लकडाउनलाई दशैँ-तिहारको बिदा सम्झेर देश बर्बाद गर्न उद्यत 'डुलुवा घुमुवा'हरूका नाममा
चैत्र १७, २०७६

जसले यो कुरा नपढी हुन्थेन, उनले सायदै पढ्लान् किनकि उनीहरूलाई लकडाउन कस्तो रहेछ भनी गल्लीगल्ली, चोकचोकमा डुल्दै फुर्सद छैन । हाँसो र गिल्ला गर्दै फुर्सद छैन । धन्यवाद छ तपाईँलाई, जो पूर्ण अनुशासन पालना गरिरहनुभएको छ ।

दुःखको कुरा, तपाईं हामी यति गम्भीर भएका छौँ । घर बस्ने घरभित्रै छौँ, अत्यावश्यक कामले बाहिर जानुपर्दा पनि सुरक्षाका सम्पूर्ण उपाय अपनाइरहेका छौँ । एकथरी डुलुवा घुमुवाहरू, न आफू सुरक्षित छन्, न अरूलाई सुरक्षित हुने मौका दिएका छन् । उनीहरू आफू त सकिने नै होलान् तर तपाईं हाम्रो ज्यान पनि जोखिममा पार्ने भए । त्यसैले यो लेखलाई यति धेरै सेयर गर्नुहोस् कि जताततैबाट ती डुलुवा घुमुवाहरूको आँखामा परोस् । पढ्न अल्छी गर्नेलाई आफैँ पढेर भए पनि सुनाइदिनुहोस् । तपाईँले पढ्नुअघि नै काम लगाएँ, नरिसाउनुहोस् है !

घटनाको बिकासक्रम

१. कुरो २०७६ चैत १० गतेको हो । नेपाल सरकारले सयौँको भीड जम्मा गरेर पत्रकार सम्मेलनमार्फत् नेपालमा कोरोना भाइरसको प्रवेश भएको आधिकारिक घोषणा गर्‍यो । फ्रान्सबाट कतार हुँदै २०५ जना यात्रु लिएर आएको कतार एयरवेज क्यू.आर.६५०को उडानमार्फत् चैत्र ४ गते नेपाल प्रवेश गरेकी १९ वर्षीया नेपाली किशोरीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टिसँगै सिंंगै देशमा एकाएक त्रासको माहोल बन्यो । 

२. गत जनवरीमै चीनको वुहानबाट नेपाल फर्केका ३२ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण देखिएको थियो तर उनको उपचारपछि निको भइसकेकाले त्यो घटनालाई गम्भीर रूपमा लिइएको थिएन । तर, दोस्रो घटना पनि देखिएपछि भने नेपाल सरकारले तुरुन्तै चैत ११ देखि १८ गतेसम्मका लागि देश लकडाउन भएको घोषणा गयो । चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले यसलाई चैत २५ गतेसम्मका लागि थप गरेको छ । 

३. चैत ११ देखि लागू हुने गरी सरकारले नेपालको सीमा जोडिएका दुवै छिमेकी देशहरूसँगको सीमा नाका एक हप्ताका लागि पूर्ण रूपमा बन्द गर्ने घोषणा पनि गर्‍यो । (चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले यसलाई २०७७ वैशाख ३ गतेसम्मका लागि थप गरेको छ ।)  ढिलै भए पनि सरकारको आँखा खुल्यो भन्नुपर्छ । 

४. चैत १२ गते अर्को खबर आयो, चैत ६ गते एयर अरेबियाको विमान चढेर भारतको नयाँ दिल्ली हुँदै खाडी मुलुकबाट नेपाल फर्केका धादिङका ३१ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भयो । उनी काठमाडौंको सामाखुसी अवस्थित एउटा होटेलमा बसेको, त्यहाँ साथीहरू भेला गरेर खानपिन र रमाइलो गरेको । काठमाडौंमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न ट्याक्सी तथा साझा बस चढेको आदि खबर बाहिर आउँदा धेरैलाई त्रसित बनायो र बनाइरहेको छ ।

