विश्व महामारीकाे इतिहास र  नेपाली समाजले प्रभावबाट बच्न अपनाएका सावधानीहरू

विश्व महामारीकाे इतिहास र  नेपाली समाजले प्रभावबाट बच्न अपनाएका सावधानीहरू

अंशु भूसाल  |  दृष्टिकोण  |  चैत्र १६, २०७६

जनस्वास्थ्यको मूल उद्देश्य भनेको रोग लोगर उपचार गर्नुभन्दा लाग्न नदिनु हो ।  अहिले विश्वभरि महामारीको रूपमा रहेको नोबेल कोरोना भाइरस ‘कोभिड १९’ले  मानव सभ्यतालाई नै चुनौती दिइरहेको छ । कोरोनाले अत्यन्तै संक्रामक रूप लिँदै गइरहेको छ ।

पहिलो पटक २०१९ को डिसेम्बर महिनाको अन्तिम दिनमा चीनमा देखिएको ‘कोभिड १९’ का बिरामीहरू अलि ढिलै भए पनि नेपालमा पनि देखि परिसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले यसको रोकथामको लागि आम मानिसलाई आफ्नो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।  यो भाइरस नयाँ भएकोले यसको उपचार गर्न वा रोकथाम गर्नको लागि कुनै पनि दबाई वा खोप हालसम्म तयारी अवस्थामा छैन । 

जनस्वास्थ्यको पद्धति अर्थात् ‘नन मेडिकल’ विधिले कैयौँ महामारी निर्मूल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । ‘कोभिड १९’को रोकथामको लागि विश्व स्वास्थ्य सङ्गठनले खोक्दा वा ह्याछ्यु गर्दा आफ्नो कुइना तिर फर्केर गर्ने, त्यस बेला प्रयोग गरिएको टिस्युलाई सही तरिकाले व्यवस्थापन गर्ने, साबुन पानी वा  स्यानिटाइजरले हात सफा गर्ने, जो कोहीसँग कम्तीमा १ मिटर (३ फिट)को दुरीमा बस्ने, आँखा, नाक र मुख नछुने तर यदि छोई हालियो भने साबुन पानीले हात सफा गर्ने, भिडभाडमा नजान सुझाव दिएको छ ।  तर ज्वरो, सुख्खा खोकी वा सास फेर्न गाह्रो भयो भने स्वास्थ्य संस्थामा तत्काल जान भनेको छ ।  हेर्दा सजिलै र सामान्य भए पनि यी उपायहरूको सही प्रयोगको अभावले गर्दा यो लेख तयार गर्दासम्म विश्वभरि करिब ३० हजार भन्दा बढीको मृत्यु भइसेको छ भने नेपालमा पनि ५ जनामा कोरोना भाइरस पोजेटिभ भएको आँकडा सार्वजनिक भएको छ । 

यस विश्वव्यापी महामारीले जनस्वास्थ्यको महत्त्व पक्कै बढाएको हुनुपर्छ  । तर यो यस्तो पहिलो महामारी पहिलो हो त ? पक्कै पनि होइन  । विगतमा भएका यस्ता महामारी र  रोकथामको उपाय कालागि मानव जगतले सङ्घर्ष गर्दै आएको इतिहास छ । यस्तो महामारीको नाम हो ‘प्लेग’ ।  मानव सभ्यताको पहिलो ‘बुबोनि प्लेग’लाई विश्वव्यापी महामारीको रूपमा लिइन्छ ।  महामारीको इतिहासमा तीनवटा ठुला ‘प्लेग’को विश्वव्यापी महामारीको रूपमा आएको  देखिन्छ । 

छैटौँ, चौधौँ र उन्नाइसौँ शताब्दीमा देखिएको ‘प्लेग’ले युरोपको करिब आधा जनसङ्ख्यालाई सखाप पारेको थियो । चौधौँ शताब्दीको ‘प्लेग’को महामारीलाई ‘ब्लायक डेट’का रूपमा नामकरण नै गरिएको छ ।  एसियाबाट सुरु भएको यस महामारीले लाखौँ मानिसको ज्यान लिएको थियो । सोही रूपमा फोहोर व्यवस्थापनको कमिले सहरहरू यस महामारीको चपेटामा परेका थिए । हाल ‘प्लेग’ रोगलाई सामान्य रोगका रूपमा लिइन्छ । यसको खोप र यान्टिबायोटिक विकास गरिएको छ । तर त्यस बेला सरसफाइ, व्यवस्थित सहरी योजना र औषधिलाई प्राथमिकता दिने प्रेरणा दिएको थियो । 

महामारीको इतिहास पल्टाउने हो भने हामीले मुख्य कुरा देख्न सक्दछौँ, पहिलो देवीदेवतालाई प्रसन्न गराउने र दोस्रो सतर्कतापूर्वक सुरक्षित रहने उपाय । महामारीबाट सुरक्षित रहन सङ्क्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिनुका साथै बाहिरका मानिसलाई गाऊँ वा सहर पस्न दिइन्नथ्यो जुन अहिले हामीले सुन्ने गरेको ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’कै प्रतिरूप थिए ।  

बिफर (गोटी) विभिन्न शताब्दीमा विभिन्न मुलुकहरूमा देखा परेको समस्या हो ।  ‘हैजाको हस्को, गोटीको झस्को’ भन्ने नेपाली भनाइ नै पर्याप्त छ ।  अर्थात् हैजा सर्न गन्ध भए हुन्छ भने बिफर सर्न मन झस्के, डराए हुन्छ भन्ने भावार्थले बिफरको महामारीको सहज अनुमान गर्न सकिन्छ । हावाबाट सर्ने संक्रामकरोग बिफरको मृत्यु दर औसतमा ३० प्रतिशतको हाराहारीमा रहेको थियो । सीडिसीको अनुसार, हरेक १० बिरामीमा औसत ३ जनाको मृत्यु हुने गर्दथ्यो । बिफरलाई निको पार्ने औषधि त छैन तर खोपको माध्यमबाट बच्न सकिने विकल्प प्रभावकारी भएको थियो  । खोपको प्रयोगले गम्भीर असर देखिन सक्नेका साथै मृत्यु पनि हुने भएकाले न त कुनै पनि स्वास्थ्य संस्था न त सरकारले प्रोत्साहन गरेको छ । काठमाडौँका मानिसले बिफर निको पार्ने देवी शीलतादेवीको र अन्यत्र माईको पूजा अर्चना गर्नुले मानिसको डरलाई प्रस्ट पार्दछ । बिफर उन्मुलन कार्यक्रम सञ्चालन गरेको नेपाललाई बिफर उन्मुलन भएको देश भनेर सन् १९७७ मा घोषणा गरिएको थियो भने सन् १९८० मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी रूपमा उन्मुलन भएको घोषणा गरेको थियो । 

सन् १९१८ को इन्फ्लुएन्जा स्पेनिस फ्लुलाई सीडिसी (Centers for Disease Control and Prevention)ले मानव सभ्यताकै खतरनाक फ्लु भाइरसको महामारीको उपनाम दिएको छ । यस रोगले विश्वको कुल जनसङ्ख्याको एक तिहाइलाई असर गरेको थियो । विश्वयुद्धको समयमा लागेको रोगले महामारीको रूप नै लिएको थियो । यो रोगको रोकथामको लागि ‘आइसोलेसन’, ‘क्वारेन्टाइन’मा बस्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र  सामाजिक भेलाहरू नहुन कडाइ  समेत गरिएको थियो । 

एचआइभी एड्सको पहिलो बिरामी सन् १९७६ मा भेटिएको थिए । करिब ४४ वर्ष भएता पनि एड्सलाई शून्यमा झार्न अथवा उन्मुलन गर्न नसकिएको अवस्था छ । पहिला जस्तो मान्छे मरी हाल्दैनन् । बिरामीको रोगसँग लड्ने क्षमता बढाउने औषधि दिनुका साथै एड्सको बारेमा र स्वस्थ जीवन व्यतीत गर्न परामर्श दिने गरिन्छ । डिसेम्बर १ मा अन्तर्राष्ट्रिय रूपमा एड्स दिवस मनाउँदा आम मानिसमा जनचेतना जगाउने कार्यले गर्दा एड्सबाट मृत्यु हुने सङ्ख्यामा केही हदसम्म कमी भने आएको छ । 

विश्व स्वास्थ्य सङ्गठनको एमएसडी मेन्यूवलमा असङ्ख्य कोरोना भाइरसहरू मध्ये जम्मा सात वटा कोरोना भाइरसले मानिसमा रोग लगाउने कुरा उल्लेख गरेको छ । जसमध्ये तीन प्रकारका कोरोना भाइरसले गम्भीर र घातक श्वासप्रश्वास सम्बन्धी सङ्क्रमण गराउँछ । कोरोना भाइरसले लागेको ‘कोभिड १९’ पहिलो होइन । सन् २००३ र २०१२ मा सार्स र मर्स भन्ने रोगले पनि केही हदसम्म महामारीको रूप लिएका थिए । तीव्र रूप लिएको सार्सको नयाँ बिरामी सन् २००३ को जुलाई महिनाको अन्तिममा शून्यमा झरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । रोकथामको माध्यमले यसलाई निर्मूल गर्न सम्भव भएको थियो । बिरामीलाई मानव बस्तीबाट केही टाढा ‘आइसोलेसन’, वा ‘क्वारेन्टाइन’मा राख्न आदेश त्यसवेला पनि दिइएको थियो । 

सन् २००९ मा स्वाइन फ्लु इन्फ्लइन्जा अर्को महामारीको रूप लिएको थियो । यो रोगले विश्वको कुल जनसङ्ख्याको करिब ११ देखि २१ प्रतिशतलाई असर गरेको थियो । सार्स र मर्सको भन्दा कम मृत्यु दर भएता पनि यसले धेरै व्यक्तिलाई सङ्क्रमण भएको थियो । 

मध्य र दक्षिण अमेरिकामा सन् २०१५र१६ मा जिका भाइरसको देखा परेको थियो । भाइरसलाई जनमानसमा धेरै फैलिन नदिन सामाजिक दुरी बनाउन आदेश दिइएको थियो । सामाजिक भेलालाई बन्द गराउनुका साथै धार्मिक स्थल, शैक्षिक संस्थाका साथै होटेल र रेस्टुरेन्ट बन्द गरिएको थियो । त्यसका साथै, स्वस्थ्य व्यक्तिलाई बिरामीबाट टाढा रहन, ‘क्वारेन्टाइन’बस्न आदेश दिइएको थियो । यसो हेर्दा हामीले जिका भाइरसकै रोकथामको उपाय दोहोराइ रहेको अनुभूति हुन्छ । यी सबै दृष्टान्तले जनस्वास्थ्यका उपायको महत्त्व दर्साउँछ । 

हैजा अशुद्ध खाना र पानीले सर्ने हैजाले मानिसहरूलाई ठुलै असर गर्दछ । सरसफाइ र शुद्ध पानी नै यसको रोकथामको सर्वोत्तम विधि हो । हैजाको महामारीले मान्छेलाई कति त्रसित बनाएको छ भन्ने समाजमा रहेका कथनबाट पनि पुष्टि हुन्छ । नेपाली समाजमा ‘यस पटकको हैजाले तँलाई लैजा’ भन्ने शब्दले गालीगलौज गर्ने कुराले प्रस्ट पार्दछ । केही वर्ष अगाडि पानीका कारण पश्चिम नेपालमा पनि हैजाको महामारी फैलिएको थियो । 

हैजाको खोप लगाइन्छ, त्यसका साथै रोग लाग्न नदिन व्यक्तिगत तथा शारीरिक सरसफाइमा ध्यान दिन लगाइन्छ । ‘इपिडिमियोलोजी’का पिता जोन स्नोकै अनुसार सफा र शुद्ध पानीको प्रयोग गरियो, त्यसका साथै खोला किनारमा दिसा पिसाब नगर्न आव्हान गरिएको थियो । उन्नाइसौँ शताब्दीमा विश्व महामारीको रूपमा रहेको हैजाबाट विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार वार्षिक २१ हजार देखि  १ लाख ४३ हजार जनाको मृत्यु भएको थियो ।  

महामारीको इतिहास पल्टाउने हो भने हामीले मुख्य कुरा देख्न सक्दछौँ, पहिलो देवीदेवतालाई प्रसन्न गराउने र दोस्रो सतर्कतापूर्वक सुरक्षित रहने उपाय । महामारीबाट सुरक्षित रहन सङ्क्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिनुका साथै बाहिरका मानिसलाई गाऊँ वा सहर पस्न दिइन्नथ्यो जुन अहिले हामीले सुन्ने गरेको ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’कै प्रतिरूप थिए ।  

विगतका महामारीमा नेपाल कम प्रभावित भएको वा भएको चर्चा कम हुन्थ्यो । कतिपय महामारीले नेपालमा प्रवेश नै पाउँदैन थिए । सञ्चारको सुलभ, अहिले विश्वव्यापीकरण र यातायातले संसारको जुन सुकै कुनाको महामारी पनि नेपालमा आउन सहज सम्भव भएकाे हाे  । अहिले भेटिएका पाँच जना सङ्क्रमितहरू जहाज चढेर आएका मानिस हुन । चीनबाट आएका सङ्क्रमित ठिक भएकाले र उनको केश पुरानो पनि भएकाले उत्तरबाट आएको सङ्क्रमण छैन होला सायदै  । तर फ्रान्सबाट र खाडीबाट आएको जहाजले कति सङ्क्रमण ल्यायो परिणाम हुन अझै बाँकी नै छ ।

अहिले नेपाल लकडाउन भएको छ । यस अवस्थामा हामीले गर्नुपर्ने मुख्य दुई कुरा छन् पहिलो घर भित्रै बस्ने र दोस्रो भनेको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने । यसो गरियो भने आफू पनि बचिन्छ र अरूलाई पनि बचाइन्छ । यदि हामी यी दुई कुरालाई खेलाचीं गरेऊ भने हाम्रो अवस्था दैवले नि जान्न सक्दैनन् ।

हामीलाई कसैले बचाउन सक्ने वाला छैन । वर्तमान स्थितिमा नेपालमा ‘कोभिड १९’ को बिरामी एक, एक गरी बढेको थाहा पाइरहेका छौँ, यदि सर्तक रहेनौँ भने एक एक गरी बढेको सङ्ख्या कहिले देखि दुई, चार वा आठ गुणाले नबढ्ला भन्न सकिँदैन । नेपाललाई नेपाल बनाऔँ स्पेन र इटली होइन् ।