संंकटमा लादिएको अङ्ग्रेजी भाषाः मातृभाषाको अपक्षय र भाषामा जारी भाँडभैलो

कोरोना भाइरसका विषयमा चर्चा भइरहँदा भाषाको विषयले पनि मलाई केही  कुतकुती लगायो । हामी आयातीत भाषालाई आफ्नो भाषामा अनुवाद गर्दैनौँ । जे आउँछ, त्यसैलाई सर्वेसर्वा मान्छौँ ।

संवेदनाको विषय कोरोनाभित्र छ तर यो एक दिन अवश्य शान्त हुन्छ र हुनुपर्छ । यसमा सबैभन्दा ठूलो कुरा सबैले सचेत हुनु आवश्यक छ । 

हाल संंचार माध्यममा मूलतः चारवटा स्वास्थ्य क्षेत्रका शब्द अतिप्रयोगमा छन् ।घरमै बस्नुपर्ने अवस्था वा एकान्तवास (लकडाउन), पूर्वसतर्क उपचारात्मक अवस्था (क्वारेन्टाइन), उपचारात्मक अवस्था (आइसोलेसन) र डाक्टरका लागि सुरक्षा कवच (पीपीई) । पृथ्वीरूपी घरको एउटै आर्तनादको यस घडीमा संचार माध्यमलाई नेपालीकरण गरिदिने निकाय पनि चाहिने रहेछ भन्ने लाग्यो । सायद मेरो अनुवाद गराइ पनि ठ्याक्कै नहुन सक्छ । यद्यपि, उल्लिखित सबै स्वास्थ्य क्षेत्रका शब्दलाई अंंग्रेेजी प्रयोग गरिएका छन् । 

अचम्मको एउटा सानो विषाणु, जो आफैँमा जीवित पनि छैन, उसले संसारलाई एउटै अनुशासनमा बस्न बाध्य बनायो । पृथ्वीमा अचम्मको एउटा इतिहास रच्याे । हुनलाई यो संंमटको घडी हो तर यो समयलाई अनुशासनले सुधार्नु छ । यो विश्वव्यापी संंकटको अवस्थामा घरवासलाई पालना गर्नु आमनागरिकको दायित्व हो । नियममा बसौँ ।

अबको प्रसंंग भाषामा  नै जोडौँ । मूलतः निजी विद्यालयका विद्यार्थीहरू, त्यसमा पनि कक्षा ९ र १० कालाई बिहानैदेखि अतिरिक्त कक्षामा विशेष गरेर विज्ञान, गणित जस्ता विषय घोकाइन्छ । पिँजडाभित्र राखेर सकेसम्म रटाइन्छ । यो विरोध होइन, यथार्थ हो । सामुदायिक विद्यालयमा जागिर खाने ध्याउन्नमा शिक्षक ४ बजेको घण्टीको प्रतीक्षामा हुन्छन् । दायित्वबोधको कमी हुँदा विद्यार्थीले सिक्न चाहेर पनि सिक्न नपाउने एकाथरीको पीडा छ भने अर्कातिर जबर्जस्ती घोक्रेठ्याक लगाउने अर्को समस्या दुवै घातक छन् ।

पार्टीको झोला बोक्नेले त अझ नपढाए पनि खातामा तलब गइहाल्छ । राम्रा शिक्षकको पुरस्कार पनि तिनैले पहुँचका आधारमा पाउँछन् अनि अवीर, माला, टीका लाएर फेसबुकमा पार्टीका हनुमानहरूको बधाई ग्रहण गर्छन् । यसो भनिरहँदा राम्रा र समर्पित शिक्षकको केही मात्रमा मूल्यांंकन पनि भएका छन्, ती सराहनीय पक्षलाई यस वर्गमा पार्नु किमार्थ उपयुक्त हुँदैन । 

अंग्रेेेजी वा नेपाली जे होस्, भाषा भनेको माध्यम हो । अंग्रेजी अन्तर्राष्ट्रिय पहुँच बनाइसकेको भाषा भए पनि यो हाम्रो देशका लागि एउटा विदेशी भाषा नै हो । २०६८ सालको तथ्यांंकमा १२३ भाषा रहेकामा नेपालमा अहिले भाषा आयोगले ६ वटा  थप भाषा भएको खबरलाई हेर्दा १२९ वटा भाषाको तथ्यांंकलाई नियाल्नुपर्ने हुन्छ ।  यो अत्यन्तै खुसीको कुरा हो ।

