फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!
चैत्र २१, २०७६

१. बालापनको कुरा हो । मात्र ९ या १० वर्षको बेला । सायद कक्षा ४ मा हुनुपर्छ या कक्षा ५ मा । गाउँमा चतुर्मासामा पुराण लगाउने चलन थियो । पुराण भन्ने पण्डित हुुनुहुन्थ्यो साम्बभक्त सुवेदी मुरारी ।

त्यो बेलाको सबैभन्दा चर्चित युवा नेता तथा सबैको प्यारो मान्छे नवराज सुवेदी । गुरु साम्बभक्त सुवेदीको दोस्रो छोरो, जसलाई लोकले माहिलो मान्यो तर उहाँ आफ्नी माता गोमाका तर्फबाट पहिलो भए पनि माहिलो छोरो । गोमाको छोरो भएकाले होला नवराज नाम राखेको किनभने स्वस्थानीमा नवराजको चर्चा आउँछ र हात्तीले माला लगाएर राजा बनाएको ।

उहाँको मावली ग्वाल्टार हो र सानामा नै उहाँकी माता स्वर्गे हुनुभएकाले मावलीमा नै बसेर हुर्किनुभएको भन्ने सुनिएको  थियो । अत्यन्त ठूला विद्वान् पण्डित साम्बभक्त गुरु ग्वाल्टारमा पुराण भन्न आउनुभएको थियो । उहाँले हामी उत्तर बाल्यावस्थाका बालकहरूलाई पढ्ने बानीको विकास गर्नुभएको थियो । उहाँ सबैसँग मिल्ने स्वभावको । हामी केटाकेटीहरू भने उहाँसँग झ्याम्मिन्थ्यौँ किनभने उहाँ कुनै लोभ नगरी पुराणमा चढाएको  नैवेद्य वा प्रसाद हातमा जे आयो, त्यही दिनुहुन्थ्यो । अझ केटाकेटीहरूलाई सिंगै फलफूल दिनुहुन्थ्यो, जुन अरु पण्डितहरूले गर्दैनथे । 

२. उहाँको ससुराली ग्वाल्टारमा भए पनि सकेसम्म ससुरालीमा बस्नु नपरोस् भन्ने गुरुको चाहना रहन्थ्यो तर मुखले भने त्यसो भनेर कसैलाई चिढ्याउने विचारमा गुरु हुनुहुन्नथ्यो भन्ने कुरा पछि उहाँसँगको लामो संतले थाहा पाइयो ।

नवराज काका हामी बालकहरूको पनि रोलमोडेल हुनुहुन्थ्यो- धेरै पढेको, राम्रो र सबैसँग हाँसेर कुरा गर्ने । हामीलाई तँ कसको छोरो भनेर सोध्दै चकलेट पनि दिने, माया पनि गर्ने । सबैको प्यारो । राम्रा लुगा लगाएको, राम्रो मान्छे अनि पढेको विद्वान् । त्यो बेलामा स्वस्थानीको नवराज जस्तै मान्थे सबैले । सबै गृहिणीहरू पनि नवराज जस्तो छोरो होस् भनेर पढ्नका लागि उत्प्रेरित गर्थे, मेरी आमाको चाहना पनि त्यस्तै  थियो- धेरै पढ्नू, नवराज बाबूू जस्तो हुनू ।

अचम्म ! ती मसँग विवाद गर्दैनथे । म नै अन्तर्द्वन्द्वमा परेको बेलामा भने ती मसँग पनि विवाद गर्थे र मलाई अन्यमनस्क बनाउँथे । आखिर ती मेरा मानस पात्रहरू भएकाले अन्त्यमा मेरा कुराहरूमा उनीहरूको समर्थन हुन्थ्यो र म ढुक्क भएर आफ्नो पक्षमा पात्रहरू पार्न पाएकाले खुसी हुन्थेँ ।

