शिक्षण सिकाइको चुनाैती: नयाँ र पुरानो पुस्ता बिचको अन्तरपुस्तेनी खाडल

मैले चितवनमा गएर टिच फर नेपालका विद्यार्थीहरू सँग भेटे । संवाद गरेँ । तिनलाई 'फेलो' वा प्रज्ञार्थी भन्छन् उनीहरूले । उनीहरू गाउँमा गए । फर्केर पनि आए । के अनुभूति गरे ? त्यही प्रसङ्गमा मैले शिक्षाको पहुँच सुनिश्चित गर्नेबारे उनीहरूको अनुभूति जान्न खोजेँ । उनीहरूले भने अनुसार पुरानो पुस्ताहरूसँग त हाम्रो संवाद नै नहुने रहेछ । उनीहरूले हामीलाई टेर्दै नटेर्ने रहेछन् । युवाहरूको यो भनाइबाट मलाई के लाग्यो भने नयाँ पुस्ता र पुराना पुस्ताको बिचमा अन्तरपुस्तेनी खाडल छ । त्यो खाडल कसरी मेट्ने ? फेरी नयाँ पुस्ता जान्ने छ । पुरानो पुस्ताले पनि  मेरो अनुभव छ भन्न छोडेको छैन । यो दुई पुस्ता बिचको लडाई कसरी शान्त गर्ने ? पुरानो पुस्ताले सिकेको कुरा नयाँ पुस्तालाई सिकाउन खोज्दा पुग्दैन । नयाँ पुस्ताले सिकेको कुराकानीमा अनुभव हुदैंन । किनभने त्यो अनुभव मिसाउने के गरी हो । एउटामा ज्ञान छ अर्कोमा अनुभव छ । त्यो अनुभव र ज्ञानलाई जोड्ने कसरी ? नयाँ पुस्तामा प्रविधि छ । पुरानो पुस्तामा प्रविधि छैन । तर अर्कै किसिमको चिन्तन छ । त्यसलाई जोड्ने कसरी ?

पुरानो पुस्ताले गुरुकुलको शिक्षा भनेको घोक्ने मात्रै हो भनेर बुझ्यो । जबकि गुरुकुलको शिक्षा भनेको चार भागमा बाँडिन्छ । एउटा भाग भनेको सुन्ने हो । अर्थात् एक चौथाइ गुरुबाट सुनेर सिक्छ । दोस्रो चौथाइ भनेको विद्यार्थी साथीहरूसँग सिक्छ । तेस्रो चौथाइ भनेको उसले विज्ञहरू सँग सिक्छ । कोही स्थानीय विज्ञ होला, कोही राष्ट्रिय विज्ञ होला,कोही अन्तर्राष्ट्रिय विज्ञ होला । चौथो चौथाइ  भनेको आफ्नै अनुभवबाट सिक्छ । त्यो कुरा नयाँ पुस्तालाई पनि थाहा भएन । पुरानो पुस्तालाई पनि थाहा भएन । तर शास्त्रीय पुस्तालाई त थाहा छ । अब यो कुरामा जोड्ने कसरी हो ?  असाध्य ठुलो समस्या यही हो ।त्यसैको परिणतिले गर्दा विद्यार्थीहरू अलमलमा पर्दो रहेछन् । विद्यार्थीले के गर्ने ? 

विद्यार्थीहरूलाई पाठ्यक्रम पढाउने हो कि ?,  पाठ्यपुस्तक पढाउने हो कि रु , सन्दर्भ पढाउने हो कि ? पाठ्यक्रम, पाठ्यपुस्तक र सन्दर्भ तीन वटै जोड्ने हो कि ?  के गर्ने हो  ? अहिले कोरोना भाइरसको कुरा आयो ।  कोरोना भाइरसको बारेमा विद्यार्थीलाई सिकाउने तरिका के हो ? पाठ्यपुस्तकमा छैन, पाठ्यपुस्तक पढाउनेले सक्दैन । पाठ्यक्रममा पनि छैन पाठ्यक्रम पढाउनेले  पनि सक्दैन । सन्दर्भमा पनि त्यो किसिमको कुरो आयो । सन्दर्भवालालाई जानकारी नै छैन । अर्थात् त्यही कोरोनाबाट गणित कसरी पढाउन सकिएला ? त्यसैबाट विज्ञान कसरी पढाउन सकिएलाद? त्यसैबाट अङ्ग्रेजी कसरी पढाउन सकिएला ? नेपाली कसरी पढाउन सकिएला ? वा राजनीति शास्त्र कसरी पढाउन सकिएला ? अर्थशास्त्र कसरी पढाउन सकिएला ? यो किसिमको चिन्तन गर्ने पुस्ता हामीसँग भएन ।यो खाडल भयो । एउटा पुस्ता भन्छ किताब पढाई रहेको छु । अर्को पुस्ता भन्छ पाठ्यक्रम पढाउनु पर्छ । तेस्रो समस्या के आइदियो भने,पाठ्यक्रम पनि बेकारको भईसक्यो,पाठ्यपुस्तक पनि बेकारको भईसक्यो । सन्दर्भमा आएको कुरा विद्यार्थीले खोज्ने भइसक्यो । 

यहीँनेर  कसलाई विश्वास गर्ने, कसलाई विश्वास नगर्ने ? भन्ने किसिमको कुरा आउँछ ।  विश्वास गर्नुपर्ने बाध्यता पनि छ । त्यो बाध्यताबाट बच्ने हो भने अबको निम्ति हाम्रो तरिका हो अनिवार्य अनुसन्धान । एक अर्कोले जानेका बिचारहरूको आदान प्रदान गर्ने ।  विद्यार्थीहरूसँग जोडने । सन्दर्भलाई जोड्ने । पाठ्यक्रमलाई जोड्ने, पाठ्यपुस्तकलाई जोड्ने । अनि नयाँ कुराहरूलाई कसरी र कसरी समावेश गर्ने भन्ने चिन्तन आउने थियो । यसो गर्न सकेनौँ भने हामीले ठुलो खाडलबाट गुज्रिनु पर्दछ ।  परिणाम हुन्छ- खाडल खाडल नै बसी रहन्छ ।

कोरोना भाइरसबाट बच्नको निम्ति हात धुनु ठिक हो कि मुख छोप्नु ठिक हो ? के ठिक हो भनेर भन्ने बारेमा कसले भनिदिने हो ? त्यस्तो किसिमको कुरा पनि हामीसँग रहेनछ । यस्तो अवस्थामा हामीले गर्न सक्ने भनेको ऐतिहासिक अकाउन्ट लिने हो  । अर्थात् थारु पुस्ता चितवनमा के के रोग लागेर मर्‍यो ? औलो लागेर, अथवा सिकलेसबाट ? एकातिर त्यो पनि खोज्दै जाँउ । त्यसपछि अहिले आएका आधुनिक रोगहरू के के होलान् ? फ्लु, स्वाइनफ्लू , सार्स, हे बिफर । यी सबै भाइरस हुन । कोरोना जस्तै अरू अरू पनि होलान् । ती के के हुन ? वा तिनीहरुे बिचमा के सम्बन्ध छ भनेर खोज्ने वा  खोजाउने हो भने नयाँ पुस्तालाई पढाउने प्रक्रियामा हामी जान सक्छौ । नत्र भए पुरानो पुस्तालाई नयाँ पुस्ताले नटेर्ने रहेछ । उनीहरूलाई यी त केही जान्दैनन् भन्ने हुँदो रहेछ ।

नयाँ पुस्ताले पुरानो पुस्तालाई पनि यिनीहरूलाई केही थाहा छैन भन्ने रहेछ । दुइटैलाई थाहा छैन थाहा छैन भन्ने हुँदा खेरि त्यसको मार ससाना केटाकटीहरुमा पर्दो रहेछ । कस्का कुरा पत्याउने ? बाजे बराजुको कुरा पत्याउने कि ? किन भने तिनीहरूले त्यही सिकेका हुन । नयाँ मान्छेहरूको कुरा पत्याउने कि ? उनीहरूले प्रविधि जानेका छन् । त्यसैले तिनका कुरा पत्याउने कि ? त्यो समस्याबाट मुक्ति पाउने भनेको यिनीहरूको बिचको आपसी ज्ञानको सहकार्य । मैले ती विद्यार्थीहरूसँग पनि भनेँ तपाईँहरूले मलाई न्युटनले स्याउ खसेको देखेर गुरुत्वाकर्षण पत्ता लगाए भन्नुभयो । सँगसँगै भाष्काराचार्यलाई उनकी छोरीले एउटा प्रश्न सोधी । प्रश्न थियो बाबा म जत्ति उफ्रिन्छु तल नै झरी रहन्छु ।  म तल झरी रहनको रहस्य के हो ? भाष्कराचार्यले भने हामी तल तानिन्छौं । अर्थात् तान्ने चिज तल छ । यसरी भाष्काराचार्य पनि सँगै ल्याएपछि भन्नु पर्छ- न्युटनले माथिबाट स्याउ खसेको देखे ।  भाष्काराचार्यले छोरी उफ्रँदा तल झरेको देखे  । दुईवटैले एउटै कुरा हेरे । तर हेर्ने तरिका भने फरक थियो । न्युटनले त्यसैलाई गुरुत्वाकर्षण भने ।  त्यसैमा आधारित भएर ब्रह्माण्ड अध्ययन गरियो । भाष्काराचार्यले त्यत्ति मात्रै भने । त्यसलाई अगाडि बढाउन सकेनन् । न्युटनले साथ पाए भाष्काराचार्यले साथ पाएनन् । तर दुई वटै चिन्तन एकै ठाउँमा छन् भन्दिएको भए त्यसले के गर्दथ्यो भने नयाँ पुस्ता पनि पुरानो पुस्तासँग जानकार हुन्थ्यो । अनि पुरानो पुस्ता पनि नयाँ पुस्ताको जानकारीसँग परिचित हुन्थ्यो । यो प्रकारले हामीले सिक्न सिकाउन सक्यौँ भने अन्तर पुस्तेनी शिक्षा मजबुत हुन्छ । पुराने पुस्ता पनि बदलिन्छ । नयाँ पुस्ता पनि बदलिन्छ । 