प्रा.डा. राजेन्द्रप्रसाद पौडेलका अनुसार २०६८ को जनगणनाभित्र विदेशी भाषालाई पनि एकै साथ मिसाएर सबै भाषालाई मातृभाषा भनिनु ऐतिहासिक भूल हो । यसबाट आएको तथ्यांंक मिथ्यांंक साबित हुन्छ । यद्यपि, भाषा थपिने भन्दा बढी गुणात्मक रूपमा त मासिने वातावरणकै बढोत्तरी भएकामा पनि दुई मत छैन । २०६८ सालको तथ्यांंकमा २१ हजार १७३ जनाको भाषा अज्ञात छ भने ४७ हजार ७१८ जनाको भाषिक तथ्यांंक यकिन हुन सकेको देखिँदैन ।

२०७८ सालको जनगणनामा यस्ता विवादास्पद समस्यालाई यकिन गरेर भाषिक समस्याको समाधान गर्नुपर्ने चुनौती र अवसर दुवै छ । कोरोनाको कारणले सायद समयमा काम नहुन सक्ने पनि देखिन्छ । 

आजको परिवेशानुकूल आधारमा भन्दा विश्वव्यापीकृत भाषा त अंग्रेजी नै हो तर जर्मनी, चीनलगायतका धेरै विकसित मुलुकले हामीले जसरी अन्धो भएर लाद्दैनन् । यस मानेमा पनि अब हामीले हाम्रा मातृभाषालाई उत्थान गर्नु आवश्यक छ, बरु ती देशहरूले त स्थानीय भाषालाई जोड दिएको देखिन्छ ।

विश्वमा सोभियत संघ र पपुवान्युगिनी बहुभाषिक पद्धतिलाई अपनाउने उदाहरणीय देश हुन् । कोरियन, जापानी, हिब्रु जस्ता भाषालाई २-४ महिना सिकेर काम चलाइन्छ तर यो काम चलाउ भाषा मात्र हुन्छ । यसर्थ शिक्षा क्षेत्रमा तल्ला तहदेखि माथिसम्ममै अंग्रेजी  माध्यमलाई पूर्ण रूपमा प्रयोग गरिरहँदा बालमनोविज्ञान तथा सिकारु मनोविज्ञानमा नकारात्मक असर परिरहेको छ भने मातृभाषामा शिक्षा दिने पद्धतिका कुरा नीतिमा सीमित भइरहेका छन् ।

यो एउटा भाषा मात्र हो, जसले मातृभाषा र नेपाली भाषाले जसरी स्पष्ट रूपमा हाम्रो नेपालीपनासँग गाँसिएका मौलिक ज्ञानलाई प्रवाह गर्न सक्दैन ।

हुनत विकासोन्मुख मुलुकमा भाषाभन्दा ठूला कुरा काम र मामकै हुन्छ, तथापि, विकासको एउटा चरण पूरा गरेपछि फेरि मान्छेले अपनत्व खोज्न थाल्छ । तबसम्ममा हामी ढिलो भइसकेको हुनेछौँ । यो हाम्रो गरिब मुलुकका लागि गम्भीर कुरा हो । यसर्थ राज्य र ठूला विद्वानहरू नै यसमा सक्रिय नभई भाषिक अपक्षय रोकिँदैन । यो समस्या सुल्झाउने एकतागत सोच र प्रभावकारी भाषानीति तथा भाषा योजना आवश्यक छ ।

हाम्रो देशका सामाजिक विषयवस्तुलाई पनि निजी कलेज तथा विद्यालयमा अंग्रेेेजी भाषाको माध्यमद्वारा जबर्जस्ती घोकाइनुलाई त मानव अधिकार, बाल अधिकार अनि संवैधानिक अधिकारको उल्लङ्घन भयो भन्नुपर्ने होइन र !

