अविश्वासै अविश्वासको समय

अविश्वासै अविश्वासको समय

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  चैत्र २४, २०७६

भर्खरै अप्रिल लागेको छ । केहीअघि फेब्रुअरी थियो, त्यो धेरै अघि होईन । प्रेम दिवस सकिएको दुई महिना पनि राम्ररी पुगेको छैन । यसबीचमा धेरै कुरा भए, मानव जगत नै उलटपुलट भयो ।

केही समयअघि युरोप बस्ने एक महिला मित्रले भनेको कुरा सम्झन्छु, 'फेब्रुअरी महिना सुन्दर थियो, मान्छेहरू एकले अर्काको अनुहार हेरेर मुस्कुराउने गर्थे, मान्छे-मान्छेमा प्रेम होला जस्तो माहोल थ्यो, अनि त्यसपछि यो समय आयो, जहाँ मान्छेहरू मान्छे देख्दा तर्सन्छन्, मुखमा मास्क लगाएका छन्, हरेकले हरेकलाई शंंकाको नजरले हेर्छन, त्यहाँ प्रेमको कुनै गुन्जायस छैन, मान्छे-मान्छेमा अविश्वास छ ।'

यसबीचमा धेरै हल्ला फैलिएका छन्, मान्छेमान्छेमा अविश्वास चुलिएको छ, मान्छे देखेर मान्छे भाग्ने समय आएको छ ।यो दुनियाँका लागि कठिन समय हो, यहाँ प्रेम उम्रने जमिन नै जर्जर भएको छ । यो संंकट सकिएपछि पनि त्यो जमिन फेरि मलिलो हुन समय लाग्ने देखिन्छ । 

हल्लाका लागि हामी जति तीव्र छौँ, पश्चिमाहरू पनि त्यसभन्दा कम छैनन् । हार्वर्ड युनिभर्सिटीका प्रोफेसर चार्ल्स लिबर र कोरोना भाइरसको सम्बन्ध भएको हावादारी हल्ला हुँदै अहिले पश्चिमाहरू 5G र कोरोना भाइरसको सम्बन्ध भएको हल्लासम्म पुगेका छन् । बीबीसी आफैँले प्रविधि र जैविक रूपमा फैलिने भाइरसको कुनै सम्बन्ध छैन भन्दै लेख्नुपरेको छ । यस्ता हल्लाको पछि राजनीतिक, व्यापारिक तथा वैज्ञानिक प्रोपोगन्डाहरू लागेका हुन्छन्, तिनले आममान्छेको शंंका र अविश्वासमा खेल्ने गर्छन् र व्यापक रूपमा फैलिन्छन् ।

यो मौका निर्माण गर्न नेता तथा प्रशासनकै उच्च निकायमा रहेका व्यक्तिहरू कुन हदसम्म जिम्मेवार छन् ? कोरोना संक्रमण झन् बढाएर वा बढेको त्रास फैलाएर तिनीहरू आमजनतालाई थप लकडाउनमा राखेर पैसा कमाउन लागेका छैनन् भन्ने छ ?

राजनीतिक, व्यापारिक तथा वैज्ञानिक रूपमा चीनलाई आफ्नो मुख्य प्रतिस्पर्धी देख्ने युरोप र अमेरिकी मानसिकताले त्यस्ता हल्लाको प्रवर्द्धन गर्छ, जुन अस्वाभाविक पनि होइन ।

नेपाली किसानहरूले दूध नबिकेर सडकमा पोखेको फाट्टफुट्ट देखिएको छ, लकडाउनले गर्दा बाटो सुनसान बनेका छन्, मान्छेले बोतलको मिनरल वाटर किनेर खाने क्रम रोकिएको छ । काठमाडौं जस्तो शहरका मान्छेहरू ट्यांकरको पानी घरमा स्टोर गरेर घरभित्रै बसेको यो समयमा जारको पानी पनि कम बिक्री भएको हुन सक्छ, यो अवस्थामा तातो पानी खानु, तातो दूध पिउनु कोरोनाका लागि प्रभावकारी हुन्छ भनेर भन्नु आंशिक रूपमा मात्र सत्य हुन सक्छ । पानी तथा दूध सप्लायर्सहरूले निकालेका प्रोपोगन्डा बढी हुन सक्छन् । कोरोना सुरु हुनासाथ कोरोनामा प्रभावकारी हुने प्रोपोगन्डाकै कारण लसुनको भाउ उच्च भएको हामीले देखेकै हो । 

