‘एकान्तवास’ को वास्तविक बोधः फुर्सद वरदान र साधना गर्ने सुअवसर हो कि स्वतन्त्रताको आलाप ?!

‘एकान्तवास’ को वास्तविक बोधः फुर्सद वरदान र साधना गर्ने सुअवसर हो कि  स्वतन्त्रताको आलाप ?!

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  चैत्र २३, २०७६

मानिसको स्वभाव चञ्चल हुन्छ । ऊ व्यस्त रहन चाहन्छ । व्यस्त हुँदा पनि चिन्ता गर्छ अनि फुर्सदमा पनि चिन्ता लिने मानवीय स्वभाव हुन्छ । एकान्तवासपूर्व मानिसहरूमा सधैँ जसो व्यस्त नै थियो । अधैर्यताका कारण तनावको ज्वाला उठ्थ्यो जुन कुरा अफिसदेखि घरसम्म बोकेर ल्याउँथ्यो अनि घरलाई समेत अशान्तै बनाउँथ्यो । तर, यो सङ्कट त अवश्य सुधार हुने नै छ, हुन्छ पनि र हुनुपर्छ नै । सबैजसोलाई थाहा छ यो केवल मानिसका कारणले नियन्त्रण हुन्छ र मानिसकै कारणले बढ्छ पनि । अनुशासनको दायराभित्र रहने एउटै नियमका सारभित्र । 

सायद यो संसारको आजको परिस्थिति सुधार भएपछि मानिसले हिजोकै जसरी उही अशान्तिलाई दिमागमा बोझिलो बनाएर बोक्न बाध्य छ  मानिस । सायद उसै गरी यान्त्रिक जीवनको दलदलमा भासिनेछ । सायद उसै गरी भ्रष्टाचार, अत्याचार, लुट, कचिङ्गल गरिरहनेछ । विशेष गरेर मानिसले समस्याको समाधान खोज्नलाई भन्दा तनावलाई बोक्ने अभ्यास गर्छ । काम गर्ने स्थानका पीडालाई बोकेर पारिवारिक सद्भावमा ह्रास तुल्याउँछ । तब मानिसले एउटा चिन्ताले अर्को चिन्तालाई जन्माउँछ । अनि, सम्पर्कमा रहेकालाई पनि अशान्त तुल्याउँछ । यसर्थ संसार यही वास्तविकताभित्र व्यस्ततामा त झनै चिन्तैमा रहन्छ । 

ठुला–ठुला प्रगतिको दम्भ गर्नेहरू पनि आज प्रगति गर्न नसकेर चिन्तित छन् । विश्व महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण संसारका करिब साढे सात अरब मानिसमध्ये करिब चार अरब मानिस एकान्तवासीमा बस्न बाध्य  छन् । आखिर चिन्ताले, व्यथाले, समस्याले अर्थात् सुख, आनन्द, खुसीले पनि धनलाई, भौतिक सम्पन्नतालाई छोडेर केवल मानिसलाई प्रभावित पार्ने रहेछ । सायद मानवीय गुणको स्वभाव चिन्ता होइन चिन्तन हो । किनकि, चिन्ताले चिताको बाटोतिर धकेल्छ अनि चिन्तनले ज्ञानलाई बढाउँछ ।  

विद्वता वर्गहरू, सिर्जनामा रम्न चाहनेहरू, साहित्यका पारखीहरू अध्ययन तथा लेखनमा व्यस्त रहेका होलान् । धेरैलाई त यो फुर्सद वरदान नै हो । मानौँ यो साधना गर्ने सुअवसर हो । सृजनशीलताका लागि, अलिकति व्यवस्थित रहन सक्नेका लागि यो समस्या होइन अवसर साबित हुँदो हो । अप्ठ्यारामा हुनेका लागि अभिशाप पनि । अर्थात्, विपन्नका आर्तनाद र आलापलाई बिर्सन मिल्दैन । अनेकौँ हन्डर बेहोर्दै सीमा क्षेत्रमा आइपुगेर मातृभूमिको सुगन्ध लिन चाहँदा भारतीय भूमिमै बस्नुपर्ने विवश नेपालीदेखि परदेशको एउटा ठुलो बिल्डिङमा हरियो वस्तु देख्न त परै जाओस्, बिहान बेलुका के खाने भन्ने चिन्ताले सताइएका लाखौँ नेपालीका दर्द हृदय विदारक त छँदै छ  । जसले काम नगरेको समयमा तलबै खान पाएका छैनन् । यस परिस्थितिमा त मानिस व्यस्तता हुँदा नै खुसी हुन्छ । अनि, दूतावासहरूले तिनको दर्दलाई सम्बोधन गर्छ कि गर्दैन– त्यो विषय अर्को हो ।