उहाँले मेरो पिताजीलाई साह्रै सम्मान गर्नुहुन्थ्यो किनभने पिताजी पनि धेरै माया गर्नुहुन्थ्यो । नाताले सानीमाको छोरो भाइ भए पनि गुरुपुत्रका रूपमा माया गर्नुहुन्थ्यो । 

३. सामान्य अक्षर चिनेकालाई समेत कथा, उपन्यास पढ्नका लागि उहाँले (गुरुले) प्रेरणा दिनुहुन्थ्यो र प्रत्येक पढन्तेलाई कल्पनाशील बनाउने खुराक उहाँ आफैँ दिनुहुन्थ्यो, भएका पुस्तकहरू पढ्न दिएर । पढ्न दिने, पढेको, नपढेको अनुगमन गर्ने अनि के कुरा कसरी बुझेको हो, भन्न लगाउने । लेख्नका लागिसमेत उत्प्रेरित गर्ने । आफैँ कविता लेखेर दिने । उहाँको संस्कृत र नेपालीमा बराबर हात चल्थ्यो । अझ संस्कृतमा सिद्धहस्त भन्थे अरू विद्वानहरू पछि पनि । 

४. सायद चतुरमासामा भनिने पुराणमा त्यस  वर्ष महाभारतको शान्तिपर्व  थियो कि जस्तो लाग्छ किनभने महाभारतको पाठ र अर्थ दुई-तीन वर्षदेखि चलेको थियो क्यारे हाम्रो गाउँमा । कहिले ज्वालाप्रसाद कोइराला घ्याम्पाका गुरुले पुराण भन्नुहुन्थ्यो, कहिले यज्ञेश्वर कोइरालाले त कहिले कुन पण्डितले । मलाई अहिले पनि याद आएको ज्वाला पण्डित बा, गुरु र यज्ञेश्वर पण्डित बा । कान्छाबा । कुलचन्द्र काका, यज्ञेश्वर काका र दिव्यदेव ठूलाबाको पुस्ताचाहिँ सायद पाँचौँ पुस्ता हो क्यारे पण्डित कोइराला परिवारको । 

५. गुरुको बानी अचम्मको थियो, पाठ गर्दागर्दै नै थाहा हुन्थ्यो कथा कस्तो छ भन्ने । गुरु हाँस्नुहुन्थ्यो, रुनुहुन्थ्यो, गम्भीर हुनुहुन्थ्यो र वरिपरि हेरेर लजाउनुहुन्थ्यो ।

त्यसले कथाको अवस्थालाई जानकारी दिएको मान्नुपर्ने हुन्थ्यो । छिटोछिटो पढ्ने भएकाले पाना त फटाफट पल्टिएको देखिन्थ्यो । साह्रै ठूलो विद्वान् भनेर भन्थे तर कुनै घमण्ड थिएन, कुनै तामस थिएन ।सधैँ हाँसिरहने, रमाइलो कुरा गरिरहनुपर्ने । जे कुराको पनि उत्तर उहाँसँग थियो भन्ने बुझिन्थ्यो ।

हाम्रो भेगका नाम चलेका विद्वानहरू पण्डित दिव्यदेव कोइराला,पण्डित कुलचन्द्र कोइराला, पण्डित यज्ञेश्वर कोइराला सबै नै उहाँका शिष्यहरू हुनुहुन्थ्यो । ती तीन भाइ नै साहिँला पण्डित हजुरबाका छोराहरू हुनुहुन्थ्यो । हाम्रा बाहरू पनि उहाँलाई गुरु नै भन्नुहुन्थ्यो । अरू सबैले उहाँलाई गुरु नै भनेर सम्बोधन गर्थे र हामी सानासाना उत्तर बाल्यावस्थाका बालकहरू पनि उहाँलाई गुरु, गुरुबा, गुरुबाजे भनेर आदरसाथ भन्थ्यौँ ।

६. यहाँ उहाँको बानी, परिवार, विद्वत्ता र क्षमताका बारेमा कुनै व्याख्या गर्न चाहेको होइन । उहाँबाट परेको  प्रभावले ममा देखिएको परिवर्तनलाई अहिले आएर मैले समीक्षा गर्न मात्र चाहेको हुँ । उहाँलाई आशुतोष भगवानसँग तुलना गर्नु मनासिब हुन्छ । नाम पनि साम्बभक्त । सबैलाई माया गर्ने । लोभ भनेको पटक्कै केही नभएको । एक प्रकारले जोगी जस्तै ।

जब रिसाउनुहुन्थ्यो, साँच्चै भगवान शिवजी जस्तै हुनुहुन्थ्यो । तर, तत्काल रिस साम्य हुन्थ्यो । उहाँ साँच्चै महादेव जस्तै वर दिन तयार हुुनुहुन्थ्यो । 

७. मलाई उहाँले कक्षा ४मा पढ्दा नै रूपमती उपन्यास पढाउनुभयो । हिन्दी पढ्न सिकाउनुभयो । हेन्री राइडर ह्यागर्डको सी उपन्यासको नेपाली अनुवाद पढाउनुभयो । त्यस्ता धेरै पुस्तक पढाउनुभयो, जुन उहाँका पुस्तकालयमा थिए । त्यसले के बानी बसायो भने एकान्तमा बसेर पढ्ने र कल्पनाशील बनाउने आफैँमा ।

हाम्रो गाउँमा त्यसबेला शौचालय भनेको खुला ठाउँमा हुन्थ्यो । यसो बाँसघारी या सेउलाले छेक्ने गरी बस्ने । पानी लिएर जानुपर्थ्यो । ब्रतबन्ध गरेकाले शौच गर्दा जनै कानमा बेेेर्नुुपर्नेे । वास्तवमा कल्पनाशील समय भनेको त्यही बेला हुन्थ्यो । राम्रोसँग लेख्न जान्ने बेला अलिक भएको थिएन तर गुरुको संंगतले पढेका कथा, कविता र उपन्यासले एउटा कल्पना यस्तो गर्ने बानी बस्यो कि जेमा पनि एउटा नायक हुने भयो, नायिका हुने भई र आफूलाई केन्द्रमा राखेर कथा  तयार हुन्थ्यो एकछिनमा अनि एकछिनमा नै बिर्सने पनि । एकछिनअघि केके कल्पना गरिएको थियो, त्यो बडो मुस्किलले मात्र केही क्षणपछि सम्झने गरिन्थ्यो ।

अहिले पनि बाटामा हिँड्दा या यातायातका साधनमा बस्दा जुन कल्पना गरिएको हुन्छ, कथाको, कविताको, ती एकछिनमा कता पर्छन् कता । झन् त्यो बेलामा त कुनै स्थिर तर्क पनि थिएन र तर्कका लागि कुनै आधार पनि थिएन तर पनि गुरुले दिएका पुस्तक र मानवीय स्वभावमा देखिने विभिन्न कल्पनाले भने बाटो देखाउन थालेका थिए । त्यस्तो बेलामा एक्लै बस्न मनपराइने रहेछ किनभने कल्पनामा कतैबाट भाँजो नपरोस् भनेर ।

८. महाभारतको कथा सायद बिहानको पुराणमा सुनिन्थ्यो झलाकझुलुक । कहिले त पलेँटी मारेर सुनिन्थ्यो कथा । कथाका पात्र हुन्थे युधिष्ठिर, भीम, अर्जुन, दुर्योधन, शकुनि, धृतराष्ट्र, गान्धारी आदि । पात्र वीर र सहनशील हुन्थे कुनै । कुनै दम्भी र घमण्डी हुन्थे । गुरुको भनाइले नै कुन पात्रलाई सम्मान गर्नुपर्ने या तिरस्कार गर्नुपर्ने थाहा हुन्थ्यो । व्यास, कृष्ण र विदुरप्रति भने गुरुको सम्मान आवाजले नै देखाउँथ्यो । उदारहणले यसरी कथाको अर्थ लगाउनुहुन्थ्यो कि कथा सुन्नेहरूमा कुनै हल्लाखल्ला हुँदैनथ्यो । अनि मलाई पनि कथा, लामो कथा, कहिल्यै समाप्त नहुने कथाको थालनी गर्न मन लाग्थ्यो । 

९. एक दिन मैले पनि एउटा लामो कथाको सुरुवात गरेँ आफैँमा । एक्लै भएको बेलामा मेरो कल्पनाशीलता बढ्न थाल्यो । त्यो कल्पनाशीलता राती डिब्बी निभाएपछि पनि आउन थाल्यो । मेरो कल्पनाको लामो कथामा एउटा सम्भ्रान्त परिवार देखियो । छोराहरूको नाम पनि नवराज, गण्डकराज र सरलराज राखेँ । थर त मैले राखिनँ तर ती शर्मा थिए भन्नेचाहिँ अहिले पनि सम्झन्छु किनभने ती ब्राह्मण थिए । अनि छोरीको नाम मैले नै सरला राखेँ । साह्रै नै राम्री । सबै दाजुभाइले माया गर्ने । जेठो विद्वान् थियो, माहिलो बलियो थियो, जोसँग पनि झगडा गर्न सक्ने, भीम जस्तै । मेरो भाइ पनि माहिलो बलियो थियो । सबैलाई माया गर्थ्यो । अनि महाभारतको कुन्तीका छोरा जस्तै ती पात्रहरू मेरा कल्पनामा आए । 

१०. मैले किन थर दिइनँ भने कुनै पनि बेला ती मेरा पात्रहरूको विवाह गर्नुपर्ने हुन्छ, कुन थरका मानिसहरूले छोरी दिने हुन्, त्यो त मलाई पनि थाहा थिएन ।

सरलाको कोसँग प्रेम हुने हो कि विवाह हुने हो, मैले सुरुमा नै केही भन्न सक्दिनथेँ । त्यसैले म यसबारेमा नवराजको विचारलाई महत्त्व दिन्थेँ अनि नवराजको पनि त कोसँग विवाह हुने हो, गण्डकले कसलाई पिट्ने हो कतिबेर, मलाई नै थाहा थिएन मेरो कल्पनामा पनि ।अनि सरलालाई म आफैैँ पनि विस्तारै माया गर्न थालेको थिएँ, मेरी कल्पनाका पात्रासँग म नै प्रेम गर्न थालेको थिएँ । अनि त्यो परिवार अधिकारी हुनै सक्दैनथ्यो, काश्यप गोत्री हुनै सक्दैनथ्यो । 

११. म कति संकीर्ण भएको थिएँ मेरो कल्पनामा पनि । तर, तिनै पात्रहरूका गफमा म मग्न हुन्थेँ । कतिसम्म भने, म धाराप्रवाह लेख्न जान्दैनथेँ । तर, कल्पनामा त मलाई कुनै बाधा थिएन । मसँग भएका शब्दभण्डारसँग खेल्न म स्वतन्त्र थिएँ । बोलेर कुनै पनि कुरा जाहेर गरिएन, मनमनै मात्र हो कल्पनाशीलता  पनि ।

फेरि त्यो बेलामा त कुनै संसारको बोध नै थिएन, आफ्नो परिवेशबाहेक । आफ्नो गाउँ ठाउँ, मावली गाउँ रामेछापको पगरबास र पगरबास आउँदा जाँदा पर्ने खुर्कोट, हैबार, बलिनी, देउरालीटार, ब्यानी घाट, सान्ने, पार्चन डाँडो र पगरबासको ढुंंगेल गाउँ अनि पसल जाँदा वा पानी पँधेरोमा जाँदा फुल्पा । पसलसम्मको फुल्पा ।

१२. अनि मेरो क्षमताले बुझेको कथा, उपन्यास र कविताका भरमा मैले एकान्तमा कथा खेल्थेँ । नाटक खेल्थेँ । कविता बोल्थेँ तर एकान्तमा मात्र । बडो रुचिका साथ । एकान्तमा भनेको कुरामा कोही पनि साक्षी पनि नहुने । राम्रो वा नराम्रोको पनि कसैले टिप्पणी नगर्ने । मनमौजी ताल ।

उत्तर बाल्यावस्था भनेको सामान्य यौन चेतनाचाहिँ सुरु भएको तर आद्योपान्त जानकारी नभएकाले अल्पज्ञानको अतिज्ञान हुन्थ्यो जस्तो लाग्यो अहिले । सामान्यतया मेरो कुराको जानकारी दिए भाइ विष्णुलाई सम्म दिन सकिन्थ्यो तर उसले पुस्तक पढ्न थालेको थिएन । मैले भनेको मात्र सुनेर ऊ पनि कुराचाहिँ गर्थ्यो । सायद ऊ पनि मेरै उमेरको भएकाले कल्पनामा पक्कै थियो होला । विष्णु भनेको मेरो समवयी भाइ, विष्णुप्रसाद अधिकारी । कान्छा बाको छोरो तर मेरो प्यारो साथी, आजसम्म पनि ।

१३. सरलालाई कसैले जिस्क्याएमा गण्डकले झापु हान्थ्यो र मलाई  नै भन्थ्यो उसलाई पिटेँ भनेर- मेरो कल्पनामा । सरला लाजले रातीपिरी हुन्थी । मेरा कल्पनामा द्रौपदीका बारेमा सुनेका कुरा र भीमको क्षमतालाई गण्डकमा समाहित गराउन चाहन्थेँ सायद । युधिष्ठिरको स्थिरता नवराजमा म समावेश गर्न चाहन्थेँ र अर्जुनको क्षमता सरलमा देखाउन चाहन्थेँ शूरता, वीरता र सुझबुझका लागि । अनि म नि ? कृष्णको भूमिकामा ?

सायद म नदेखिएरै सबै कुराको समीक्षा र अनुगमन गरिरहेको थिएँ सपनामा झैँ । सपनामा त आफूले नै सबै कुराको अनुगमन गरेको हुन्छ प्राणीले र आफू मरेको समेत आफैँले देखिरहेको हुन्छ । लोकको भनाइका आधारमा स्वर्ग र नर्क पनि देखिन्छ । ठीक त्यस्तै पात्रहरू मेरा सिर्जना भएकाले मसँगै हुनु स्वाभाविक थियो र त्यस्तै पनि भएको थियो । 

१४. जेजे नयाँ कुरा म सुन्थेँ, पढ्थेँ ती सबै कुरामा म अन्तर्क्रिया गर्थें मेरा ती कल्पनाका पात्रहरूसँग । तिनले मसँग संंवाद गर्थे, म मात्र सुन्थेँ र म त्यो कुरालाई ठीक वा बेठीक भनेर भन्थेँ पनि  । तर, अचम्म ! ती मसँग विवाद गर्दैनथे । म नै अन्तर्द्वन्द्वमा परेको बेलामा भने ती मसँग पनि विवाद गर्थे र मलाई अन्यमनस्क बनाउँथे । आखिर ती मेरा मानस पात्रहरू भएकाले अन्त्यमा मेरा कुराहरूमा उनीहरूको समर्थन हुन्थ्यो र म ढुक्क भएर आफ्नो पक्षमा पात्रहरू पार्न पाएकाले खुसी हुन्थेँ । म ठूलो हुँदै गएँ र मेरा पात्रहरू पनि विस्तारै परिपक्व हुँदै गए । म पनि परिपक्व हुने अनि मेरा पात्रहरू कमजोर हुने हुनै सक्दैनथ्यो ।

क्रमश:


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।