एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र १९, २०७६

काठमाडाैँ ।  साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो ।

बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ ।

बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ । विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो ।

एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताउनुभयो । यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ ।