सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ

सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र १५, २०७६

    त्रिभि गुणमयै र्भावैरेभिः सर्वमिदं जगत् ।
    मोहितं नाभिजानाति मामेभ्यः परमव्यम् ।। १३ ।।

अन्वय र अर्थ – इदं = यो, सर्व = समस्त, जगत् = जगत् (प्राणी समूह) एभिः = यी, त्रिभिः गुणमयैः = गुणमा विकाररूप सात्विक, राजसिक र तामसिक तीन भागहरूले, मोहितं = विवकेशून्य भएको छ, एभ्यः = यी सबैभन्दा, परं = अतीत (श्रेष्ठ), अव्ययं = अविनाशी, मां = म परमेश्वरलाई, न अभिजानाति = जान्न सकदैन ।

भावार्थ – यो समस्त जगत् यस त्रिगुणमय भावले मोहित भएर यी सबै भन्दा श्रेष्ठ जो म अव्यय हुँ मलाई जान्न सकेन ।

विशिष्टार्थ – जगतका समस्त जीवहरू नै सात्विक, राजसिक र तामसिक यस त्रिगुणमय भावले मोहित छन् अर्थात् तीनै गुणहरूको मोहिनी शक्तिले आकृष्ट भएर, गुणको क्रिया नै नित्य पवित्र र उत्तम हो भन्ने ज्ञानले अविवेकी बनेर त्यसैमा मोहित हुन्छन् । अतएव ती सबैका अतीन्द्रिय गुणहरूको आवरणमा आवृत्त हुनाले तिनीहरूको सर्वदर्शी हुन सक्दैनन् । अतः जुन वस्तु परापर र अव्यय तथा यस त्रिगुणमय जगत्को आश्रय हो, त्यस गुणातीत वस्तुलाई अर्थात् म परमेश्वरलाई जान्न सक्दैनन् ।

    दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
    मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।। १४ ।।

अन्वय र अर्थ – मम = मेरो, एषा = त्यो उपर्युक्त, गुणमयी = त्रिगुणले युक्त, दैवी = मेरो स्वभाव भएको, माया = माया, दुरत्यया = दुस्तर अर्थात् पार गर्न कठिन छ, हि = यो निश्चय हो, (तथापि), ये = जुन भक्तहरू, मां एव = मलाई मात्र, प्रपद्यन्ते = भज्दछन्, ते = तिनीहरू, एतां = सम्पूर्ण प्राणीहरूको चित्तलाई मोहित गर्ने, मायां = मायालाई, तरन्ति = पार गर्दछन् ।

तिनीहरू शास्त्रहरूले बताएको ज्ञान, गुरूहरूको उपदेशको ज्ञान धारणामा राख्न सक्दैनन्, अतएव तिनीहरू दम्भ, दर्प अभिमान, क्रोध आदि आसुरी भाव लिएर सदाकाल प्राकृतिकतत्वमा मोहित भइरहन्छन्, आत्म तत्वलाई ग्रहण गर्न सक्दैनन् । सुकृतगण नै 'मामेव'भजन गरेर मायाबाट पार पाउन सक्छन्, दुष्कृतगणले पार पाउन सक्दैनन् ।

भावार्थ – मेरो यो गुणमयी दैवी माया दुस्तर छ, परन्तु जसले एक मात्र मलाई भजन गर्दछन् तिनीहरू यस मायाबाट पार पाउन सक्दछन् ।

विशिष्टार्थ – माया सत्व, रज, तम यी तीन गुणहरूको समष्टि गुणमयी छ, र ईश्वरको स्वभावभूत दैवी शक्ति हो । यस मायालाई अतिक्रम गर्नु अत्यन्त कठिन छ अर्थात् अतिक्रम गर्ने चेष्टा गरेर यसलाई अतिक्रम गर्न सकिदैन, अतः यो दुस्तरा छ, किन कि मायाको बन्धनबाट मुक्त हुने जति चेष्टा गर्‍यो त्यति नै अल्झिने हुन्छ, यसबाट छुट्कारा पाउनै सकिदैन । यो प्रसिद्ध छ–चण्डी आदि शक्ति ग्रन्थहरूको उपदेश पनि यही हो । किन्तु सम्पूर्ण चेष्टाहरूलाई परित्याग गरेर, मायाको आक्रमणलाई दमन गर्छु भन्ने चेष्टा नै नगरिकन, मायाले जे गर्छ गर्न दिनु पर्छ, त्यस विषयमा मोहित हुन त परै रहोस् त्यतातिर भू्रक्षेप पनि नगरेर सर्वान्तः करणले आत्म सेवामा रत हुनु पर्दछ अर्थात् आत्ममन्त्रलाई अवलम्बन गरेर एक मात्र उसको अनुसरण गर्नु पर्दछ, प्रकृति (माया) दमनको चेष्टा गर्नु नै हुँदैन । यस्तो भएपछि माया स्वतः निस्तेज हुनाले अज्ञातभावमा मायाको पनि अतिक्रम हुन्छ, गुणातीत अव्यय आत्मालाई पनि जानिन्छ र फेरि मायाको बन्धनमा पर्नु पर्दैन, अर्थात् संसार बन्धनबाट मुक्त भइन्छ ।

    न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
    माययापहृतज्ञाना आसुरं भावमाश्रिताः ।। १५ ।।

अन्वय र अर्थ – दुष्कृतिनः = दुष्कर्म गर्ने, मूढाः = विवकशून्य, नराधमाः = मनुष्यहरूमा अधम, मायया = मायाद्वारा, अपहृतज्ञानाः = शास्त्र तथा आचार्यहरूको उपदेशजनित ज्ञानबाट रहित, आसुरंभावं = दम्भ, दर्प, अभिमान, क्रोध, हिंसा जस्ता भावमा, आश्रिताः = प्राप्त भएका छँदा, मां = म परमेश्वरलाई, न प्रपद्यन्ते = भज्दैनन् ।

भावार्थ – दुष्कर्म गर्ने, विवेकहीन, नराधम मानिहरू मायाद्वारा ज्ञान नष्ट भएर आसुरी भावले ग्रस्त भएका छँदा मलाई भज्दैनन् ।

विशिष्टार्थ – जुन मनुष्यहरू दुष्कर्म गर्दछन् अर्थात् आत्म कर्मलाई त्यागेर शास्त्र निषिद्ध खराब काम गर्दछन् तिनीहरू दुष्कृत् हुन् । त्यस्ता दुष्कर्मीहरूले सत् असत्को विचार गर्न सक्दैनन्, तिनीहरू मूढ अर्थात् विवेक ज्ञान विहीन हुन् । अतः तिनीहरू निकृष्ट नर हुन् । मायाको फन्दामा परेर उनीहरूको शास्त्राचार्योपदेशजनित ज्ञान पनि लोप हुन्छ अर्थात् तिनीहरू शास्त्रहरूले बताएको ज्ञान, गुरूहरूको उपदेशको ज्ञान धारणामा राख्न सक्दैनन्, अतएव तिनीहरू दम्भ, दर्प अभिमान, क्रोध आदि आसुरी भाव लिएर सदाकाल प्राकृतिकतत्वमा मोहित भइरहन्छन्, आत्म तत्वलाई ग्रहण गर्न सक्दैनन् । सुकृतगण नै 'मामेव'भजन गरेर मायाबाट पार पाउन सक्छन्, दुष्कृतगणले पार पाउन सक्दैनन् ।

    चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
    आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ ।। १६ ।।

अन्वय र अर्थ – भरतर्षभ = भारत वंशमा उत्तम, हे अर्जुन १ अर्तः = रोगादिले सताइएको, जिज्ञासुः = भगवत्तत्वजान्न चाहने, अर्थार्थी = धनको कामना गर्ने, ज्ञानी = ईश्वर तत्वलाई जान्ने, च = पनि, चतुर्विधाः = चार प्रकारका, सुकृतिनः = पुण्य कर्मकारी, जनाः = पुरुषहरू, मां = मलाई, भजन्ते = भज्दछन् ।

भावार्थ – हे भरतर्षभ ? हे अर्जुन ? आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी चार प्रकारका पुण्य कर्मकारी मनुष्यहरू मेरो भजन गर्दछन् ।

विशिष्टार्थ – सुकृतिशाली मनुष्यहरू नै  परमात्माको सेवा गर्दछन् । फेरि यी सबै पनि सुकृतिको तारतम्य अनुसार चार प्रकारका छन् – (१)  'आर्त' जो रोग, शोक भय अथवा जन्म मरण रूप संसार बन्धनदेखि डराउंछन् तिनैहरू नै आर्त हुन् । यस्ता पुरुषहरू केवल यी सबै सांसारिक ज्वाला यन्त्रणाबाट निष्कृति पाउनका लागि नै भगवत् सेवामा प्रवृत हुन्छन् । (२) 'जिज्ञासु' – जो तत्वबोध लाभको इच्छा गर्दछन् अर्थात् जड के हो ? चैतन्य के हो ? सृष्टिको कारण के हो ? सृष्टि कसरी हुन्छ ? ज्ञान के हो ? विज्ञान के हो ? म को हुँ ? मेरो कल्याण के हो ? चरम गति के हो ? इत्यादि तर्क (भेदाभेद) जान्नका लागि भगवत् सेवामा प्रवृत्त हुन्छन् ती पुरुषहरू जिज्ञासु हुन् । यिनीहरू आर्त भन्दा श्रेष्ठ मानिन्छन् किन कि यिनीहरू कातर होइनन् । (३) 'अर्थार्थी' जसद्वारा  इच्छाको साधना गरिन्छ त्यही अर्थ हो, अतः 'अर्थ' अर्थमा शक्ति या विभूति हो, विभूति भगवत्सत्वा हो । यो विभूति प्राप्त गर्नका लागि जुन साधक भगवत्सेवामा प्रवृत्त हुन्छन् तिनै अर्थार्थी हुन् । अर्थार्थी जिज्ञासु भन्दा पनि श्रेष्ठ छन् । किन कि अर्थ वा विभूतिलाई भगवत्सत्वा जानेर उसलाई आफ्नो  आयत्त (अधीन)मा राख्न चाहान्छन् । (४) 'ज्ञानी' जसले आत्मा के हो ? भन्ने कुरा जानिसकेका छन्, अरू विशेष जान्नका लागि उनका लागि अरू केही बांकी छैन, जो आत्मानन्दमा परितृप्त भएका छन्, केवल आफू आफैमा रहन्छन्, तिनीहरू ज्ञानी हुन् । ज्ञानी यी सवै भन्दा श्रेष्ठ हुन् किन कि ज्ञानीमा आकांक्षा केही पनि रहदैन ।

    तेषां ज्ञानी नित्ययुक्त एकभक्ति र्विशिष्यते ।
    प्रियो हि ज्ञानिनोऽत्यर्थमहं स च मम प्रियः ।। १७ ।।

क्रमशः

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव

मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति