चार मुक्तक

चार मुक्तक

देवेन्द्र केसी 'देवु'  |  साहित्य  |  चैत्र २२, २०७६

कोरोना कहरले कुनै मान्छे अछुतो रहेन
थुपार्न सकिनछु भन्ने केही पछुतो रहेन
पस्यो अमीर, गरिब सबैसबैका मनमा
चुँडिएपछि तार भविष्य वा भुतो रहेन ।

याद त आउँदो हो नि हजुर ! दिनमा पनि रातमा पनि
माया त लाउँदो हो नि हुँदा दूरीमा पनि साथमा पनि
कोरोना कहरले त गर्नुसम्म गर्‍यो बाँच्नै धौधौ पार्‍यो
तिर्खा त लाग्दो हो नि खडेरीमा पनि बर्षातमा पनि ।

अदृश्य भाइरसबाट सिंगो विश्व त्रसित छ आज
मान्छेबाट मान्छे तर्सिने भावना ग्रसित छ आज
बाँच्नुको आसमा कहिले टाढिन्छ, कहिले नजिकिन्छ मान्छे
संसारकै सर्वश्रेष्ठ प्राणी थकित थकित छ आज ।

कोरोना कहरमा पनि किन मान्छेविरुद्ध लाग्दै छ मान्छे
जिन्दगीको कुनै भर हुँदैन आफेैँबाट टाढा भाग्दै छ मान्छे
जित्छु सबथोक भन्ने मृगतृष्णामा हारिरहेछ हरपल कठै !
आफ्नै ठेगान छैन अर्काको गाथ गद्दी ताक्दै छ मान्छे ।