आज अंग्रेेेजी भाषालाई व्यापारीकृत गरिनु तथा विकास र समुन्नति भन्दै पश्चिमीकृत गरिनु हाम्रो देशको सबैभन्दा दुःखद् पक्ष हो । देश त एक दिन सम्पन्न बन्छ नै तर भाषिक दोहनबाट अहिले केही फाइदा देखिएजस्तो भए पनि कालान्तरमा हामीमा मौलिकताविहीन हुने संभावना धेरै बढ्छ ।

आमालाई गलहत्याउने, माटोको मायालाई कुल्चेर हामी यति धेरै अन्धो हुँदै छौँ, जसलाई स्यालले आकाश खस्नबाट बचाउन भन्दै आफ्नो गुफामा लगेर खान लागेको कुरोकै पत्तो छैन । चाहे ह्युग बी उडका कारणले होस् या जर्ज म्याकालले भिराएको भारी होस्, आज हामी तिनकै विरासतमा पलायनवादी बन्दै छौँ । तिनीहरू त केही समय आएका थिए तर आज पनि हामी तिनका प्रिय भक्त बनिरहेको यथार्थबाट पनि हामी भाग्न सक्दैनौँ । न भाषा, न संस्कृति, आज त आधाजसो शैली र प्रवृत्ति पश्चिमामुखी भइसकेको छ ।

अचम्मको कुरा, अंग्रेजी भाषामा अशुद्धि हुँदा बिग्रने अनि नेपाली वा मातृभाषालाई जसरी प्रयोग गरे पनि हुने शैलीले हाम्रो मुलुकमा भाषिक वितण्डा बढेको छ । यत्रा धेरै जन्मिएका संंचार माध्यमले जथाभावी अशुद्धको पराकाष्ठामा अंंग्रेजी शब्द मिश्रित खिचडीयुक्त भाषा प्रयोग गरेको विषयलाई राज्यले कत्ति पनि चिन्ता गर्दैन । अलिकति पनि निगरानी गर्दैन । नेपाली शुद्धताको खडेरीमा चिन्ता कसले गरेको छ ? खै भाषाको स्पष्ट नियम अर्थात् भाषानीति नै कहाँ छ ? 

यदि अंग्रेजी भाषाको विकासका पक्षतिर लम्किने हो भने त्यो विदेशी भाषाप्रतिको दखल त होला तर यसबाट हामीलाई अपनत्व र पूर्णता हुँदैन अर्थात् विदेशमै जाने, विदेशी शैली नै अपनाउने, धनीमानी र बुद्धिमानीले अंग्रेजी नै पढेको हुनुपर्छ भन्ने हो भने हाम्रोपनाचाहिँ के हो ? भाषा सिक्नु र जान्नुमा कुनै खराबी छैन । यद्यपि, लादिनु र बाध्यकारी मनोविज्ञानको चक्रव्यूहमा फसाइँदै जानु नितान्त घातक हो ।

विदेश पलायनवादी सोचमा अपनत्व क्षीण गराउने मात्र सोच्नुलाई विकास भन्न सकिँदैन । यो अन्धानुकरण तथा पश्चिमीकरण मात्र हो । भाषा सिकौँ, अन्य थुप्रै भाषा सिकौँ तर आफ्नोपनालाई पनि कायम गरौँ । माटोको मूल्यलाई त कमसे कम बुझ्नु आवश्यक छैन ? सत्य कुरा हो- मानिसले भौतिक र आर्थिक सम्पन्नताको एउटा स्तरमा उक्लेपछि फेरि संस्कार र अपनत्वको खाँचो महसुस गर्ने गर्छ । यद्यपि, त्यतिखेर हामी अपनत्वरहित हुनेमा शंंकै छैन जस्तो लाग्छ । यो दुःखको कुरा हो ।

नेपाली भाषाले अन्य मातृभाषालाई दबाउँछ कि सघाउँछ ? 

