चीनको महामारी नियन्त्रणकाे पाठः कठोर अनुशासन, दृढ इच्छाशक्ति तथा आधुनिक प्रविधिको प्रयोग

चीनको महामारी नियन्त्रणकाे पाठः कठोर अनुशासन, दृढ इच्छाशक्ति तथा आधुनिक प्रविधिको प्रयोग

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र २४, २०७६

हाल विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सम्पूर्ण विश्वलाइै अस्तव्यस्त पारिरहेको छ । चीनको वुहान शहरबारट फैलिएको कोरोना भाइरसले सम्पूर्ण विश्वको स्वास्थ्य क्षेत्रलाई मात्रै नभई अन्य क्षेत्रलाई पनि गम्भीर असर गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई अनुसार विश्व अहिले कोरोना भाइरस नामक अदृश्य सेनासँग लडिरहेको छ । अहिले सबैको चिन्ता यो छ कि कोरोना भाइरस महामारीको अन्त्य कहिले हुन्छ ? हालसम्म यसको उत्तर कसैसँग पनि छैन ।

हालसम्मको तथ्याङ्क अनुसार करिब १२ लाख भन्दा बढी विश्वभरका मानिसहरू यसबाट सङ्क्रमित भइसकेका छन् भने करिब ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यो संक्रमितदर र मृत्युदरलाई हेर्दा आगामी ३० दिनमा अति नै भयावह स्थिति देखिन्छ । सङ्क्रमितको तथ्याङ्क हेर्दा, अमेरिका, स्पेन, इटाली, जर्मनी तथा फ्रान्सले चीनको संक्रमितकाे  सङ्ख्या करिब ८२ हजारलाई उछिनी सकेको छन् । प्रष्टरुपले   भन्नुपर्दा भाइरसको सङ्क्रमण युरोप  र अमेरिकामा महामारीको रूपमा फैलँदै छ । 

यस भाइरसको फैलावटलाई हेर्दा विकसित तथा चिसो जलवायु भएका राष्ट्रहरूमा बढी भयावह छ तर कम विकसित तथा गर्मी राष्ट्रहरूमा कम छ । जनसङ्ख्यालाई विचार गर्दा एसियाली तथा अफ्रिकी महादेशभन्दा युरोप तथा अमेरिकामा बढी महामारीको रूपमा फैलिरहेको पाइन्छ । 

अहिले धेरै जनाको मनमा प्रश्न उठिहरेको छ कि एक अरब ४० करोड भन्दा बढी जनसङ्ख्या भएको राष्ट्र चीनमा यो भाइरसको महामारी नियन्त्रण कसरी भयो र यस्तै प्रकारले विशाल जनसङ्ख्या भएको भारतमा सुस्त गतिले मात्रै फैलिरहेको छ । 

हामीमा भएको युवा शक्ति, उच्च आत्मबल तथा अनुशासन पद्धति अपनाएर हामी यसलाई नियन्त्रण गर्न सक्छौँ । अहिलेको अवस्थामा सरकारको आलोचना भन्दा रचनात्मक सहयोग  पुर्‍याउनु नागरिकको कर्तव्य हो । सरकारले पनि रामभरोसेको नीतिलाई छाडेर ठोस नीतिका साथ आउनु जरुरी छ ।


यस प्रविधिको प्रयोग गर्नु अगावै चीनले प्रत्येक नागरिकको अभिलेख वा ‘डाटा म्यानेजमेन्ट’ गरेको थियो । मुख्यतया चीनमा प्रत्येक नागरिकको ‘नेशनल आइडेन्टी नम्बर’ हुनुपर्दछ । यो बिना नागरिकले कुनै सामान खरिद तथा बिक्री गर्न सक्दैन । कुनै नोकरी तथा अन्य कार्यमा सम्लग हुन सक्दैन । मोबाइल नम्बर लिन होस वा कुनै ‘सोसियाल प्ल्याटफर्म’मा जुट्नको लागि पनि यो नम्बर अनिवार्य हुन जान्छ ।  यो नम्बर मोबाइल नेटवर्कमा जोडिएको हुन्छ र सम्पूर्ण नागरिकको जानकारी सरकारसँग रहेको हुन्छ । केही आलोचकहरू यस पद्धतिलाई व्यक्तिको स्वतन्त्रताको हननको रूपमा आलोचना गर्ने गर्दछन् । तर यही सूचनाको आधारमा चीनले यस महामारीलाई नियन्त्रण गर्न सकेको हो ।चीनले वुहान सहरबाट फैलिएको भाइरसको महामारीलाई छोटो समयमा नियन्त्रण मात्रै नगरेर अन्य सहरहरुमा पनि फैलनबाट  जोगाएको पाइन्छ । चीनको यस प्रकारको प्रयासलाई कति जनाले शङ्काको दृष्टिले पनि हेर्ने गर्दछन् । तर मूलभूत रूपमा चीनको कठोर शासकीय प्रणाली तथा अत्याधुनिक प्रविधिको समुचित प्रयोगबाट मात्र सम्भव  भएको हो । चीनले आधुनिक प्रविधि जस्तै ‘एआई, डाटा साइन्स, रोवर्टिक साइन्स, आइटी, ड्रोन आदिको समुचित प्रयोगबाट यो महामारी माथि विजय प्राप्त गर्न सकेको हो । 

यसैलाई आधार बनाएर ‘डाटा सर्भिलेन्स सिस्टम’को आधारमा  इन्फरमेसन सिस्टम’  प्रयोग गरी सूचनाको प्रवाह गरेको पाइन्छ । कुनै पनि व्यक्ति यदि संड्क्रमित क्षेत्रमा प्रवेश गरेमा वा सङ्क्रमित व्यक्तिको नजिक गएमा तुरुन्तै उक्त व्यक्तिलाई म्यासेज वा सूचना प्रवाहित भइहाल्थ्यो । जसले गर्दा व्यक्तिले सावधानीका साथ व्यवहार गर्न सक्दथ्यो । यस्तै प्रकारले ‘थर्मल स्क्रिनिङ’ तथा ‘फेस आइडेन्टी’ प्रविधिको मार्फत व्यक्तिहरूलाई डिजिटल पास उपलब्ध गराइयो ।  स्वास्थ्य तथा सङ्क्रमित नभएका व्यक्तिहरूलाई हरियो रङको पास, संकास्पद व्यक्तिलाई पहेलो रंगको पास  र सङ्क्रमित भएका व्यक्तिहरूलाई रातो रङको पास उपलब्ध गराइन्थ्यो । जसको आधारमा सम्बन्धित अधिकारीबाट त्यस व्यक्तिको जाँच हुन्थ्यो । यस्तै प्रकारले कुनै ठाउँ वा अवस्थाको बारे त्यस क्षेत्रमा रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या तथा मात्रको आधारमा वर्गीकरण गरिएको थियो । यसले गर्दा विभिन्न निकायहरूलाई काम गर्न सजिलो भएको थियो । 

यस्तै ‘ड्रोन’ प्रविधि मार्फत व्यक्तिहरूको निगरानी तथा लकडाउन नियमको पालना भएको छ कि छैन भनेर जानकारी लिइन्थ्यो । चीनले एआइ (AI) को प्रयोग गरी महामारीको फैलावट तथा व्यवस्थापनको रणनीति तयार पारिएको भन्ने कुरा उल्लेख छ । यस्तै प्रकारले अलिबाबा कम्पनीले एआइको प्रयोग गरी भाइरसको पहिचान छोटो समयमा गर्न सक्ने प्रविधिको पनि विकास गरेको छ । यस्तै प्रकारले एआइ तथा सूपर–कम्प्युटरको प्रयोग मार्फत उपचारमा चाहिने सामानको पहिले नै पहिचान गरिसकेको थियो । जसले गर्दा छोटो समयमा नै कोरोना भाइरसका बिरामीको उपचार गर्नको निम्ती आवश्यक मास्क, ग्लोव तथा भेन्टिलेटर जस्ता उपकरणहरूको व्यवस्थापन गर्न सकेको थियो । यस्तै  ब्लकचेनको प्रयोग गरी बिरामी तथा चिकित्सकसँग हुने आमनेसामनेको अवस्थालाई न्यूनीकरण गरेको थियो । यस्तै प्रकारले रोवर्ट तथा ड्रोनको प्रयोग औषधि तथा उपकरणहरूको ढुवानी आदिमा प्रयोग गरेको थियो ।

अतः चीनले आफ्नो कठोर अनुशासन, दृढ इच्छाशक्ति तथा आधुनिक प्रविधिको प्रयोग मार्फत कोरोना भाइरसको महामारी माथि विजय प्राप्त गर्न सक्यो । 

अर्को प्रश्न,  करिब १ अरब ३० करोड जनसङ्ख्या भएको भारतमा किन सुस्त गतिमा मात्र भाइरसको फैलावट भइरहेको छ । यस विषयले सबैलाई अचम्मित बनाइरहेको छ । कसै कसैको तर्क यो यो छ कि भारतमा हाल रहेको गर्मी तथा उच्च आर्दताको कारण पनि फैलावटको गति कम भएको हुनसक्छ । अर्को धारणा के छ भने बीसीजी  खोप लगाउने मुलुकमा कोरोना भाइरसको महामारीले त्यती व्यक्ति सङ्क्रमित बनाउन सकिरहेको छैन । हुन त यो पनि हालको लागि एउटा परिकल्पना मात्र पनि  हुन सक्छ ।  अर्को कारण भारतको ठुलो जनसङ्ख्या युवा छन् र जसले गर्दा यसबाट हुने मृत्युदर कम भएको हुन सक्दछ। 