यस बाहेक गुरुत्वाकर्षणबारे थारुकै विश्वास के थियो ? बोटेहरूको चिन्तन के थियो ?  यसरी समुदायसँग सिकेका भए परम्परागत चिन्तन पनि आउँथ्यो । आधुनिक चिन्तन पनि पुरानो पुस्तामा जान्थ्यो । यसो हुँदा  अनुसन्धान गर्ने प्रक्रियामा मान्छेहरू जाने थिए । अन्तरपुस्तेनि खाडल मेटिने थियो । पुस्ताहरूबिचको वातावरण सौहार्दपूर्ण भएर जान्थ्यो । शिक्षकहरूमा प्रत्याभूति वा ‘रिफ्लेक्ट’ गर्ने बानी हुन्थ्यो । अहिलेको परिपाटी हेर्ने हो  'रिफ्लेक्ट' वा प्रत्याभूति गर्ने शिक्षक मात्र सफल छ । अर्थात् मैले हिजो यसरी गरे अब कसो गर्नु पर्ला । मलाई त यो युवा पुस्ताले यो कुरा भन्यो अब मैले कसो गर्नु पर्ला, मलाई त यो पुरानो पुस्ताले यसो भन्यो अब मैले कसो गर्नु पर्ला । यो किसिमको संस्कार बनाइदिन सकियो भने, मान्छे समालोचक बन्छ । सर्जक पनि बन्छ, प्रत्याभूति गर्ने संस्कार पनि बन्छ । जहिले पनि नयाँ हुन सक्ने कुराहरू जन्माउँछ ।

पुरानो र नयाँ पुस्तामा म जान्ने कि त जान्ने भन्ने छ । मेरो अनुभव यति छ, म यति वर्ष पढाएको भन्ने पुरानो पुस्ता छ । म प्रविधिमा खेल्न जान्दछु । त्यसैले विषयगत दक्षता राख्छु भन्ने नयाँ पुस्ता छ । यी दुवै पुस्तालाई हामीले सम्हाल्न सक्यौँ भने वा उपयोगमा ल्याउन सक्यौँ भने तिनीहरू बिचको वैचारिक खाडल मेटिन्छ । एक अर्कासँग सिक्ने सिकाउने संस्कार बन्छ । 

पुरानो पुस्ताले म जान्ने छु भन्नु 'एथ्नोसेन्ट्रीजम 'हो । नयाँ पुस्ताले पुराने पुस्तालाई 'फोसिलाईज्ड' भन्नु पनि 'एथ्नोसेन्ट्रीजम' नै हो । यहीँनेर  कसलाई विश्वास गर्ने, कसलाई विश्वास नगर्ने ? भन्ने किसिमको कुरा आउँछ ।  विश्वास गर्नुपर्ने बाध्यता पनि छ । त्यो बाध्यताबाट बच्ने हो भने अबको निम्ति हाम्रो तरिका हो अनिवार्य अनुसन्धान । एक अर्कोले जानेका बिचारहरूको आदान प्रदान गर्ने ।  विद्यार्थीहरूसँग जोडने । सन्दर्भलाई जोड्ने । पाठ्यक्रमलाई जोड्ने, पाठ्यपुस्तकलाई जोड्ने । अनि नयाँ कुराहरूलाई कसरी र कसरी समावेश गर्ने भन्ने चिन्तन आउने थियो । यसो गर्न सकेनौँ भने हामीले ठुलो खाडलबाट गुज्रिनु पर्दछ ।  परिणाम हुन्छ- खाडल खाडल नै बसी रहन्छ । जनताहरू जहिले पनि अप्ठेरोमा हुन्छन् ।