कतिपय विचारकले नेपाली भाषाले हाम्रो मातृभाषालाई दबाएर हामी कमजोर भयौँ भन्ने आरोप लगाइरहेका पाइन्छ तर यो केवल साम्प्रदायिक पूर्वाग्रह र अपवाह फैलाउने सोच हुन्छ । यो समय यस्ता आरोप र लाञ्छना बोकेर होइन, मातृभाषाको रक्षार्थ नेपालीलाई माध्यम बनाएर सबै माझ पुर्‍याउने गरी अरू भाषाको जगेर्ना गर्न तथा व्यापकता दिनतिर लाग्ने समय हो । 

अर्को कुरा, कुनै पनि भाषा कुनै जातिका नाममा हुँदैमा त्यो भाषा अरू जातिको होइन भन्नु संंकुचित धारणा हो । सबै भाषा नेपालकै भाषा हुन् । कुरा यति मात्र हो भि त्यो भाषालाई निश्चित समुदायले प्रयोग गर्छन् । नेपाली भाषा कुनै जाति विशेषको जिजुबाको दाइजो होइन, यो आमनेपालीको सरोकार र सद्भाव कायम राख्ने, सबैको विचार सम्प्रेषण गर्ने या त भनौँ सबैलाई एक सूत्रमा बाँध्ने एउटा पुल हो ।

एकल भाषा नीतिको पद्धति त २०१९ सालको संविधानपछि मात्र आएको हो । यसअघि भाषाका विषयमा उस्तो ठोस नीतिगत आधार स्पष्ट थिएन । भाषाको विषयलाई प्राथमिकतामा राखेर उस्तो चासो नै नदेखाइएको भाषिक इतिहासका दस्ताबेजलाई नपढी हामी विवाद र बेमेल हुने बेतुकका तर्क गरेर समयलाई बर्बादी गरेर निकास निस्कँदैन बरु त्यस समयमा नेपालमा मातृभाषाहरू जीवित थिए । सर्वसाधारणले आफ्नै भाषामा विनिमय गर्थे तर आजको नयाँ पुस्ताले न मातृभाषा जान्दछ, न त अंग्रेजी, न नेपाली जान्दछ ।

आज तामाङ समुदायले आफ्ना पुस्तालाई तामाङ सिकाउँदैन, मगर समुदायको आजको पुस्ताले मगर भाषा नै जान्दैन अनि यसमा हामीले दुःख मान्नुपर्ने हो ! 

केही विचारकहरू आफ्नो थर र जातका आधारमा मात्र सोचेर इतिहास र वास्तविकताको कसीभित्र नछिर्नुहुँदा त्यस्ता विचारले भ्रम र विद्रोह बढाउँछ तर निकास र यथार्थ आउँदैन । नेपाली भाषाको विकास हुनु, यसको व्यापकता देशबाहिरसम्म हुनु भनेको कमसे कम नेपालको एउटा भाषाले विश्वव्यापी स्थान ओगट्यो भन्नुपर्ने हो ! यस विषयमा गर्व गर्नुको साटो नेपाली भाषाका कारणले मातृभाषा छायामा परे भन्नु कतिको तर्कसम्मत् छ ? 

अबको बहुभाषिक नीतिलाई हेर्दा हरेक समुदायमा त्यस भाषाका ज्ञातालाई लिएर मातृभाषिक कार्यक्रम, मातृभाषिक साहित्य संंगम तथा बहुभाषिक जमघट हुनुपर्छ । जुन जातिले बोलिरहेको मातृभाषा भए पनि सबैले सबैको सादर कदर गर्ने परिपाटी बसाउनुपर्छ । बहुभाषिकता युद्ध र द्वन्द्वको अभिशाप होइन, यो गर्व गर्नलायक वरदान हो ।

यसका लागि नेपाली भाषाले अरू मातृभाषाका ज्ञानलाई सबै समक्ष बुझाउन र प्रस्तुत गर्न, अनुवाद गर्नमा मद्दत गर्नुपर्छ । यसको अर्थ भाषा त समुदाय र समाजका प्रयोक्ताले जोगाउने हो तर हाम्रो समाज मनोविज्ञानले यदि मगर, तामाङ मातृभाषी छ भने नेपाली र अंग्रेजी सिकाउन खोज्यो र नेपाली मातृभाषी छ भने अंग्रेेेजी सिकाउन प्रेरित गर्न थाल्यो । यही सिकारमा आज हाम्रो समाज न यता, न उता भएको छ । 

विश्वव्यापीकृत प्रभावबाट संसारमा कमजोर भाषाको लोप ! 

आजको पुस्ताले आफ्नो मातृभाषा जानेर, मातृभाषाका कला र सीपलाई जानेर रोजगार पाउँदैन । त्यसैले विदेशी भाषा सिकेर विदेशिनु उसको बाध्यता बनेको छ । सरकारले मातृभाषाको ज्ञान हुने र सिक्न चाहनेका लागि अब प्रोत्साहन गर्दै भाषिक अपनत्वको विकास गर्दै जानुपर्छ । तिनका कला, रैथाने ज्ञान, संस्कृति, वेशभूषा, औषधि विज्ञान, जीवनशैली आदिका बारेमा अब विकास गर्दै सबै भाषा र जातिको रक्षार्थ लम्बीय र क्षितिजीय तवरका भाषिक नीति नल्याएमा विश्वव्यापीकृत समाजको असरसँगै काम र मामका लागि भाषिक लोपको खतरा वर्तमान पुस्ताबाटै ह्वात्तै बढेको छ ।

भाषा जोगाउनु, आफ्नो संस्कृतिको रक्षा गर्नु, आफ्नोपनमा बाँच्नु सबैको अधिकार हो । यद्यपि, अहिले अधिकारका कुरा हुन्छन्, अर्कोलाई सकेसम्म र पाएसम्म लाञ्छना लगाइन्छ तर आफ्नो धरातल बिर्सिइरहिएको छ । विश्व समाजका विकसित स्थानमा भाषिक अपनत्वको प्रभावलाई बढाबा दिइरहिएका उदाहरणलाई हेरिइरहँदा नेपालमा भाषिक विकासका पक्षलाई लिएर भाषा आयोगको स्थापना गरिएको छ । 

हाम्रो देशका नेपाली भाषाका विद्वानहरूमा वर्णविन्यासका कारण भएका खेमाबद्धले झनै भद्रगोल बनाइएको हो । अझ शिक्षाशास्त्रका भाषाका विद्वान्लाई मानविकीतिरका विद्वानले नगन्ने समस्या विद्यार्थीका मुखबाट सुन्न पाइरहिएको देखिन्छ । यसको अर्थ ज्ञानलाई तोल्ने र दम्भ राख्ने विद्वताले नेपाली भाषाका विषयमा व्यक्ति विचार हाबी छ ।

सत्य हो अनि यथार्थ पनि, दुवै खेमाका विद्वानमा ठूलो र लोभलाग्दो विद्वता पनि छ । यी दुवैतर्फका एउटा टेबलमा बसेर बहस गर्ने हो भने यतिखेर नयाँ र सिर्जनशील विचार जन्मन्छ ।

महान् विद्वानहरू हाम्रो देशमा अवश्य हुनुहुन्छ तर मेरो गोरुको बाह्रै टक्का र दम्भको मात्र समस्या हो । नेपालका भाषा र नेपाली भाषाका विषयमा जातिगत महासंघभित्र पनि केवल विवाद गर्ने र खेमाबद्ध स्वार्थका कुरा गर्नेको लर्को मात्र छ । अनुसन्धानात्मक निकास र साझा चौतारी बनेन । केही प्रयास भएका छन् तर राज्यकै स्तरबाट चिन्ता गरेर अन्य विषयलाई जसरी संसद, सदन र सडकमा यी विषय चासोको स्थानभित्र समेटिने भनेर सोचिएकै छैनन् ।

हुनत विकासोन्मुख मुलुकमा भाषाभन्दा ठूला कुरा काम र मामकै हुन्छन् तथापि विकासको एउटा चरण पूरा गरेपछि फेरि मान्छेले अपनत्व खोज्न थाल्छ । तबसम्ममा हामी ढिलो भइसकेको हुनेछौँ । यो हाम्रो गरिब मुलुकका लागि गम्भीर कुरा हो । यसर्थ राज्य र ठूला विद्वानहरू नै यसमा सक्रिय नभई भाषिक अपक्षय रोकिँदैन । यो समस्या सुल्झाउने एकतागत सोच र प्रभावकारी भाषानीति तथा भाषायोजना आवश्यक छ ।


लेखक समसामयिक सन्दर्भका साथै भाषा र साहित्यका विषयमा कलम चलाउँनु हुन्छ।