लकडाउनः तारतम्य मिलाउन कठिन, खाद्यान्नको मूल्य अकासियो

लकडाउनः तारतम्य मिलाउन कठिन, खाद्यान्नको मूल्य अकासियो

निर्जला कक्षपति  |  दृष्टिकोण  |  चैत्र १९, २०७६

कोरोना त्रासका कारण मुलुकमा अकस्मात् लकडाउन भएपछि हामी सबैलाई यतिबेला सबै कुराको तारतम्य मिलाउन कठिन त भएको छ नै, अन्य देशमा जस्तै कोरोनाले महामारीको रूप त लिने होइन ? भन्ने डर पनि छ ।

मुलुक लकडाउन भएपछि तरकारी तथा खाद्यान्नहरू सहज अवस्थामा पाइन छाडेका छन् । पाइहाले पनि तरकारीको मूल्य अकासिन थालिएको छ । फाटफुट खोलिएका खुद्रा पसलमा खाद्यान्नको भाउ पहिलेको भन्दा बढी रुपैयाँ लिएर बेच्न थालिएको छ । अक्सर साँझ र बिहानमा तरकारी किन्नेहरूको भीड देखिन थालेको छ । विशेषगरी दिउँसो प्रहरीले समाउँछ भन्ने डरले मानिसहरू दिउँसोको समयमा घरबाट बाहिर ननिस्किए पनि साँझमा भने तरकारी र खाद्यान्नका पसलमा भीड नै लाग्ने गरेको छ । जनतालाई सहज होस् भनेेेर प्रहरीले पनि साँझ र बिहानको समय अलिक खुकुलो पारेको हो तर  साँझ र बिहान तरकारी किन्न निस्कँदा कोरोना भाइरस नसर्ने भन्ने हुँदैन । यस भाइरसका बारे र यसबाट बच्ने उपायबारे न्यूून आय भएका मानिसमा त्यति धेरै ज्ञान पनि भएको पाइँदैन । त्यसैले सतर्कता पनि त्यति धेरै अपनाएको पाइँदैन ।

घरघरसम्म सहज तरिकाले तरकारी र खाद्यान्न पुर्‍‍‍याउन सक्ने व्यवस्था नहुँदा जनता आफूलाई चाहिने तरकारी र खाद्यान्न किन्न जानुपर्ने बाध्यता नै रहेको छ ।

लकडाउन कहिलेसम्म हुने हो, थाहा छैन । लकडाउन हटिसकेर पनि ढुक्क हुने अवस्था छैन किनभने अहिलेसम्म विदेशबाट आएका सबै नेपालीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । त्यसैले लकडाउनको समयमा त कमसे कम जनता घरमै बस्छन् र सर्ने संभावना कम हुन्छ ।

लकडाउनको समयमा समेत नेताहरू भ्रष्टाचार गर्न पछि पर्दैनन् । भनिन्छ नि- दुु:खका बेला मानिस चिनिन्छ । हामी पनि हाम्रा नेताले यो दुु:खको समयमा नेपाली जनतालाई कस्तो सहयोग र साथ दिन्छन्, यही समयमा मूल्यांकन गरौँँ । मुलुकमा यत्रो संकट पर्दा पनि नेताको ध्यान भ्रष्टाचार गर्नमै हुन्छ भने त्यस्ता व्यक्तिलाई किन नेता बनाउने ?

अहिलेको यो कठिन समयमा हामी सबैले जीवनलाई सहज बनाउने प्रयत्न गर्नुपर्छ तर यस्तो अवस्थामा पनि व्यपारीहरूले कालोबजारी गरिरहेका छन् । दाल, तेल, नुन, चामललगायतका खाद्यान्नका सामानहरूमा व्यापारीले पहिलेभन्दा अलिक बढी रुपैयाँ लिएर बेच्न थालेका छन् । प्रति केजी १३० रुपैयाँमा पाइने रहरको दाल १८० रुपैयाँमा बेच्न थालिएको छ । २५ सय रुपैयाँको १५ केजीको एक बोरा चामललाई ३५ सय रुपैयाँ लिन थालिएको छ । ग्यास पाउनै छाड्यो ।

अचम्मको कुरो त सामान लुकाएर कतिपय व्यापारीले कृत्रिम अभाव सिर्जना गरेका छन् । तरकारीको मूल्यमा पनि वृद्धि भएको छ । महँगो तरकारी किन्यो भने किन्यो, होइन भने त्यही पनि नपाउने अवस्था छ । उपभोक्ताहरूले भोलिका दिन के हुने हो भन्दै खाद्यान्न र तरकारीहरूको घरघरमा स्टक राखेका छन् ।


छिमेकी देश भारतकै कुरा गर्ने हो भने लकडाउनका समयमा ज्यालादारीमा काम गर्ने मजदुरहरूका लागि सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याएको छ । प्रहरीका माध्यमबाट सरकारले ज्याला मजदुरी गर्नेहरूलाई खाना बाँडिरहेको छ । मानिसहरू पनि स्वस्फूर्त सेनिटाइजर बाँडिरहेका छन्, गरिबहरूका लागि खानाका प्याकेट बाँडिरहेका छन्, आफैँ बनाएर मास्क बाँडिरहेका छन् ।सबैले बाँडीचुँडी खाऔँ भन्ने कम देखिन्छ । यसरी बजारमा सहज र सुलभ तरिकाले सामान नपाउँदा भान्सामा कम परिकार पाक्न थालेका छन् ।

एकआपसमा निकै नै सहयोगको भावना रहेको देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटक पटक जनतालाई घरबाट बाहिर ननिस्कनुहोस् भन्दै आह्वान पनि गरिरहेका छन् । यो लकडाउनको पूरै समय गरिब जनतालाई परेको मर्काका बारे सरकारले हेर्नेछ भन्दै आश्वासन पनि दिएका छन् र सहयोग पनि गरिरहेका छन् । रासनहरू फ्रीमा बाँडिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउनको समयावधिको ज्याला मजदुरहरूको खातामा स्वयं रुपैयाँ जम्मा पारिदिएका छन् । यसबाट के हुन्छ भने आपतका बेला जनताले यसरी सहयोग र साथ पाउँदा जनताले अभिभावक रहेछन् भन्ने अनुभूति गर्छन् । नेताप्रति आदर बढ्ने गर्छ । नेतालाई आफ्नो ठान्ने गर्छन् । विडम्बना, हाम्रोमा यस्तो छैन ।

लकडाउनको समयमा समेत नेताहरू भ्रष्टाचार गर्न पछि पर्दैनन् । भनिन्छ नि- दुु:खका बेला मानिस चिनिन्छ । हामी पनि हाम्रा नेताले यो दुु:खको समयमा नेपाली जनतालाई कस्तो सहयोग र साथ दिन्छन्, यही समयमा मूल्यांकन गरौँँ । मुलुकमा यत्रो संकट पर्दा पनि नेताको ध्यान भ्रष्टाचार गर्नमै हुन्छ भने त्यस्ता व्यक्तिलाई किन नेता बनाउने ?

दु:खका बेला धैर्य र संयम अपनाऔँ, आफूले गर्ने कर्तव्य र जिम्मेवारी गर्न नचुकौँ । अभिभावकविनाको टुहुरो सन्तान जस्तै हामी नेपाली जनतालाई सरकारले केही गर्ला कि भन्ने आस टुट्नु स्वाभाविक हो । आफ्नो स्वास्थ्यको ख्याल आफैँ गरौँ, सतर्कता अपनाऔँ र आफ्नो ज्यान आफैँ बचाऔँ । कोरोनालाई भगाऔँ ।