५. चैत १४ गते धनगढी प्रादेशिक अस्पतालमा भर्ना भएका ३१ वर्षीय युवकलाई पनि यो भाइरसको सङ्क्रमण भएको पुष्टि भयो । नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चौथो नम्बरमा परेका उनी पनि दुबईबाट नेपाल फर्केका रहेछन् । चैत १५ गते अर्को खबर आयो- बेल्जियमबाट कतार हुँदै कतार एयरवेज क्यू.आर.६५० को उडानमार्फत् चैत ४ गते नै नेपाल प्रवेश गरेकी बागलुङकी १९ वर्षीया किशोरीलाई पनि कोरोना सङ्क्रमणको पुष्टि भएको खबरसँगै उनका बारेमा धेरै कुरा बजारमा आएको छ । 

उनी काठमाडौंं अवतरण भएको भोलिपल्टै पोखरासम्म विमान र त्यहाँबाट माइक्राे बस चढेर बाग्लुङ गएकी रहिछिन् । त्यतिबेलै उनलाई हल्का रुघा, खोकीको लक्षण देखापरेको तर उनी न त अस्पताल गइन्, न चिकित्सकलाई नै खबर गरिन् । बरु सरकारले होम क्वारेन्टाइन अनिवार्य गरेको भए तापनि बाग्लुङ बजार, गाउँ डुलिरहेको पाइएको भन्ने समाचार पढियो ।

चैत १० गते कतार एयरवेजको सोही फ्लाइटमा आएकी युवतीलाई कोरोना सङ्क्रमणको पुष्टिसँगै सो विमानमा सवार सबै यात्रुको खोजी गर्ने क्रममा उनको नाम पनि समावेश भएपछि स्थानीय सरकारी अधिकारीहरूले उनलाई सम्पर्क गरेका रहेछन् । उनको थ्रोटको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि नेपालमा कोरोना सङ्क्रमणको सङ्ख्या चैत १६ गते यो लेखुन्जेलसम्म ५ जना पुगेको छ ।

मलाई माफ गर्नुहोला, मलाई तपाईंको स्वतन्त्रताप्रति डाहा लागेको होइन । तपाईं डुली हिँडेको देखेर छट्पटी लागेको पनि होइन । तर, देश संंभावित संंकटविरुद्ध जुध्दै गर्दा त्यसलाई अटेर गर्ने, हाँसोमा उडाउने तपाईं जस्तैले गर्दा देश बर्बाद होला भन्ने चिन्ताले मात्र आज यस्तो भाषा प्रयोग गरेको हुँ । तसर्थ, आफूलाई नपरी नचेत्ने, अरूलाई परेमा ताली पिट्ने बानी अहिल्यै त्यागौँ । एकजुट बनेर देशलाई संंकटमुक्त गरौँ । 

नेपालको अवस्था र क्षमता

नेपाल जस्तो देश, जहाँ झाडापखालाको उपचार नपाएर मानिसको ज्यान जाने गर्छ, यसले कुनै पनि प्रकारको महामारीलाई थेग्न सक्ला भन्ने कुरा सपनामा पनि चिताउन सकिन्न । विश्व स्वास्थ्य संंगठनले नेपाल र नेपालीहरूलाई चुनौती दिइसकेको छ । यदि नेपालले कोरोना सङ्क्रमणलाई पहिलो चरणमै रोक्न सकेन भने यहाँ महामारी फैलिनबाट कसैले रोक्न सक्नेछैन र नेपाल बर्बाद हुनेछ । यस्तो बेला देशलाई बर्बाद हुनबाट जोगाउने कसले ? यसको एउटै मात्र अन्तिम उपाय छ, तपाईँले र मैले । हामी सबैले । उपाय सजिलो छ- घरमै बस्ने । आफू सङ्क्रमित नहुने र अरूलाई सङ्क्रमण हुन नदिने । 

सन् २०१६ सम्मको तथ्यांंकलाई आधार मान्ने हो भने हाम्रो देशमा जम्मा ४५० आई.सी.यूू. र १६१ भेन्टिलेटर सुविधा मात्र छन् । बितेका यी ४ वर्षभित्रमा यी सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्मको बढोत्तरी भएको भए तापनि ५०० को हाराहारीमा आई.सी.यू. र २०० को हाराहारीमा मात्र भेन्टिलेटरको सुविधा छ ।

अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा देशका विभिन्न भागमा कोरोना विशेष अस्पतालको संंचालन तथा चीनको सहयोगले यसको क्षमता अलिक वृद्धि भएको छ ।

एकछिन् सोचौँ त ! चीन, युरोप र अमेरिकामा जस्तो हाम्रो देशमा कोरोना भाइरसका सङ्क्रमित बिरामीहरू देखिए भने हाम्रो हालत के हुन्छ होला ? के हाम्रो देशले यस्तो भयावह स्थितिलाई थेग्न सक्छ ? 