अन्ततः संसारलाई कोरोना भाइरसले हाम्रा पूर्वजले सिकाएका संस्कृतिभित्रको यथार्थताको पाठ पढ्न पनि प्रेरित नगरेको होइन । मानिसलाई आफ्नो प्राकृतिक धरातल खोज्न सिकाएको पनि हो । अर्थात् अनुशासनको दायरालाई कायम राख्न सिकाएको हो । सहरिया कोलाहल, भिडभाड होइन शान्त, सुरम्य र सभ्य स्वस्थ जीवन जिउने मानवीय आधार भूमिलाई दर्साएको हो । त्यस अर्थमा त संसारलाई एउटै सन्देश दिएको हो भन्न सकिन्छ ।

 

वास्तवमा देहान्तभन्दा एकान्त उत्तम हो । कुरा, फुर्सद धेरै हुँदा चिन्तित हुनेका लागि हो । हामी त अरू बेलाको बन्द जसरी साँझ परेपछि भीड लागेर टहलिन निस्कन्छौँ । के कोरोना विषाणुले साँझमा सर्दिन भनेको हो र ! 

हाम्रा पूर्वजले एकान्तको मूल्यलाई आफूलाई आफैले चिन्नका लागि भनेर अपनाए । हामी आज यान्त्रिक जीवनमा हर क्षण कल्पनाको एउटा संसार बनाएर तड्पिरहन्छौँ । चिन्ता गर्छौँ । एक त वसन्त ऋतुको सुरम्यतासँगै नयाँ वर्ष २०७७ सालको स्वागतद्वारामा हामी छौँ । अर्को अर्थमा घर–परिवारसँगको सामीप्ययताको अवसर पाउनेका लागि एकान्तवास सृजनशील समय हो । सायद एकान्तवासीपश्चात् थुप्रै लेखकीय कृति प्रकाशनको सम्भावना रहला, धेरैका सृजनशील विचार बजारमा आउलान् पनि । अर्कातिर खायो, बस्यो, उठ्यो, सुत्यो, सामाजिक सञ्जाल हेर्‍यो, फेरि सुत्यो अनि उठ्यो मात्र गर्नेको समय कृत्रिम र निर्देशित बन्ला । मानौँ यान्त्रिक । घडीको सुईजस्तो मात्र । या त सामाजिक सञ्जालतिर भ्याइनभ्याइ रहँदा जन्मने सिर्जना अर्थात् समय बिताउने शैलीभित्र हामी धेरै जसो व्यस्त हुने रहेछौँ । समय त आखिर समय नै हो तर समयभित्र सृजनशीलता खोज्न र खोजाउन नसक्दा हामी फुर्सदलाई दिक्दार मान्ने रहेछौँ । बेकारमा बिताउने रहेछौँ क्यार ।

के मान्छे फुर्सद भएका कारणले दुःख मान्दै छ ? ठुला–ठुला आविष्कारक, दार्शनिक, ऋषि, महन्तले आखिर एकान्तवासीमा बसेर सिद्धहस्तता कायम गर्ने रहेछन् । हाम्रो भूमि नै मानौँ एकान्तवासप्रेमी थियो । प्रकृति प्रदत्त थियो । ज्ञानको विकास सायद एकान्तभित्रै सम्भव देखेर पनि हुनुपर्छ । यसर्थ एकान्तवास पट्यारलाग्दो होइन रहरलाग्दो पनि त हुनसक्छ ।

त्यसो भए मानिसको चाहना व्यस्तता हो कि फुर्सदमा रहने हो त ? मानिस व्यस्त हुँदा फुर्सद भएन भन्छ अनि फुर्सद हुँदा व्यस्ततालाई उचित ठान्छ । फुर्सदलाई शून्य समय मान्छ । कर्मशील हुन पनि चाहन्छ तर जब व्यस्त हुन्छ तब चिन्ताको रागलाई बोकेर रातो दिन तड्पिन्छ । त्यसो हो भने मानिसको चाहना के हो ? 

मानिसले खोजेको कुरा वास्तवमा ‘स्वतन्त्रता’ नै हो । मानिस पिँजडाभित्र बसेर पनि आफ्नो चाहनाभन्दा पर बन्धित हुन्छ भने तब बेखुसी हुने गर्छ । त्यसो हो भने मानिसलाई काम नपाएकाले चिन्ता भएको होइन । स्वतन्त्रताको अभाव भएको रहेछ । स्वतन्त्रतालाई खोस्ने उसको चाहना रहेछ । उसको चाहनालाई संसारले बनाइदिएको नियमले निर्देशित गर्ने रहेछ । त्यसैले यो संसारमा मानिसले नै पैसा छाप्छ, मानिस नै धनी र गरिब बन्छ । गरिबी पनि बुद्धिमान भनिएको मानिसकै व्यवस्थाभित्रको सबैभन्दा ठुलो मूर्ख पद्धति हो । किनकि, यो प्रकृतिले कसैलाई गरिब बनाएर जन्माउँदैन । सबैलाई पुग्ने अन्न, पानी, फलफूल उब्जाएको छ । शक्तिशाली भनाउँदाले अमानवीय हर्कत जमाउने सोचका कारण संसारमा यो विभेदै विभेदको महा भयङ्कर विषाणु व्याप्त छ र वर्षौँदेखि यो चलिरहेको छ । असमान वितरणमा धर्तीलाई कब्जामा लिएर क्षमताको दुरुपयोग गरेकाले एउटा मानिसले अर्को मानिसलाई मानिसको व्यवहार गर्दैन । स्वार्थी बन्ने अभ्यास गरिरहन्छ । 

हाम्रो प्रकृति सुखको खोजीमा हरपल चिन्तित हुने रहेछ अनि सुखको परिभाषा दुनियाँले बनाइदिएको व्यवस्था र भौतिक उन्नतितिरको भएछ । 

वास्तवमा दुनियाँको सुखको परिभाषाभित्र गाँसिएको भौतिक आल्हाद त सधैँ वास्तविकताभन्दा टाढा हुने रहेछ । त्यसैले धनी मानिस पनि दुःखी हुने रहेछन् । सुनको ओछ्यानमा सुत्ने, सुनकै रिकापीमा भोजन ज्युनार गर्नेलाई पनि अशान्तिको ज्वालाले प्रहार गर्ने रहेछ । तब मानिसले शान्तिको खोजीमा बुद्धलाई सम्झने रहेछ । शान्तिका लागि आध्यात्मिक मार्गतिरको बाटोलाई उत्तम विकल्प मान्ने रहेछ । तर, आध्यात्मिक मार्गहरूले पनि आफ्ना नियम–विनियमभित्र धकेल्दा यथार्थभन्दा कसैले कल्पना, कसैले शारीरिक कुरा, कसैले भित्री कुरा गरे पनि चाहनाकै र असन्तुष्ट मनको तर्कनालाई एक छिन भुल्याउने उपायसँग कतै न कतै मानिसलाई एकाङ्गी र एकाङ्गी सोचको कोठरीमा हालिदिने रहेछ । तर, वास्तवमा मानिसको चाहना के हो ? 

