झनै हामी सृजनशील काम गर्न सक्छौँ । राम्रा कुराहरू सोच्न सक्छौँ । लेख्न,पढ्न सक्छौँ । लेख्न पढ्न मन नलाग्नेले सिनेमा हेर्न सक्छौँ । आफ्ना केटाकेटीसँग खेल्न सक्छौ । आफ्ना बच्चा बच्ची र परिवारसँग सामिप्यता बढाउन सक्छौँ ।
बच्चाहरू पनि आफ्ना बाबुसँग खेल्न पाउँदा, सँगै रहन पाउँदा निकै खुसी दङ्ग हुने गर्छन् । खानामा चाख हुनेले विभिन्न खालका परिकारहरू पकाएर खान सक्छन् । घर सफा राख्ने, फूलबारीमा गोडमेल गर्ने, नयाँ बिरुवा लगाउने, बारीमा खन जोत गर्ने तरकारी लगाउने यस्ता थुप्रै कामहरू गर्न सकिन्छ ।
यस्ता काम गर्यो भने दिन कटेको पत्तो नै हुँदैन । एक हिसाबले हेर्ने हो भने त महिलाहरू वर्षो देखि लक डाउनमा बसेकै हुन् । अझ पनि घरको कामले गर्दा महिलाहरू घरबाट महिलाहरू निस्कन मुस्किल पर्छ । यो लक डाउनको समयमा पुरुषले पनि घरको काम यदि गरे भने महिलाहरू कत्ति काम गर्दा रहेछन् भन्ने कुराको अनुभूति गर्ने समय पनि हो ।
अनि घरको काम भन्ने बित्तिकै जति सजिलो तरिकाले र कम महत्त्व दिएर हेर्ने गरिन्छ पुरुष स्वयंले घरको काम गरेपछि थाहा पाउनेछन् यो कति जटिल र कहिल्यै नसकिने काम हो भनेर पनि बुझ्नेछन् ।
त्यसैले लकडाउनका बेला घर बाहिर निस्कन पाइएन भनेर छटपटाउनु जरुरत छैन र बाहिर अवस्था के कस्तो छ भन्दै बुझ्नका लागि बाहिर निस्कन पनि जरुरत छैन । लक डाउनका बेला आनन्दले घरमा बसौँ । गर्न मन लागेका कुराहरू गरौँ । नाचौँ, खेलौँ, गाऔँ, सिनेमा हेरौँ, छोराछोरीसँग रमाऔँ, टेलिभिजन हेरौँ, सिनेमा हेरौँ दिन बिताऔँ ।
केही सिप नलागे सुतौँ सधैँ भरि दौडधुपको जिन्दगीले आराम त पाउँछ । यसै गरी कोरोना लाई भगाऔँ । म नरहे संसार चल्दैन भन्ने भ्रमबाट मुक्त होऔँ ।