दुःखमा काम गर्ने कर्मचारीले पाउनेछन् प्रोत्साहन भत्ता

दुःखमा काम गर्ने कर्मचारीले पाउनेछन् प्रोत्साहन भत्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र १७, २०७६

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण नियन्त्रणको क्रममा जोखिम मोलेर सेवामा खटिएका कर्मचारीलाई तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको छ । 

“गाउँपालिकामा बसोबास गर्ने अति विपन्न नागरिकको वडा वडाबाट लगत सङ्कलन गरिने र समस्यामा परेका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने योजना छ”, उहाँले भन्नुभयो । 

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिका—१ स्थित ग्राम्य माविमा २० श्ययाको क्वारेन्टाइन कक्ष निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

यसैगरी निस्दी गाउँपालिकाले पनि कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । 

कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको ज्यान गएमा रु दश लाख क्षतिपूर्ति उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो ।

विदेशबाट घर फर्केका नागरिकको तथ्याङ्क सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । गौरी शङ्कर माध्यमिक विद्यालयमा १२ श्ययाको क्वारेन्टाइन कक्ष बनाइएको गाउँपालिकाले जनाएको छ ।