मानिस चाहनाका अनगिन्ती पोकालाई भिरेर असन्तुष्ट हुने रहेछ । जे छ त्यसलाई कहिल्यै स्वीकार गर्दैन । त्यसको मजा लिँदैन । जे छैन त्यसमा अर्काको हेरेर चाहनाका चाङ बनाउँछ अनि मानिस स्वार्थी हुन्छ । तब मानिस संसारकै सबैभन्दा दुःखी प्राणी साबित हुन्छ । 

अर्कोको सिको गर्ने चाहना नै सबैभन्दा बढी दुःखी बनाउने कारण रहेछ । तब तिनै चाहनाको परिपूर्ति गर्न भन्दै मानिस रातो दिन चिन्तामा हुन्छ । अनि मानिसलाई चाहिन्छः सम्मान । मानिस सम्मानको र सम्पत्तिको लक्ष्य बोकेर श्रम त गर्छ तर सधैँ अशान्त हुन्छ । तर, मानिसले चाहेको खण्डमा यो धर्ती त हरपल स्वर्ग रहेछ अनि यहाँका हरेक मानिस देवता पनि बन्न सक्ने रहेछन् । 

अन्ततः संसारलाई कोरोना भाइरसले हाम्रा पूर्वजले सिकाएका संस्कृतिभित्रको यथार्थताको पाठ पढ्न पनि प्रेरित नगरेको होइन । मानिसलाई आफ्नो प्राकृतिक धरातल खोज्न सिकाएको पनि हो । अर्थात् अनुशासनको दायरालाई कायम राख्न सिकाएको हो । सहरिया कोलाहल, भिडभाड होइन शान्त, सुरम्य र सभ्य स्वस्थ जीवन जिउने मानवीय आधार भूमिलाई दर्साएको हो । त्यस अर्थमा त संसारलाई एउटै सन्देश दिएको हो भन्न सकिन्छ । बुढापाकाहरू दिनभर घरमा रहँदा दिक्क मान्दा गनगन गरेको अनुभूत हुने हामीले यो समयमा बोध गर्नु मनोवैज्ञानिक पाटो हो । 

आजको समयमा यदि हामी कोरोनाबाट डराएनौँ भने तब हामी बहादुर मानिस हुन सक्दैनौँ । सरकारले त ‘एकान्तवास’ लाई अपनाउन भनेकै छ तर अझै पनि मानिसको मनमा ‘एकान्तवास’ को वास्तविक बोध भएको छैन । रोग लागेर पछुताउनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु आजका आवश्यकता हो । सहरिया र  युवायुवतीलाई, प्रविधि र सञ्जालप्रेमीलाई सामाजिक सञ्जालका प्राविधिक लक्ष्यमा होमिनका लागि फुर्सद ठुलो हो त ? आज मानिसले फुर्सदिलो समयलाई झन्झटिलो बनाउँछन् अनि भन्छन् – ‘कस्तो बोरिङ भयो’ । 

सारा संसारलाई एउटै नियमको घेरो बाँधेर राख्ने सानो विषाणु । संसारलाई फुर्सदको रहस्यलाई बताउँदै छ । सहरिया भिडभाड छोडेर मानिसलाई आफ्नै प्रकृतिको रम्यता सिकाउँदै छ । कोलाहल र अशान्तिको ज्वालाबाट अलिकति कोल्टिएर सभ्यता र सुरम्यतामा स्वस्थतालाई अपनाउन सिकाउँदै छ तर महामारीको भयङ्कर त्रासदीको मखुन्डो ओढेर । आफै‌ंमा ऊ सधैँ जीवित रहिरहँदैन तर अरूमा परजीवी एक विषाणु एक जनाबाट सयौँसम्म, सयौँबाट हजारौँसम्म हुँदै आज संसारभर जहाज चढेर, गाडी चढेर रगरग बन्दै प्रलय मच्चाइरहेको छ । तब मानिसलाई फुर्सदिलो एउटै नियमको दायरा बनाएर आफू आफै सचेत हुने र स्वतन्त्रताको आभास हुने वास्तविक प्रकृतिलाई सिकाउँदै छ । अलिकति संसारको प्रदूषणको वितण्डामा स्वस्थता प्रदान गर्ने अभीष्ट प्रकृतिको हुँदो हो । आणविक बमदेखि विज्ञानको आविष्कारका दम्भ गरिरहँदा सायद प्रकृतिभन्दा मानिस ठुलो हुँदैन भन्ने सन्देश प्रदान गरिरहेको हुँदो हो । अर्थात्, मानिसलाई फुर्सदको अर्थलाई प्रकृतिसँग गाँसेर हेर्नलाई भनेको हुँदो हो ।