जन्म र मृत्यु जस्तै दुःख पनि जीवनको अर्को कठोर वास्तविक अन्तिम सत्य

जन्म र मृत्यु  जस्तै  दुःख पनि  जीवनको अर्को कठोर वास्तविक अन्तिम सत्य

पर्वत भट्टराई  |  दृष्टिकोण  |  चैत्र २१, २०७६

शरीर,मन, चित्त र आत्मालाई आनन्द नलाग्ने वा प्रसन्न नहुने सबै कुरा दुःख हुन्। खुसी,मनोरञ्जन उल्लास, प्रफुल्लता र प्रसन्नताको अनुभूति नदिने सबै कुरा दुःखमा पर्दछन्। मानिस र सम्पूर्ण प्राणी जगत् यस्ता कुराको अनुभूतिबाट जब वञ्चित हुन्छ त्यो सबै दुःख हो।

तिमीलाई हरेक क्षण सुखसँग भेट नभए पछि दुःख अवश्य  हुन्छ। घरमा बस्दा, काममा जाँदा, यात्रामा निक्लँदा, एक्लै बस्दा र साथीहरूको जमातमा जाँदा कहीँ पनि भने जस्तो सुख मिल्दैन। यसरी सुख नमिलेका हरेक क्षणले तिमीलाई रात दिन गिजोलेर दुःख मात्र दिई रहेका हुन्छ। हजार कोसिस गर सुख र खुसी तिम्रो नजिकबाट भागी रहन्छ। दुःख र पीडाले तिमीलाई पछाडिबाट लखेटी रहेको हुन्छ। यो लखेटालखेट मै तिम्रो जिन्दगी बित्छ तर दुःखले कदापि छाड्दैन। सुखलाई भेट्न र दुःखसँग भाग्न खोज्दा यो जुनी त के हजार जुनी जाला तर दुःखले छाड्दैन।

कसैले नराम्रो भनोस्, सोचे अनुसार काम नहोस्, कसैले गाली गरोस् र अलिकति केही तलमाथि होस् तिमीलाई दुःख भई हाल्छ। दुःखको अनन्त शृङ्खला यो दुनियाँमा चलिरहेको छ। तिमी सुखका लागि कति स्वार्थी छौ भने हजार गुन लगाएको मानिसबाट केही तलमाथि भई हाल्यो भने तुरुन्तै दुखी भई हाल्छौ। राम्रो सपना देखे पछि लाग्छ कि बरु उही सपनामै रही रहुँ। बिपनामा त दुःख देख्नु परिहाल्छ। तिमीलाई यसरी कहाँ सुख मिल्दछ। मानिसका वा अन्य प्राणीका दुःखहरू अनन्त छन्। अभाव, अज्ञानता, आशक्ति, इच्छा, कामना, भावना र आवश्यकता पूरा नभए पछि मानिस दुखी भई हाल्छ। दुःखको शृङ्खला यति लामो र भयावह छ कि मलाइ दुःख छ भनेर हिँड्यो भने त सुख कहिल्यै पाइने छैन।

पाइला पाइलामा दुःख छ। क्षण क्षणमा दुःख छ। जन्मिँदै रुनु पर्छ, हाँस्नु त निकै पछिको कुरा हो। महायुद्ध, महामारी, भोकमरी र प्राकृतिक प्रकोपको दुःखहरू त छँदै छन्। तिम्रो एक थान शरीर र मनका दुःखहरू त कति धेरै होलान्। महाभारतको युद्धदेखि दोस्रो विश्व युद्धसम्म, शीतयुद्ध पछिको विश्व तनावसम्म, स्पेनिस फ्लुदेखि अहिलेको कोरोना भाइरससम्म यी सबै दुःख त तिमीले भोगी सक्यौ र भोगी रहेका छौँ। 

प्राचीन शास्त्रहरूमा भनिएको छ  'कुनै इच्छा, भावुकता र आकाङ्क्षा नराख किनकि ती सबै दुःखका कारण बन्दछन्। त्यस्ता भावना राख्छौ भने पनि पूरा गर्ने कोसिस गरेर हेर कतै आधा अधुरा भए पनि पूरा हुन सक्छन्। तिमी कुनै निवेदन नहाली जन्मन्छौं  र कसैको तोक आदेश बिना नचाहँदा नचाहँदै मृत्युलाई अङ्गाल्न बाध्य हुन्छौ। एउटा सित्तैमा पाएको अमूल्य जीवन दुःखै दुःखको महासागरमा बिताउँछौ। सबभन्दा बढी दुःख त तिमी यसरी पाउँछौ कि सुख किन पाइएन भन्ने चिन्ताले दुखित भई रहन्छौ। वास्तविकताको एउटा रातले बाह्र घण्टा बिताउँदा नबिताउँदै भ्रमहरूको अर्को दिनले बाह्र घण्टामा पूरा पृथ्वी घुमिसकेको हुन्छ। अनि के गर्नु दुःख त भई हाल्छ नि। यस्तो कटु सत्यलाई नमाने पछि दुःख नभए के हुन्छ।अब्राहम लिङ्कनले भनेकै थिए नि 'हे ईश्वर दुःखीको घरमा मात्र तेरो बास हुने भए दया राखी अझ मलाइ दुःख दे'। दुःख र जीवन एउटै सिक्काका दुई पाटा हुन्। एकतिर पल्टाऊ जीवन छ, अर्को तिर पल्टाऊ दुःख छ। एउटा भनाइ छ 'जब  तिमी सुखको प्रतीक्षामा थियौ तब उ आएको थिएन, जब ऊ तिम्रै अङ्गालोमा बेरिएर आयो त्यो बेला  तिमी ऊसँग भाउ खोजेर रिसाइ सकेको थियौ। 

 
बुद्धले भनेका थिए 'सर्व दुःख्खम् दुःख्खम्'। सन्सारमा सर्वत्र दुःख नै दुःख छ। हरेक मानिसको जीवन दुःखले भरिएको हुन्छ। मार्क्सले सर्वहारा श्रमजीवीहरू शोषणको दुःखमा हुन्छन् भनेका थिए। मानिसको सोच्ने क्षमताको विकास भएदेखि नै दुःख कसरी हटाउन सकिन्छ भनेर लाखौँ वर्षहरू बितेर गए तर मानिस अझै पनि दुःखमा छ। जति समय र साधनहरूको खर्च दुःख हटाउने भनेर गरिएको छ त्यति नै बढी दुःख तिमीले आज पनि भोगी रहेका छौ।

पूर्वीय र पश्चिमा दर्शनहरूले मानिसका दुःखहरूको विश्लेषण गर्दै कसरी त्यसबाट मुक्ति पाउने भनेर अनेक विचारहरू ल्याएका छन् र दुःख हटाउने बाटो पनि देखाएका छन्। तर दुःख मानिसको आफ्नै छायाझैँ सँगसँगै हिँडि रहेको छ। धेरैलाई गरिबी र अभावको दुःख छ। धन सम्पत्ति नभएकोमा दुःख छ। शारीरिक र मानसिक सुख नमिलेकोमा दुःख छ। आफूले चाहेको कुरा नपाएकोमा दुःख छ। मनमा शान्ति नमिलेकोमा दुःख छ। आफ्ना इच्छा, आशा र आकाङ्क्षाहरू पूरा नभएकोमा दुःख छ। मनका अनेक आवेगहरू पूरा नभएकोमा दुःख छ। तिमीलाई अहिले, आजै, भोलि, केही समय पछि र त्यो पनि नभए अर्को जन्ममा भए पनि सुख चाहिएको छ। यही सुखको चाहनाले अर्को जन्मको परिकल्पना गरिएको हुनसक्छ। जन्म लिनु दुःख छ, जन्माउन झन् दुःख छ र जन्मे पछि यो दुनियाँमा टिक्न अझ बढी दुःख छ। 

बुद्धले दुःखको सिद्धान्तहरू नभएको कुनै पनि चिन्तनलाई दार्शनिक महत्त्व दिएका थिएनन्। उनले  भिक्षु र चेलाहरूलाई विशेष गरी दुई कुरा सिकाएका थिए। दुःख र दुःख निवारणको उपाय । त्यस्ता उपाय तीन वटा थिए। शील, समाधि र प्रज्ञा। मार्क्सले दुःखलाई शोषणको रूपमा लिएका थिए र त्यसलाई बदल्न द्धन्दात्मक भौतिकवादको विचारद्वारा दुःखीहरू नै विद्रोहमा जानु पर्छ भनेका थिए। अध्यात्मवादीहरूले प्रकृति र जीव ईश्वरको सृष्टि भएकोले दुःख र सुख उनै ईश्वरको हातमा हुन्छ भनेका थिए। अर्को थरीले असल कर्मले सुख र खराब कर्मले दुःख हुन्छ भनेका थिए। 

मनका कैयों प्रकट अप्रकट इच्छाहरू पूरा नभएर पाइने दुःखको महामारी त कोरोना भाइरसभन्दा बढी खतरनाक हुन्छ। त्यस्ता दुःखहरूको बेली बिस्तार गरेर के साध्य होला। मन नपरेका र चित्त नबुझेका दुःखले तिमीलाई हरेक क्षण तनाव दिई रहन्छन्। तिमी अरूसँग रिसाउँछौ उसका कारणले मैले दुःख पाएँ भनेर अनि ऊ रिसाउँछ तिम्रै कारणले दुःख पाएँ भनेर। आखिर कस्का कारणले कसले दुःख पाएको हो भनेर भन्नै सकिन्न। अलिकति चित्त नबुझ्दैमा सजिलै तिमी अरूलाई भनिदिन्छौ कि  'तिमी कस्तो रिसाहा र सन्काहा रहेछौ, तिमीले त मलाई सारै दुःख दियौ ।' यति  भनेर उसलाई ढाड फर्काइ दिन्छौ। अनि घण्टौँ तिमी ऊसँग नबोली बस्छौ। यसो गर्दा तिमीलाई जस्तै उसलाई पनि त दुःख लाग्छ नि !

कुवेरलाई धनको दुःख, रावणलाई सीता नपाएको दुःख, दुर्योधनलाई मान सम्मान भए पनि राज्यसत्ताको दुःख, क्लियोपेट्रालाई विश्वकै धनी र सुन्दरी भए पनि सत्ता र भोगको दुःख, बुद्धलाई ज्ञान र शान्तिको दुःख, सिकन्दरलाई विश्वको राज गुमाउनु पर्ला भन्ने दुःख, हिट्लर र मुसोलिनीलाई विश्वयुद्ध हारेको दुःख, पुँजीपति एङ्गेल्सलाई सर्वहारालाई गरिएको शोषणप्रतिको दुःख, हेलेन केलरलाई बिरामीको उपचार प्रतिको दुःख र मदर टेरेसालाई दुःखी र असहायहरूको अवस्थाप्रति दुःख थियो। यसरी हेर्ने हो भने दुःख कसलाई पो थिएन र !


 
भनिन्छ, दुःख एउटा स्थायी भाव हो। जबसम्म तिम्रो मनमा सुख, शान्ति र आनन्ददायक रसको भाव पैदा हुँदैन तबसम्म तिमीले दुःख बाहेक केही पाउँदैनौ। सम्पूर्ण रूपमा शारीरिक र मानसिक दुःखहरूलाई निर्मूल गर्नु छ भने आफ्ना आग्रहहरू त्यागेर अरूको आग्रहहरूको सम्मान गर्न सिक्नु पर्दछ। तब मात्र दुःखलाई सिरानी हालेर सुत्नु पर्ने छैन। जसरी जन्म र मृत्यु अन्तिम सत्य हो त्यसै गरी दुःख पनि अर्को कठोर वास्तविक सत्य हो। सुख र खुसीहरू त क्षितिज नजिकै देखा पर्ने इन्द्रेणीका लहरहरू जस्तै केही पलको लागि देखा पर्छन् र हराएर गई हाल्छन्। त्यो इन्द्रेणीलाई पनि  हेर्दैनौ भने सित्तैमा पाएको खुसी पनि तिमीबाट सधैँको लागि हराएर जान्छ। 

ओशोले भनेका थिए 'तिमीले कुनै फल खाने इच्छा प्रकट गरे पछि कसैले त्यसलाई टिपेर ल्याइदिन्छ भने तिमी उसलाई धन्यवाद दिँदै त्यो फल ग्रहण गर। यदि त्यसलाई बेवास्ता गर्‍यौ भने तिमीलाई दुःख अवश्य हुन्छ र फल टिप्नेलाई त झन् दुःख हुन्छ। यही कुरा तिम्रो जीवनको अनि दुःखको अन्तिम र वास्तविक सत्य हो ।'