मेरो चित्त

मेरो चित्त

राजु खप्तडी बस्नेत  |  साहित्य  |  चैत्र १५, २०७६

तिम्रो खोजको ब्रह्मयात्रामा 
कतै म अल्मलिएँ भने
तिम्रै अर्को आयामसँग
मेरो चित्त हराएको हुन्छ ।

यो शून्य खगोलभित्र 
कतै म अलग्गिएँ भने 
तिम्रै अर्को  परिधिसँग
मेरो सम्बन्ध गाँसिएको हुन्छ ।

मन भयो बिरानो, आकाशमा झार उम्रियो
हिँड्नै छाडे जूनतारा, वर्षौं पार गुज्रियो
तिम्रो यादको सुगन्धमा 
कतै म बर्सिएँ भने
तिम्रै अर्को धरासँग 
मेरो प्राण बिउँझिएको हुन्छ ।

तिम्रो खोजको ब्रह्मयात्रामा 
कतै म अल्मलिएँ भने
तिम्रै अर्को आयामसँग
मेरो चित्त हराएको हुन्छ ।

केही सफर अधुरिए, केही नयाँ जोडिए
यो जिन्दगी किताब हो, लेख्दै दिनरात सकिए
तिम्रो दूर निहारिकामा
कतै आउँदै सकिएँ भने
तिम्रै अर्को मन्दाकिनीमा
मेरो रङ मिसिएको हुन्छ ।

तिम्रो खोजको ब्रह्मयात्रामा 
कतै म अल्मलिएँ भने
तिम्रै अर्को आयामसँग
मेरो चित्त हराएको हुन्छ ।