तपाईंलाई थाहै छ, जति बेला चीन कोरोनाको पीडा भोग्दै थियो, त्यति बेला युरोप र अमेरिका ताली पिटिरहेका थिए । चीनपछि दक्षिण कोरिया र जापानलाई यसले आक्रमण गरेकै हो तर ती देशहरूमा सरकारले देखाएको तदारुकता र जनताको अनुशासनले कोरोना जस्तो भयानक भाइरसलाई छिट्टै नियन्त्रण लिन सक्यो । 

त्यही युरोप र अमेरिका, जो चीनलाई गाली गर्दै र हाँसो मजाक गर्दै थाकेका थिएनन्, आज उनीहरूको हालत कहाँ छ ? स्वास्थ्य प्रणालीमा विश्वकै दोस्रो उत्कृष्ट मानिएको देश इटालीले समेत कोरोनाको प्रकोपलाई नियन्त्रणमा लिन सकेन । कोरोनालाई 'चाइनिज भाइरस'को उपनामले गिज्याउने र 'अमेरिका बन्द हुनलाई बनेको देश होइन' भन्दै तथानाम अभिव्यक्ति दिँदै हिँड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मनोदशा अहिले कस्तो होला ? 

किन यस्तो छाडापन ?

मलाई अचम्म लागिरहेको छ, जनताको सुरक्षाका खातिर लकडाउनको घोषणा गरिएको छ तर कतिपयको दैनिकी देख्दा यस्तो लाग्छ, देशमा बेमौसमी पर्व लागेको छ । दशैँ आएको छ । तिहार आएको छ । सरकारको आग्रहलाई सकेसम्म अटेर गरेर छाडा ‘साँढे’झैँ घुमिरहेका देख्न सकिन्छ ।  

अत्यावश्यक कामले बाहिर जानु ठीकै हो तर रमिते बनेर घरि वरको चोकमा घरि परको चोकमा पुगेर गफ हाँक्दै हिँडेको धेरै याद गरियो ।

मेरो बसाइ सडक छेउमै भएकाले सडक र चोकका धेरै गतिविधिहरू देखिन्छ । छेउकै एउटा चिया पसलमा केही मानिसहरू जम्मा भएर गफ गर्दै थिए । 

कोही भन्दै थिए, ‘सरकारले कर्फ्यू लगाए पनि हामीलाई छुँदैन ।’ 

कोही साबुन-पानीले राम्ररी हात धुनुपर्छ भन्ने सल्लाह दिँदै थिए । 

त्यसकै जवाफमा एक जना चिया गफवाला वैज्ञानिक यसो भन्दै थियो, ‘साबुनमा बोसो मिसाइएको हुन्छ, त्यसले हात धुँदा झन् असर गर्न सक्छ । त्यसैले एकै दिनमा धेरै पटक साबुन पानीले हात धुनु पनि हुन्न । भोलि, पर्सि सरकारले साबुन नछुनूू भनेर भन्न बेर लगाउँदैन ।’ 

योभन्दा आश्चर्यको कुरा के हुन सक्ला ? सरकारले जनताको ज्यानको सुरक्षाका लागि लकडाउन गरेर घरमै बस्ने आग्रहसहित सबै क्षेत्रलाई पूर्ण रूपमा बन्द गरेको अवस्थालाई दशैँ बिदा दिएको सम्झेर विना काम, विना उद्देश्य बाटोबाटो, चोकचोकमा हिँड्नेहरू, तिहारको देउसीभैलो सम्झेर ठाउँ कुठाउँमा भट्याउँदै हिँड्नेहरू, विना काम दिनभर जथाभा बाटोबाटोमा चर्दै हिँड्ने ए छाडा ‘साँढे’हरू ! के तपाईँलाई यस्तो लाग्दै छ कि तपाईँ ठूलै पुरुषार्थ गर्दै हुनुहुन्छ ? 

म क्षमा चाहन्छु, मेरा यी कुराहरू अत्यावश्यक कामले अथवा सेवात्मक भावनाले घरभन्दा बाहिर पुग्नुभएका व्यक्तिहरूलाई लक्षित होइन । जसले आफ्नो प्राणको बाजी राखी देश र जनताको सेवा गरिरहनुुभएको छ, उहाँहरूप्रति मेरो प्रणाम छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि र समाजसेवीहरूलाई सलाम गर्न चाहन्छु । अत्यावश्यक कामले बाहिर हिँड्न बाध्य महानुभावहरूलाई पनि अत्यन्त सजग भएर मात्र निक्लन अनुरोध छ ।

खबरदार !  

तपाईँका सन्तानले के सिक्दै छन् ?

अहिले स्कुल बन्द छ । कलेज बन्द छ । त्यसको मतलब तपाईंका छोराछोरीहरू तपाईंसँगै छन् । हिजो पो स्कुल जान्थे । कलेज जान्थे । थोरै समय मात्र तपाईँले हेरे पुग्थ्यो । केटाकेटीहरूले चकचक गरे स्कुललाई गाली गरे पुग्थ्यो । खाना नखाए शिक्षकले सिकाएन भने पुग्थ्यो । मोबाइल धेरै चलाए स्कुलले नियन्त्रण गरेन भने पुग्थ्यो । साथीभाइसँग खेले खराब संंगतमा लागे भन्दा टर्थ्यो । 

आजभोलि तपाईँको घर नै स्कुल हो । तपाईंं नै शिक्षक । तपाईं नै साथी । यदि यी दिनमा तपाईँका छोराछोरीहरूले चकचक गरे कसलाई दोष लगाउनुहुन्छ ? मोबाइलमा धेरै झुन्डिए को दोषी हुन्छ ? तपाईँले जस्तै लकडाउनलाई अटेर गरी बाहिर घुम्न हिँडे कसले नियन्त्रण गरेन भन्नुहुन्छ ? तपाईँका हरेक गतिविधि र गफ सुन्दै गरेका छोराछोरीहरूले तपाईँबाट के सिक्लान् ? तपाईँको बेवास्तापनले गर्दा तपाईँलाई खतरा त छ नै, तर आफ्नो परिवार, बालबच्चाहरू, छरछिमेकीहरू र आफन्तहरूलाई समेत किन खतरातर्फ धकेल्नुहुन्छ ?

सरकारले यो गरेन,  त्यो गरेन भनेर भनेर फेसबुकमा कुर्लने तपाईँलाई आफ्नै ज्यानका खातिर केवल एक हप्ताका लागि आफ्नै घर कुरेर बस्ने आग्रह गर्दा यति बिघ्न गाह्रो पर्‍यो होइन ? के अझै तपाईँसँग दुनियाँको कुरा काट्ने नैतिकता बाँकी छ ?

कोरोनाले धनी र शक्तिशालीलाई पनि छाडेको छैन

सुरक्षा र सम्पन्नताको हिसाबले बेलायती महारानी एलिजावेथ द्वितीय, राजकुमार चार्ल्स र प्रधानमन्त्री बोरिस जोन्सनजतिको यो दुनियाँमा कति जना नै छन् र ? उनीहरूलाई समेत कोरोना भाइरसले आक्रमण गर्‍यो भन्ने समाचार तपाईँले पढिसक्नुभयो होला । कि तपाईं आफूलाई उनीहरूभन्दा बढी सम्पन्न र सुरक्षित ठान्नुहुन्छ ? बेलायतकै स्वास्थ्य सचिव म्याट हाएङ्ककलाई पनि कोरोना संक्रमण भएको छ । रियल म्याड्रिड फुटबल क्लबका पूर्वअध्यक्ष लोरेन्जो सान्सको ज्यान यही पापी भाइरसले लिइसकेको कुरा तपाईँलाई थाहा छ कि छैन ? 

धेरै टाढा नजाऊँ, भारतको लखनऊ निवासी बलिउडकी प्रख्यात गायिका कनिका कपुरलाई कोरोना भाइरसले थला पारेको अवस्था छ । के यीभन्दा बढी उदाहरण चाहियो तपाईँलाई ? नपुगे सुन्नुहोस् ।

न्यूजिल्याण्ड र अस्ट्रेलियाका क्रिकेटर लोकी फर्गुसन तथा केन रिचर्डसनलाई पनि त्यही पापी कोरोना भाइरसले सुताइसकेको छ ।  अब त पुग्यो होला नि उदाहरण सुन्न । किन यति हतारो गर्नुहुन्छ आफ्नो परिवार र देशलाई नै बर्बादीतर्फ धकेल्न ?

धमिलो पानीमा माछा मार्ने दाउ

हरेक आपतको अवस्थालाई आफ्नो निहीत स्वार्थपूर्तिका लागि लिगिपर्नेहरू यति बेला पनि सक्रिय देखिएका छन् । त्यस्ता व्यक्तिहरूबाट होसियार हुन जरुरी छ । २०७२ सालको भूकम्प र सोही सालको भारतीय नाकाबन्दीको जस्तै फाइदा उठाउँदै खुल्लमखुला भ्रष्टाचार नहोस् ।

भर्खरै एउटा समाचार सार्वजनिक भएको छ, जर्मनका हेस्सी प्रान्तका अर्थमन्त्री मेस स्किफरले आत्महत्या गरेका छन् । कोरोना भाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने होला ? भन्ने कुरामा उनी गहिरो चिन्तामा थिए । 

कोरोना भाइरसविरुद्धको लडाइँमा हामी जनता सरकारसँगै हुँदा, सरकारको कुनै पनि निकायले नीतिगत भ्रष्टाचार हुनेछैन भन्ने कुराको विश्वास जनतालाई दिन जरुरी छ । अर्कोतर्फ यही वहानामा विपक्षी दलहरूले सरकारविरुद्ध जनमत सिर्जना गर्न सकिन्छ भन्ने भ्रममा नपरीकन नि:स्वार्थ रूपले जनताको सेवा गर्ने मौकाको रूपमा जनतालाई यो दुःखको घडीमा साथ दिनेछ भन्ने आशा हामी जनताले गरेका छौँ ।

यति हुँदाहुँदै पनि धमिलो पानीमा माछा मार्ने दाउमा ‘क्रिश्चियनलाई कोरोना नलाग्ने र यशुले कोरोनाको बिरामीलाई निको पार्ने’ भन्दै भ्रम फैलाउँदै हिँड्ने पाष्टर केशवराज आचार्यहरूले खुल्लमखुला समाज भाँडिरहेका छन् । हुनत उनलाई बेलैमा प्रहरीले खोरमा पुर्‍याएको छ, त्यो त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता प्रवृत्तिहरू यो समाजमा खुल्लमखुला घुमिरहेका छन्, जबकि कोरोना भाइरसले दुनियाँमा सयाैँँ क्रिश्चियन प्रिष्ट र पादरीहरूको ज्यान लिइसकेको छ ।

त्यति मात्र कहाँ हो र ? नागरिकको सुरक्षाका खातिर छिमेकी देशसँगको सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय गर्दा जसरी पनि आफू प्रख्यात हुने धुनमा त्यसको विरुद्धमा सर्वोच्चमा मुद्दा दायर गर्ने अधिवक्ताद्वय मीना बस्नेत र माधव बस्नेत जस्ता व्यक्तिहरूले यो समाज भाँडिरहेका छन् । तिनीहरू कस्तो मानसिक रोगका सिकार भएका होलान् ?

अन्त्यमा, मलाई माफ गर्नुहोला, मलाई तपाईंको स्वतन्त्रताप्रति डाहा लागेको होइन । तपाईं डुली हिँडेको देखेर छट्पटी लागेको पनि होइन । तर, देश संंभावित संंकटविरुद्ध जुध्दै गर्दा त्यसलाई अटेर गर्ने, हाँसोमा उडाउने तपाईं जस्तैले गर्दा देश बर्बाद होला भन्ने चिन्ताले मात्र आज यस्तो भाषा प्रयोग गरेको हुँ । तसर्थ, आफूलाई नपरी नचेत्ने, अरूलाई परेमा ताली पिट्ने बानी अहिल्यै त्यागौँ । एकजुट बनेर देशलाई संंकटमुक्त गरौँ । अनुशासित बनौँ  । घरमै बसौँ । आफू बाँचौँ र अरूलाई पनि बचाऔँ । यसरी देशलाई बचाऔँ ।


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।