अर्को हप्ता थप चुनौती : ट्रम्प

अर्को हप्ता थप चुनौती : ट्रम्प

लोकसंवाद संवाददाता  |  विदेश  |  चैत्र २३, २०७६

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताउनु भएको छ ।

अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उहाँले शनिबार बताउनु भएको हो ।

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताउनुभयो ।

स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो । 

उहाँले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताउनुभयो ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ ।