मेडिकल सामग्री लिन वाइडबडी चीनको ग्वाङ्जाओ उड्दै

मेडिकल सामग्री लिन वाइडबडी  चीनको ग्वाङ्जाओ उड्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १५, २०७६

काठमाडाैँ । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ ।

वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

 प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाइडबडी जहजा काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ ।

निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिनुभयो । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उहाँले बताउनुभयो ।    ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गर्नुभयो ।

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ ।    चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो । सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।¬

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ ।