महासङ्घको विज्ञप्तिप्रति सल्लाहकार थापाको आपत्ति

महासङ्घको विज्ञप्तिप्रति  सल्लाहकार थापाको आपत्ति

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र २१, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउनुभएको छ ।

सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै भएको हुँदा प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा सरोकार नै नभएका व्यक्तिलाई जबर्जस्ती र तथ्यहीन ढङ्गले तान्ने र बदनाम गर्ने षड्यन्त्र, उपक्रम र रवैया खेदजनक भएको पनि जनाउनुभएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै थापाले उक्त विज्ञप्ति सरासर झुट, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीको सचिवालय वा सरकारलाई दोष लगाउने गरी गर्न खोजिएको प्रोपोगण्डालाई खारेज गर्नुपर्ने उहाँको भनाइ छ ।

 'षड्यन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? क–कसले यसमा लगानी गरेका छन् ? क–कसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्छौँ”, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरूसमेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ, हामीलाई षड्यन्त्रकारीजस्तै यस्ता हर्कतको पछाडि लाग्ने कुनै फुर्सद छैन, बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौँ ।”

    महासङ्घले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भन्नेमा कुनै सत्यता नभएको, बरू त्यो अत्यन्त हाँस्यास्पद र गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो । पत्रकारको छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नाङ्गो दुरूपयोग भएको थापाको तर्क छ ।

   'काठमाडौँ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्मासँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्' , थापाको विज्ञप्तिमा भनिएको छ, 'अझ राज्य सञ्चालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर सम्प्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ, मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ, बरू यस षड्यन्त्रमा संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो ।' भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि आफूले नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासामा विश्वकर्माले कसरी हट्यो बुझ्दैछु भन्नुभएका थापाले उल्लेख गर्नुभएको छ ।

'श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौँ ? यसको प्रमाण प्रस्तुत गरौँ । अन्यथा छायाँयुद्धको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौँ', थापाले भन्नुभएको छ .

   पत्रकार महासङ्घ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र सङ्गठन नभएको उल्लेख गर्दै थापाको अपिलमा भनिएको छ, 'त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ, आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको सङ्घर्षमा कम योगदान गरेका छैनौँ, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन ।'