कोरोना संक्रमण नियन्त्रण र हाम्रो अपेक्षा

कोरोना संक्रमण नियन्त्रण र हाम्रो अपेक्षा

डा. रत्नावली शर्मा  |  दृष्टिकोण  |  चैत्र १९, २०७६

गत वर्ष डिसेम्बरको अन्तिम हप्ता चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका २ सय देशमा फैलिइसकेको छ । विभिन्न पेसा, व्यवसाय र अध्ययनका लागि विदेशिने ठूलो जमात विश्वभर कोरोना फैलिन थालेपछि मातृभूमिमै फर्कने यत्नमा लागेको छ ।

यहाँ मैले कसैको पक्ष र विपक्षमा होइन, मात्र कोरोना संक्रमण निरोधका लागि हाम्रा प्रयास र अपेक्षाका बारेमा केही विषय उल्लेख गर्ने प्रयत्न गर्दै छु । 

पाठकवृन्द ! सर्वप्रथम म हाम्रै बानी  र व्यवहारको खनीखोस्रो गर्न चाहन्छु । अन्य देशहरूले हामीभन्दा तीव्र गतिमा स्वचिन्तन र स्वसंस्कारसहित भौतिक विकास गरिरहँदा हामी आफूआफूमै अल्मलिइरहेका छौँ  । सामान्य अवस्थामा सरकारले स्वास्थ्य र शिक्षा  नि:शुल्क गर्न सकेको छैन । अत्यावश्यक सेवामा समेत नागरिकको सहज पँहुच हुन सकिरहेको छैन । अझ यस्तो अवस्थामा हामी हरेक विषयमा सरकारकै मुख ताकिरहेका छौँँ, किन ? 

बन्दाबन्दीका बेला सरकारले घरबाट बाहिर ननिस्कनू भनेको छ तर हामी बेलुकी हावा खान निस्कन्छौँ । बिहान घाम ताप्न निस्कन्छौँ । सडकपेटीमा लामबद्ध भएर सरकारविरुद्ध विषवमन गर्छौं । जब हामी कर्तव्यपालनामा चुकिरहेका छौँ भने अधिकारका लागि केको खिचातानी ?

जनताले बुझ्न जरुरी छ, सरकारले मात्र गरेर हुने केही होइन । तपाईँ हामी जस्ता प्रत्येक नागरिकको समूहबाट नै सरकार हुने हो तर यहाँका नागरिक आफ्नो थाल आफैँ माझ्न पनि चाहँदैनन्, आफू सुत्ने विछ्यौना पनि आफैँ लगाउन चाहँँदैनन् तर कुरा भने विकसित राष्ट्रको कुनै शक्तिशाली र ज्ञानी व्यक्ति भएझैँ गर्छन् । 

गरिब जनताको सपना पूरा गर्ने दायित्व बोकेको सरकार निर्णय गर्छ तर खै किन हो, निकै ढिलो गर्छ । अझ कार्यान्वयनको पाटो हेर्ने हो भने त सायद सरकारको काम गर्ने प्राय: सबै कर्मचारी ती हावा खान, घाम ताप्न र सडकपेटीमा लामबद्ध भएर संसारमै विज्ञता छाँट्न अब्बल हामी नै हौँ कि झैँ लाग्छ । 

अहिले यो पक्ष, त्यो पक्ष भनेर व्यक्तिगत रूपमा कसैलाई लाञ्छना लगाउने र जटिल अवस्थामा मानवीय सेवामा खटिएकाहरूको मनोबललाई निरुत्साहित गर्ने बेला होइन । विश्व नै जटिल अवस्थामा रहेको यस बेलामा हाम्रो क्षणभरको लुछाचुँडीले हामीलाई केही प्राप्त हुँदैन । यो समय न त सरकारमाथि लाञ्छना लाउने समय हो, न सरकारका अन्य कुनै निकायमाथि नै । यो बेला सरकारको आह्वानलाई मनन् गर्दै जिम्मेवार नागरिक बन्ने बेला हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय नै ढिला गर्‍यो । नेपालमा कोरोना संक्रमणको मुख्य विन्दु नै यही रह्यो । घर सम्झी आएका आफन्तलाई सरकारले आफ्नै क्वारेन्टाइनमा राख्न सक्नुपर्थ्यो, त्यसो हुन सकेन । सरकारले विदेशबाट आएकालाई घरमै क्वारेन्टाइनमा बस्ने अनुमतिसहित छोडिदियो  तर नेपाली मन न हो, आफन्त, इष्टमित्र, साथीभाइ, राम रमाइलोका अगाडि कोरोना संक्रमण फैलिन्छ भन्ने हेक्का पनि राख्न सकेनन् ।

भारतलगायत अन्य मुलुकबाट आएका केही नेपालीमनले गर्दा आज हामी सम्पूर्ण नेपालीहरू त्रस्त बन्ने बेला आएको छ । भारतबाट आउने क्रम त निरन्तर नै रहनेछ तर विभिन्न माध्यमबाट नेपाल आउने सबै  नेपालीहरू क्वारेन्टाइनमा रहे, नरहेको  केन्द्र सरकारले निगरानी गर्न सक्दैन तर यो बेलामा वडावासीको सातपुस्ते नापनक्सा याद गरेका स्थानीय सरकारले पनि तीव्र गतिमा लय समाएझैँ देखिँदैन । यदि स्थानीय सरकारले प्रत्येक वडाका जनप्रतिनिधिलाई खटाएर आआफ्नो क्षेत्रका वासिन्दाका बारेमा पूर्ण जानकारी राख्न सकेको भए नेपालीहरू यति धेरै त्रस्त हुने थिएनन् ।  

सरकार ! काम गर्नै छ नि, भोलि गर्ने काम आजै गर्दा कति सहज र सरल हुन्थ्यो होइन र ? करिब ३ पहिना अगाडि नै छिमेकी मुलुकमा फैलिएको कोरोना संक्रमण फैलिन नदिन हामीले सुरु गरेको प्रयास अलिकति ढिला भएन र ? हो हामीसँग  स्वास्थ्य सामग्री जनशक्तिलगायत पर्याप्त नहुन सक्छ तर सरकार हाम्रा प्रयास समयमै पर्याप्त हुनुपर्छ । त्यसका लागि शासक वर्ग दूरदर्शी हुनुपर्छ ।

राष्ट्र र जनताका लागि तत्काल सही निर्णय लिई अगाडि बढ्न सक्नुपर्छ । यसका लागि कसले के भन्छ, त्यो हेर्न जरुरी छैन- यदि नेतृत्व सही दिशामा अगाडि बढेको छ भने ।

सरकार ! विपत्ति सूचना दिएर आउँदैनथ्यो तर हामी नेपाली भाग्यमानी रहेछौँ, कोरोना ३ महिना अगाडि नै सूचना दिएर हामीकहाँ आइपुग्यो । कोरोना संक्रमणको यो क्रम विश्वमा अझै महिनौँसम्म रह्यो र हाम्रा सीमानाकाहरू, अन्तर्राष्ट्रिय उडानहरू तथा बाह्य आवतजावत बन्द नै राख्नुपर्ने अवस्था आयो वा निकट भविष्यमा यस्तै विपत्तिहरू आए भने सोचौँ त हामी केमा आत्मनिर्भर छौँ ? कामना गरौँ त्यस्तो अवस्था नआओस् ।

हिजोसम्म केन्द्र सरकार देशका युवाहरूलाई विदेश पठाएर रेमिट्यान्स भित्र्याउनमै तल्लीन रह्यो । स्थानीय निकायका पालिकाहरू स्मार्ट सिटी घोषणा गर्नमै व्यस्त बने तर कसैले पनि कृषि, पशुपालन, विद्युतलगायतका अत्यावश्यकीय कुराहरूमा बजेट छुट्याउन र आवश्यक तालिम, बिउबीजन, सिँचाइ आदिमा लगानी गरेर आत्मनिर्भरताको बाटो रोजेनन् ।

कोरोना विषाणु संक्रमण जोखिम नियन्त्रणका लागि भइरहेका प्रयासमा आएका व्यवधानलाई मध्यनजर गर्दा अब जनता आफैँ पनि स्वरोजगार र आत्मनिर्भरताको बाटोमा लम्किन जरुरी छ । 

पछिल्लो समयमा नेपाल आएकालाई क्वारेन्टाइन अर्थात् निगरानीमा राख्नेदेखि आइसोलेसन अर्थात् एकान्तवासमा रहेका केही बिरामीको निधन भएको विषय र पीपीइ अर्थात् व्यक्तिगत सुरक्षा कवचलगायत स्वाथ्य सामग्री खरिदमा भ्रष्टाचार भयो भनेर सामाजिक संंजालमा व्याप्त आलोचनाले सरकारलाई कमजोर बनाउनुहुँदैैन है, सरकार ! 

एउटा विपद्ले यसरी आक्रमण गरिरहेको छ । प्राय: सबै शक्ति राष्ट्रहरूले आफ्नो सैन्य शक्तिलाई सडकमा उतारेको स्थिति छ । हरेक राष्ट्रले आफ्ना जनताको सुरक्षाका लागि हरदम प्रयास गरेकै छन्, सँगै हाम्रो जस्तो अल्पविकसित राष्ट्रले पनि भ्याएसम्म कोरोना विषाणुविरुद्धको लडाइँमा हरसंभव प्रयास थालेको छ ।

हामी विश्वका शक्ति राष्ट्रलाई नै थिलथिलो बनाइरहेको कोरोना विषाणुु संक्रमणको मुख्य लडाइँमा छौँ । यो बेलामा आइपर्ने अनेक चुनौतीलाई चिर्न सरकारले जनतालाई आफ्नो साथमा राख्न जरुरी छ । यो कठिन घडीमा कुनै वाद र सिद्धान्तभन्दा माथि उठेर आफ्नो सुख र परिवारको पर्वाह नगरी समग्र मानव अस्तित्व संरक्षणको युद्धमा विजय प्राप्त गर्न अग्रमोर्चामा उभिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यकीय सेवाप्रदायकहरूको हौसला बढाउन सरकार निरन्तर सक्रिय बन्नुपर्छ ।  जनता पनि  सरकारकै आग्रहअनुसार अगाडि बढ्दा कोरोना विषाणुविरुद्ध सजिलै विजय प्राप्त गर्न सकिन्छ । 

तर, हामी अधिकांश नेपालीहरूमा एउटा गजबको बानी छ- हामीलाई कुनै पनि विषयको सूचना छ भने हामी त्यसलाई आफूसँग भएको ज्ञान ठान्छौँ र त्यसका बारेमा सतही टीकाटिप्पणीमा उत्रन्छौँ । हामीमध्ये धेरैले बुझ्दैनौँ कि देशमा के भएको छ ? समाजमा के घटिरहेको छ ? हामी कुन अवस्थामा छौँ ? बन्दाबन्दीका बेलामा घरभित्रै रहँदा कमसे कम समाज र राष्ट्रका लागि केही सकारात्मक र  उपयोगी हुन नसक्नु सायद हामीभित्रको खराबी हो ।

यो बेलामा कसलाई के चाहिन्छ, हामीलाई राम्रोसँग थाहा छ । अहिले यो पक्ष, त्यो पक्ष भनेर व्यक्तिगत रूपमा कसैलाई लाञ्छना लगाउने र जटिल अवस्थामा मानवीय सेवामा खटिएकाहरूको मनोबललाई निरुत्साहित गर्ने बेला होइन । विश्व नै जटिल अवस्थामा रहेको यस बेलामा हाम्रो क्षणभरको लुछाचुँडीले हामीलाई केही प्राप्त हुँदैन । यो समय न त सरकारमाथि लाञ्छना लाउने समय हो, न सरकारका अन्य कुनै निकायमाथि नै । यो बेला सरकारको आह्वानलाई मनन् गर्दै जिम्मेवार नागरिक बन्ने बेला हो ।  घरमै बसौँँ, कोरोना संक्रमणविरुद्ध डटेर जुटौँ ।