अर्को कारण भारतजस्तो देशमा अन्य प्रकारको सङ्क्रमणबाट सधैँ जुध्नु पर्ने हुन्छ । जसको कारण  भारतको रोग प्रतिरोधक क्षमता उच्च नै रहेको हुन्छ । जसले गर्दा कोरोना भाइरसले त्यति असर गर्न नसकिरहेको हुनसक्छ । हालको नयाँ अध्ययनले के देखाएको छ किऽ मलेरियाबाट ग्रसीत देशहरुमा कोरना भाइरसको महामारी त्यती फेलन सकिरहेकाे छैन ।  अर्को कारण भारतीय संस्कृति तथा जीवन शैली, भारतीय प्रायजसो पकाएको तातो खानेकुरा खान्छन् र  जबकि पश्चिमीहरू तयारी तथा चिसो खानेकुरा खाने गर्दछन् । यो पनि एउटा कारण हुन सक्छ । यी सबै कारणहरू वैज्ञानिक रूपमा प्रमाणित गर्न सकिएको छैन, अतः यी सबै परिकल्पनाको रूपमा रहेका छन् । यदि भारतले अपनाएको लकडाउनको नीति राम्ररी कार्यान्वयन भएमा भारतले पनि कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सक्ने सम्भावना रहेको छ । 

नेपालको  सन्दर्भमा हेर्दा भाइरसको सङ्क्रमणको सङ्ख्या तुलनात्मक रूपमा कम नै छ । सरकारले गरेको लकडाउनको नीति पनि हाम्रो जस्तो देशको निम्ति उपयुक्त नीति नै हो र आलोचकहरू जे भने पनि नेपालले लिएको भाइरसको महामारीलाई नियन्त्रण गर्ने नीति सह्रानीय नै छ । तर प्रश्न कहिलेसम्म लकडाउन नीतिमा चल्ने ? यसले पर्ने आर्थिक तथा सामाजिक असरलाई कतिसम्म धान्ने यो सबैभन्दा ठुलो चुनौती भने रहेको छ । 

अतः हामीले चीन तथा भारतको अनुभवलाई अध्ययन गरी कार्यान्वयन गर्नु पर्दछ । चीनको जस्तै आधुनिक प्रविधि हामीसँग छैन । तर, प्रत्येक नागरिकको अभिलेख राख्न अब भने ढिलाइ गर्नु हुँदैन । अब प्रत्येक नागरिकलाई डिजिटल नम्बर  गराउनु पर्दछ । यसको आधारमा वर्गीकरण गर्नु जरुरी छ । यो नागरिक नम्बर भविष्यमा अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिन्छ । 

लकडाउनलाई पनि नियन्त्रणका साथ खुकुलो बनाउँदै जानु पर्दछ। बालबच्चा, वृद्ध व्यक्तिहरू तथा रोगी व्यक्तिहरूलाई लकडाउनमा अथवा क्वारेन्टाइनमा राखी स्वास्थ्य तथा युवा जमातलाई सोसल डिस्टान्सिङमा  राखी सामान्य क्रियाकलाप अगाडी बढाउनु पर्छ । स्वस्थ तथा युवा वर्गमा तुलनात्मक रूपमा भाइरस प्रति प्रतिरोधात्मक क्षमता उच्च हुने हुनाले यस्तो रोगलाई कम गर्न सक्दछ । सङ्क्रमित भएमा पनि ‘डाटा वेस’को आधारमा वर्गीकरण गरी उपचार गर्न सकिन्छ । 

अतः महामारीको समस्यालाई भागेर भन्दा दृढता पूर्वक सामना गरेर यसको निर्मुलीकरण गर्न पर्दछ । हामीमा भएको युवा शक्ति, उच्च आत्मबल तथा अनुशासन पद्धति अपनाएर हामी यसलाई नियन्त्रण गर्न सक्छौँ । अहिलेको अवस्थामा सरकारको आलोचना भन्दा रचनात्मक सहयोग  पुर्‍याउनु नागरिकको कर्तव्य हो । सरकारले पनि रामभरोसेको नीतिलाई छाडेर ठोस नीतिका साथ आउनु जरुरी छ । अन्यथा यस महामारीले स्वास्थ्य क्षेत्रलाई मात्रै नभएर अन्य आर्थिक तथा सामाजिक क्षेत्रलाई ध्वस्त बनाउँछ । अतः सरकारले पनि धैर्य पूर्वक यस समस्यालाई समाधानको लागि  अगाडी आउनु जरुरी छ र यस बेला सबै नागरिक सरकारको कदमलाई सहयोग गर्नु पर्दछ ।