लोकसंवाद टिप्पणी: साधुवाद, विद्या

लोकसंवाद टिप्पणी: साधुवाद, विद्या

लोकसंवाद टिप्पणी  |  समाचार  |  फाल्गुन २२, २०७५

‘परिवारका लागि मैले केही अपेक्षा गरेको छैन । सरकारले मेरोभन्दा पनि उहाँसँगै जीवन गुमाएका अरू परिवारको समस्या हेर्नुपर्छ । जसको एकजनाले कमाएर सबै परिवार पाल्नुपर्ने अवस्था छ, उहाँहरूको ध्यान राखोस । मेरो मायालु परिवार छ । उहाँहरूसँगै मिलेर संघर्ष गर्छु । तर, राजनीति गर्नेबारे मैले कुनै सोच बनाएको छैन । अहिले त्यो सोच्ने वेला पनि होइन । म जुन क्षेत्रमा छु, त्यहीँ सकेजति राम्रो गर्नु मेरो प्राथमिकता हो ।’ 

माथिका यी शब्द भर्खरै हेलिकोप्टर दुर्घटनमा निधन भएका मन्त्री रविन्द्र अधिकारीको पत्नी विद्या भट्टराइले नयाँ पत्रिका सँगको कुराकानीमा भएको संवादको अंश हो । 

उनको शब्दमा, ‘रवीन्द्र अधिकारी सकारात्मक सोच भएको, अरूको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।’

एउटा श्रीमतीका लागि श्रीमान अनि असल साथी गुमाउनु जत्तिको ठूलो पिडा जीवनमा अर्को के होला र । तर पनि यो शोकको घडीमा बिल्कुल धैर्यता नगुमाई, संयमका साथ उदार हृदयले सरकारले गर्छु भनेको सहयोग आफ्नो लागि नभएर मन्त्री रविन्द्रसँगै जीवन गुमाएका अन्य परिवारलाई सहयोग गर्न भनेकी छन् जसको परिवार दृर्घटनामा ज्यान गुमाएका मृतक माथि आश्रित थियो । 

यसले विद्याको उदारता र परिपक्वताको सर्वत्र प्रशंसा भएको छ । राजनीतिमा जसरी हुन्छ लुट्ने प्रवृति देखिएको समयमा त्याग र समर्पण पनि कतै छ भन्ने यसले उदाहरण प्रस्तुत गरेको छ । राजनीति प्रति बढ्दै गएको वितृष्णामा यसले झिनो भएपनि आशा जगाएको छ । 

बलात्कार, दुर्घटना, मृत्यु, लुट, चोरी, बेइमानी र भ्रष्टाचारका नकारात्मक समाचारले प्रमुखता पाउने सञ्चार माध्यममा यस पटक यो सकारात्मक समाचारले स्थान पाएको छ । यो आफैंमा एउटा उपलब्धि हो । 
समाजमा हराउँदै गएको नैतिकता र खडेरी परेको इमान्दारीलाई यसले थोरै भएपनि बल मिलेको छ । वृक्षको स्वरुप ग्रहण गर्न बीज सानै भएपनि पर्याप्त हुन्छ । 

२०५० सालमा अनेरास्ववियुको हेटौंडा सम्मेलनबाट अंकुराएको प्रेम ६ वर्ष पछि विवाहमा परिणत भएको थियो विद्या भट्टराईको । २०५६ सालमा पति पत्नीका रुपमा एक अर्काले स्वीकारेका उनीहरु पति पत्नीका रुपमा भन्दा पनि एक असल मित्रका रुपमा आफूले पाएको बताउने विद्याले आफू तत्काल राजनीतिमा नआउने बताएकी छन् । 

उनी राजनीतिमा आए पनि वा नआएपनि शोकको घडीमा उनले प्रर्दशन गरेको जुन सुझबुझपूर्ण सदाचारको सोच छ त्यसले केही हदसम्म भएपनि राजनीतिमा नैतिक दवाव श्रृजना गर्न बल पुर्‍याउँछ । 

राजनीति फोहोरी हुन्छ र फोहोरी बनाई रहनुपर्छ भन्ने जुन आम राजनीतिक व्यवहार र चिन्तन छ यसमा थोरै भएपनि विद्याको व्यवहारले रौं चिरा पारेको छ । यसलाई चिरफार गरेर सफा बनाउने काम वर्तमान राजनीतिज्ञको हो । यो त एउटा सानो झिल्को मात्र हो । बेथितीको जंगलमा डढेलो लगाउन यो काफि छ भन्ने मात्र हो । यो शुरुवातलाई निरन्तरता दिने काम र जिम्मेवारी त फेरी वर्तमान राजनीतिज्ञकै काँधमा आउँछ । 

एउटा सफा कामको थालनी भएको छ । सकारात्मक समाचारले स्थान पाएको छ । साधुवाद, विद्या ।