लकडाउन : कसरी अवसरमा बदल्न सकिन्छ चुनौतीलाई ?

लकडाउन : कसरी अवसरमा बदल्न सकिन्छ चुनौतीलाई ?

राजकुमार महर्जन  |  दृष्टिकोण  |  चैत्र २४, २०७६

एक दिनको कुरा हो, दुईवटा बाँदरहरू गाउँ डुल्दै थिए । छुकछुक गर्दै दायाँबायाँ नहेरी कुदेकाले अचानक एउटा इनारमा खसेछन् । इनारबाट निस्कने प्रयासमा तिनीहरू अत्तालिएर जोडजोडले उफ्रिए ।

दुईमध्ये पहिलो बाँदर निकै नै रोयो, चिच्यायो, गुहार माग्यो । एकान्त ठाउँ, त्यसमाथि गहिरो इनार, उसको चिच्याहट कसैले सुन्ने कुरै भएन । यत्तिकैमा अचानक माथिबाट गाउँलेहरूले घ्याम्पोका घ्याम्पो तरल पदार्थ इनारमा खन्याउन थाले । पहिलो बाँदर निकै आत्तिएको थियो । उसमाथि मानिसहरूले माथिबाट तरल पदार्थ खन्याउँदा झनै आत्तियो । डर र त्रासको कारण ऊ इनारमै डुबेर मर्‍यो ।

दोस्रो बाँदर पनि डराएको थियो । एकछिन् आत्तिएर चल्यो, उफ्रियो । चल्दाचल्दै उसले अनौठो बास्नाको अनुभव गर्‍यो । हात-गोडा चलाउँदा छचल्केर मुखमा परेको तरल पदार्थ त पानी नभई दूध पो रहेछ ! दुःख गरेर पालेको गाईबस्तुको दूधको उचित मूल्य नपाएको झोँकमा गाउँलेहरूले सबै दूध इनारमा खन्याएका रहेछन् ।

त्यतिन्जेलसम्ममा दोस्रो बाँदरले बुझिसकेको थियो कि बल प्रयोग गरेर, चलेर वा उफ्रेर मात्र केही हुनेवाला छैन । उसले सोचेछ- म त दूूधले भरिएको इनारमा पो छु त, किन आत्तिनु ?’

दूधको स्वाद लिँदै विस्तारै हात-गोडा चलाउँदै पौडिन थाल्यो । जतिजति हातगोडा चलाउँदै गयो, उतिउति नै दूधबाट नौनी निक्लन्थ्यो । मीठो नौनी खाँदै फेरि पौडी खेल्थ्यो ।

गाउँलेहरूले इनारमा दूध खन्याउन छाडेका थिएनन् । विस्तारै दूधले इनार भरिँदै गयो । अन्त्यमा दूधको सतह इनारको माथिको भागसम्मै आइपुगेको मौका पारी दोस्रो बाँदर इनारबाट फुत्त निक्लेर सुइँकुच्चा ठोक्यो ।

हामी नेपाली पनि यी दिनहरूका दूूधले भरिएको इनारभित्र छौँ । त्यसो भए के गर्ने त ? के माथिको कथाको पहिलो बाँदर जस्तो आत्तिने ? समय कटाउन गाह्रो भयो भनेर कराउने ? उफ्रने ? चिच्याउने ? वा दोस्रो बाँदरले जस्तो यो अप्ठ्यारो समयलाई अवसरमा बदल्ने ?

आज मेरो चासो भनेको यो कठिन घडीमा आत्तिएर मात्र हुँदैन । अप्ठ्यारोलाई अवसरको रूपमा बदल्न सकिन्छ भन्ने हो । कोभिड- १९ को नकारात्मक पक्षका बाबजुद पनि केही सकारात्मक पक्षहरूका बारेमा योभन्दा अघि धेरै लेखहरू बजारमा आइसकेका छन् । त्यसैले त्यसबारेमा बोल्नु भन्दा पनि अहिले चलिरहेको लकडाउनलाई कसरी अवसरको रूपमा सदुपयोग गर्ने भन्ने विषयमा केन्द्रित गर्न चाहन्छु ।

मान्छेको जात, आफूसँग जे छ, उसलाई त्यो मनपर्दैन । गीत बजाए पनि आफ्नो प्लेयरमा बजेको भन्दा टाढा अरूको प्लेयरमा बजेको राम्रो लाग्छ, चाहे त्यही गीत किन नहोस् । कौसीबाट बाहिरी दृश्य नियाल्दा, अरूकै कौसीबाट रमाइलो देखिन्छ होला जस्तो लाग्छ । आफू मात्र घरमा एकान्त बास बसेको, अरू त रमाइलै गरिरहेका होलान् जस्तो लाग्छ । वास्तवमा हरेकको मनोदशा यस्तै अवस्थामा हुन्छ ।

एउटै घरमा तीन जना बसेका छ भने पनि एकले अर्काको रिस गरिरहेको हुन्छ । आफू मात्र दुखी बाँकी दुई जना त मस्ती गर्दै छन् जस्तो भान हुन्छ ।

दोस्रो विश्वयुद्धको समयमा एक यहुदी किशोरी एन फ्र्याङकको डायरी ‘द डायरी अफ अ योङ गर्ल’को नेपाली अनुवाद पढेको थिएँ । विश्वयुद्ध चलिरहेका बेला नाजी सेनाको क्रूरताबाट बच्न उनको परिवार दुई वर्ष ४५ दिनसम्म लुकेर बसेको थियो । उनको परिवारका चार र अरू चार गरी आठ जना उनका बुबाको कार्यालयको गोदाममाथिको तलामा लुकेर बसेका थिए । ती दिनहरूमा उनीहरू घरबाहिर आउनु त के झ्यालको पर्दासमेत नखोली कसरी बसे भन्ने कुरा ती किशोरीले लेखेकी छन् । पक्रिने डर र त्रासका बीच ठूलो स्वरले बोल्नसमेत वर्जित थियो । वरिपरिकाले थाहा पाउलान् भनेर ट्वाइलेट फ्लस गर्नसमेत नपाएको परिस्थितिको बयान गरेकी छन् । 

अहिलेको लकडाउन त्यति बिघ्न त छैन नि ! लकडाउनले गर्दा जहाजै डुबे जसरी नसोचौँ । नेल्सन मण्डेला जस्तो २७ वर्ष कारागारमा थुनिएका पनि होइनौँ । आङसाङ सुकी जस्तो १५ वर्ष नजरबन्दमा बस्नुपरेको पनि होइन । कामको सिलसिलामा घरभन्दा बाहिर हिँडिरहनुपर्दा कहिले पो घरमा बस्न पाइएला भनेर कामना गरिरहने पनि हामी नै हौँ । प्रारब्धले अहिले हाम्रो माग पूरा गरिदिएको छ । खुसी नै हुन नसके पनि दुखी पनि नहोऔँ । जति दिन बस्नुपर्ने हो, नियम पुर्‍याएर बसौँ । बरु घरको बसाइलाई कसरी उपलब्धिमूलक बनाउने हो, त्योचाहिँ सोचौँ । 

हरेक व्यक्तिसँग एक न एक लुकेको प्रतिभा हुन्छ । तपाईंसँग के प्रतिभा लुकेको छ ? त्यसलाई निखार्ने बेला आएको छ । यो समयको भरमग्दुर प्रयोग गर्नुहोस् । गायन, वादन, नृत्य, साहित्य, चित्रकला आदिमध्ये के छ ? तपाईंसँग रेडियोग्राफी, फोटोग्राफी, डिजाइनिङ, आदिको कला हुन सक्छ । ती कलाहरूलाई निखार्नुहोस् । तपाईंं पाक कलामा राम्रो हुन सक्नुहुन्छ ।

स्वभावका हिसाबले मानिस मुख्यतः दुई किसिमका हुन्छन्, अन्तरमुखी र बहिर्मुखी । उनीहरूको कार्यशैली र सोच्ने शैली फरक फरक हुन्छ । जो जुनसुकै स्वभावको भए तापनि केही अनिवार्य आधारभूत क्रियाकलापहरू हुन्छन् । त्यसलाई नियमित रूपमा गर्नुपर्ने हुन्छ ।

सङ्क्रमणबाट जोगिने उपायको अवलम्बन

कोरोना भाइरस सङ्क्रमणबाट जोगिन के कस्ता सजगता अपनाउनुपर्छ भन्ने विषयमा तपाईँले महारथ हासिल गरिसक्नुभयो । यसका तरिकाहरूका बारेमा मैले यहाँ उल्लेख गरिनँ । तर, मुख्य कुरा यहीँनेर छ । जान्नु र गर्नुमा फरक हुन्छ । त्यसैले जानेको कुरालाई पालना गर्नु तपाईँको पहिलो कर्तव्य हुन आउँछ ।

स्वस्थकर आहार, विहार र बिचार

यसभित्र खानपान, जीवनशैली, शारीरिक व्यायाम, योग, ध्यान र सकारात्मक विचार आदि पर्छन् । यी कुराहरू आधारभूत, अर्थात् दैनिक जीवनमा नभई नहुने कुराहरू हुन् भन्ने तपाईँलाई राम्ररी जानकारी भएकाले यससम्बन्धी यति नै चर्चा गरेँ । यति कुरा प्रस्ट हुनुहोस् कि कुनै दिन यीमध्ये कुनै एक चिजको कमी भयो भने तपाईँको त्यो दिन खेर गयो । त्यही एक-एक दिन गर्दै विस्तारै जीवनै खेर जानेछ ।

बालबालिकाहरूको उचित हेरचाह

अहिले स्कुल, कलेज बन्द छन् । केटाकेटीहरू तपाईंसँगै छन् । यी दिनहरूमा उनीहरूले तपाईंसँग वास्तविक अभिभावकत्वको चाहना गरेका हुन्छन् । उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने कार्य नगर्नुहोस् । केटाकेटी भनेर बेवास्ता नगर्नुहोस् ।

हरेक दिन उनीहरूले गरेका क्रियाकलापलाई कुनै न कुनै माध्यमबाट सङ्ग्रह गर्न प्रेरित गर्नुहोस् । जस्तैः लेख्न सक्नेले मनोवाद वा डायरी लेख्छन् । उनीहरूका क्रियाकलापहरूलाई संंगृहीत गरेर पछि पुस्तकाकारको रूपमा छाप्न वा फोटो, भिडियोहरू प्रकाशन गरी संसार माझ पुर्‍याउन सकिन्छ ।

पुस्तक पढ्न रुचाउनेले कक्षाका विषयगत पुस्तक मात्र पढ्नुपर्छ भन्ने छैन । चित्र कोर्नेले चित्रमार्फत् भावना व्यक्त गर्छन् आदि । सङ्गीतका पारखीले सङ्गीत सिर्जना गर्छन् । 

तपाईँको स्वभाव कस्तो छ ? यदि तपाईं अन्तरमुखी स्वभावको हुनुहुन्छ भने यो समय तपाईंकन लागि सुनौला दिनहरू हुन सक्छन् । यतिबेला बाहिर हिँड्न मिल्दैन, तसर्थ आफूभित्रको यात्रा गर्नुहोस् । अन्तर्मनको यात्रा ! आफूभित्रको खजाना पत्ता लगाउनुहोस् । आफ्नो कमजोरीमा मात्र केन्द्रित नहुनुहोस् । अरूको उपलब्धिसँग दाँजेर दुखी बन्ने बानी छ भने त्यसलाई तुरुन्त त्याग्नुह‍‍ोस् । यो कुरा पक्का हो, जन्म सँगसँगै तपाईँले केही न केही फरक क्षमता लिएर आउनुभएको छ । त्यसलाई पत्ता लगाउने यो सुनौलो अवसर हो ।

यदि तपाईंं बहिर्मुखी स्वभावको हुनुहुन्छ भने के गरूँँ, कसो गरूँ भइरहेको होला । साथीभाइसँग भेटघाट, गफगाफ र डुलघुममा रमाइरहेको तपाईंको मन, अहिले घरमा एक्लोदुक्लो बसिरहनुपर्दा केही असहज त पक्कै होला तर तपाईँले पनि यो समयमा मज्जैले उपलब्धिमूलक काम गर्न सक्नुहुन्छ । 

तपाईंं मभन्दा धेरै ज्ञानी र बुद्धिमान पनि हुनुहुन्छ । मैले तपाईँलाई यस्तो उस्तो सिकाइरहनुपर्दैन । तर पनि सबैले जानेका बुझेका तर कार्यान्वयन गर्नलाई कसै न कसैले सम्झाइदिए हुन्थ्यो भन्नेहरूलाई काम लाग्ला भनेर केही उपायहरूका बारेमा चर्चा गरेको छु । आफ्नो स्वभाव र इच्छाअनुसार जुन क्रियाकलाप गर्दा उपयुक्त हुन्छ, सो क्रियाकलापहरू गर्नुहुन अनुरोध छ । यदि तपाईँले झन् नयाँ तरिका अवलम्बन गरिरहनुभएको छ भने सुझाव पाऊँ ।

पुस्तक अध्ययन

यतिबेला तपाई आफूलाई मन लागेका पुस्तकहरू छानीछानी पढ्न सक्नुहुन्छ । यदि तपाईंसँग भएका पुस्तकहरू पढिसक्नुभयो र बजारमा किन्न पाउनुभएन भने पनि विभिन्न अनलाइन स्टोरहरूबाट खरिद गर्न सक्नुहुन्छ  । तपाईँले डिजिटल पीडीएफ पुस्तकहरू डाउनलोड गरेर पढ्न सक्नुहुन्छ । अङ्ग्रेजी पुस्तकका लागि  www.pdfdrive.com  र नेपाली पुस्तकका लागि www.pustakala.org मा लगइन गरेर त्यहाँ भएका मनपरेका पुस्तकहरू पढ्न सक्नुहुन्छ । यदि पढिरहने फुर्सद छैन भने युट्युबमार्फत अडियो बुक सुन्न सक्नुहुन्छ ।

अनलाइन कोर्स 

लकडाउनको समयलाई तपाईँले विश्वभरका विभिन्न निःशुल्क वा सशुल्क अनलाइन कोर्सहरू गरी तपाईँले आफ्नो योग्यता बढाउन सक्नुहुन्छ ।  

लेखन 

यतिबेला एकलोदुक्लो बस्दा मनका कुरा पोख्ने ठाउँ पाउनुभएको छैन भने लेख्नुहोस् । मनमा जे आउँछ, त्यसलाई लेख्दै जानुहोस् । मिल्यो, मिलेन भनेर नडराउनुहोस् । तपाईँले आज लेख्नुभएको कुरा कुनै न कुनै दिन काम आउन सक्छ । यो कुरा पक्का छ, तपाईँले लेख्न थाल्नुभयो भने तपाईँका नानीहरूले पनि लेख्नेछन् ।

कला, सिर्जना 

हरेक व्यक्तिसँग एक न एक लुकेको प्रतिभा हुन्छ । तपाईंसँग के प्रतिभा लुकेको छ ? त्यसलाई निखार्ने बेला आएको छ । यो समयको भरमग्दुर प्रयोग गर्नुहोस् । गायन, वादन, नृत्य, साहित्य, चित्रकला आदिमध्ये के छ ? तपाईंसँग रेडियोग्राफी, फोटोग्राफी, डिजाइनिङ, आदिको कला हुन सक्छ । ती कलाहरूलाई निखार्नुहोस् । तपाईं पाक कलामा राम्रो हुन सक्नुहुन्छ । घर, कोठा वा बगैँचाको सजावट गर्ने कला तपाईंसँग हुन सक्छ । यही मौका पारेर तपाईं घरका सदस्यहरूलाई मीठो परिकार बनाएर खुवाउनुह‍ोस् । घर, बगैँचा सजाएर आफ्नो घरलाई स्वर्ग जस्तो बनाउनुहोस् । 

करेसाबारी व्यवस्थापन

करेसाबारीको महत्त्व बुझाउन कि त नाकाबन्दी, कि त यस्तै लकडाउन हुनुपर्दोरहेछ । यस्तो बेला मौकामा चौका दाउ हान्नेहरू धेरै हुन्छन् । यदि तपाईँको घरसँगै सानो खाली जग्गा छ भने सिजनअनुसारको तरकारी बारी लगाइएको छ भने यस्तोबेला थोरै भए पनि राहत दिन्छ ।

प्रश्न उठ्ला, जग्गा हुनेले पो गर्लान्, नहुनेको के ? यदि जग्गा छैन भने पनि कौसी खेती, ‘हाइड्रोपोनिक फार्मिङ’ गर्न सक्नुहुन्छ । यसका लागि भने तपाईँले लकडाउन खुल्ने दिनको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

स्वयंसेवकको भूमिका निर्वाह

जबजब राष्ट्रलाई संंकट पर्छ, तबतब स्थानीय तहदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय तहसम्म ठूलो संख्यामा स्वयंसेवकहरू आवश्यक हुन्छ । यदि तपाईंं बहिर्मुखी स्वभावको हुनुहुन्छ भने यतिबेला यो क्षेत्र तपाईँकन लागि अतिउत्तम समय हुन सक्छ । तर, तपाईँले यसमा अत्यन्तै होसियारी अपनाउनुपर्ने हुन्छ । तपाईँको मनखुसीले भन्दा पनि सरकारसँग समन्वय गरेर आफ्नो सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाएर मात्र घर भन्दा बाहिर निस्कँदा फाइदा हुन्छ ।

भर्चुअल अन्तर्क्रिया तथा ट्यालेन्ट शो

यतिबेला विश्वका धेरैजसो देशहरूमा लकडाउनको अवस्था छ । तपाईं घरमा बसेर जे सोच्दै हुनुहुन्छ, तपाईंका आफन्त र मित्रहरूलाई पनि त्यस्तै भइरहेको होला । यस्तो अवस्थामा तपाईँले मज्जैले डिजिटल प्रविधिको उपयोग गरेर भर्चुअल समूह वा समाज निर्माण गर्न सक्नुहुन्छ । सो ‘प्लेटफर्म’मार्फत् तपाईँले बैठक, अन्तर्क्रिया, गोष्ठी वा सेमिनारसमेत सञ्चालन गर्न सक्नुहुन्छ । 

यस्तो प्लेटफर्ममार्फत् बैठक र सेमिनारमा सीमित गर्नुपर्छ भन्ने पनि छैन । समूहमा आआफूसँग भएका ट्यालेन्ट प्रस्तुत गरेर पनि बिताउन सकिन्छ । मेरो आसय यति मात्र हो कि दुःखको दिनमै सही, हामीले गरेका क्रियाकलाप उपलब्धिमूलक होस् भन्ने हो ।

अन्य घरायसी कार्य

माथि जे जति कुराहरू भए पनि प्रमुख कुरा भनेको तपाईंको परिवारमा प्रेम, खुसी र शान्तिको वातावरण बनाउनु हो । त्यसका लागि दैनिक घरायसी कार्यहरू सँगै मिलेर गर्नु अतिउत्तम उपाय हो । बाहिर हाँसेजस्तो भए पनि यतिबेला परिवारका हरेक सदस्यको मनमा नजानिँदो भय लुकेको हुन्छ । नजानिँदो असन्तुष्टि लुकेको हुन्छ । यतिबेला कसैले केही कुरा गर्‍यो भने तुरुन्तै प्रतिक्रिया जनाउनाले पारिवारिक शान्ति खल्बलिने संंभावना रहन्छ । त्यसैले बोल्ने भन्दा सुन्ने कुरालाई महत्त्व दिनुहोस् । मनका भावना पोख्ने वातावरण निर्माण गर्नुहोस् । हाँसो, ठट्टा गर्नुहोस् । राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल  गर्नुहोस् ।