कोरोनाको संंकटमा नेपाल जस्ता देशले लकडाउन जारी राखेका छन्, लकडाउनले जनतालाई घरभित्र थुनेर बचाउने कार्य गरेको भए तापनि यो समयको फाइदा उठाउने तीव्र रूपमा बढेका देखिन्छन् । एकातिर मेडिकल सामान खरिद प्रकरणले सरकार आफैँ जनताको स्वास्थ्यप्रति गम्भीर नभएको प्रस्ट देखाउँछ भने जनता दुई हप्ता हाराहारी लकडाउनमा बसिसक्दा मुस्किलले बाह्र-तेह्र सय बिरामीमा कोरोना जाँच गरिएको देखिन्छ । लकडाउनको पालना सरकारमा पूर्ण विश्वास गरेर जनताले सरकारलाई साथ दिने सहकार्य पनि हो, सरकारमा हुनेहरूले यसलाई गम्भीरताका साथ लिएको देखिँँदैन।

अर्कोतिर सधैँ देश र जनता चुनावमा भुलेको बेला वन फँँडानी र चोरी सिकारी बढ्ने गरेको देखिने ट्रेन्ड यो बेला पनि देखिएको छ । सरकारले जनतालाई कोरोना महामारीतिर केन्द्रित रहनुपर्छ, आफ्नो ज्यान बचाउनुपर्छ भनेर लागेकै बेला देशमा हुने तस्करी मौलाएर गएका छन् । 

आमजनता घरभित्र कोचिएर बसे उनीहरूको ज्यान त सुरक्षित होला तर अर्को हिसाबले मर्दै गरेका देखिन्छ । लकडाउनमा पास उपलब्ध गराउन प्रशासन नै स्वयं लागेर कालोबजारी र तस्करीको कमिसनमा दाउ छोपेको देखिन्छ । एकातिर लकडाउन सोझा साझा जनता थुन्ने र कालोबजारीलाई प्रश्रय दिने ठाउँ बन्नु नेपाली जनताका लागि दुर्भाग्य बनेको देखिएको छ भने अर्कोतर्फ नेपाल जस्तो देशमा प्रशासन कतिसम्म निकम्मा र गैरजिम्मेवार छ र यसको मुख्य चिन्ता जनताको स्वास्थ्यको हो कि होइन भन्ने कुरा देखाउने ऐनासमेत बनेको छ ।

कारोबार दैनिकमा सुब्बा कार्कीले रौतहटबाट संंप्रेषण गरेको चैत २३ गतेको समाचार रिपोर्ट भन्छ, 'विश्व नै यतिखेर कोरोना भाइरसबाट आक्रान्त बनेका बेला रौतहटका काठ तस्कर भने ज्यानको पर्वाह नगरी काठ चोरीमै सक्रिय भएका छन् । मुलुकभर सरकारले कोरोनाबाट बच्नका लागि जारी गरेको लकडाउनकै अवधिमा जिल्लाको विभिन्न स्थानमा तस्करहरूले ठूलो परिमाणमा काठ काटेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटको टोलीले बरामद गरेको छ ।'

समाचारमा भनिएको छ, 'टोलीले तस्करहरूले लैजान लागेको अवस्थामा ५० क्युविक फिटभन्दा बढी काठ र तीन जना काठ तस्करलाई पक्राउ गरेको हो । गत बुधबार डिभिजन वन कार्यालय रौतहटको वन गस्ती टोलीले काठ काटिरहेको अवस्थामा वलेरीखोर वन क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । राती काठ काट्दै गरेको सूचनाका आधारमा डिभिजन वन कार्यालय रौतहटबाट गएको वन गस्ती टोलीले जंगलमा काठ काटिरहेको अवस्थामा दुई जना काठ तस्करलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोदकुमार सिंहले जानकारी दिएका छन् ।'

आवर विराटनगरको चैत २२ गतेको अर्को एक रिपोर्ट भन्छ, 'मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केराबारी साझेदारी वन क्षेत्रमा चोरी सिकारी गर्ने समूहसँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न साढे ३ बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताउनुभयो ।'

जंंगलमा चोरी सिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरी बलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी सिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो । घटनामा कोही घाइते नभए पनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ ।'

यी रिपोर्टले भन्छन्- संंकटको बेला देशमा अवाञ्छित फाइदा उठाउने तत्त्वलाई प्रशासनले किन खेल्ने मौका दिन्छ ? हो, कोरोनाबाट बच्न लकडाउन गरियो, त्यसमा आमजनताले सक्दो साथ पनि दिए तर लकडाउन देश र जनतालाई साँच्ची नै सुरक्षित राख्न गम्भीरतापूर्वक उपयोग गरिएको छ कि जनता थुनेर तस्करी, वन फँडानी, चोरी सिकारी, कालोबजारी र नीतिगत भ्रष्टाचार गरेर देशलाई असुरक्षित राख्न यसको प्रयोग हुँदै छ ? 

यो मौका निर्माण गर्न नेता तथा प्रशासनकै उच्च निकायमा रहेका व्यक्तिहरू कुन हदसम्म जिम्मेवार छन् ? कोरोना संक्रमण झन् बढाएर वा बढेको त्रास फैलाएर तिनीहरू आमजनतालाई थप लकडाउनमा राखेर पैसा कमाउन लागेका छैनन् भन्ने छ ?

हो, कोरोना महासंंकट अविश्वासको समय हो, प्रेम मर्ने समय हो । यहाँ देश-देशबीच अविश्वास, मान्छे-मान्छेबीच शंंका र फुट आएका छन् । 

भारतमा एक व्यक्तिलाई कोरोना लागेको हुनसक्ने भनेर प्रशासनमा खबर दिएकै भरमा एक युवाको हत्या गरिएको खबर पनि सुनिएको हो तर यहाँ अविश्वास आफ्नै प्रशासन र सरकारसँग पनि उत्तिकै छ ।

प्रशासनले जनतालाई सबै हिसाबले आश्वस्त राख्न सक्दैन भने र लकडाउनमा बसेर जनताले गम्भीर भएर कोरोनाविरुद्ध लड्न सहकार्य गरेका छन्, योगदान गरेका छन् भनेर बुझ्दैन भने अनि घरभित्र बसे पनि मर्ने, घरबाहिर बसे पनि मर्ने परिस्थिति निर्माण गरिन्छ भने जनता लकडाउन उल्लंंघन गरेर बाहिर निस्कनुको विकल्प रहँँदैन । त्यो अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्छ ।

लकडाउन कोरोना संंकटको समाधान होइन, यो कोरोना संक्रमण फैलिन नदिन एउटा प्रभावकारी उपाय मात्र हो । यो समस्यारहित पनि छैन । लकडाउनको समयमा मान्छे एउटा शारीरिक रोगबाट त जोगिएला तर यो समयमा भारतमा मानसिक रोगी बढ्दै गएको भारतीय मिडियाले रिपोर्ट गरिरहेका छन् ।

मानव श्रम निष्क्रिय बनेको यो समयले विश्वलाई नै आर्थिक संंकटतर्फ र गरिबी उन्मुख गर्दै लगेको छ । त्यसैले कुनै पनि व्यक्ति विशेष वा समूह विशेषको अवाञ्छित फाइदा देखेर लकडाउन लम्ब्याउने वहाना खोज्ने वा त्रासको खेती गरेर जनता लामो समयसम्म थुनेर राख्न सकिन्छ भनेर सोच्नेहरूले छिट्टै यसका भयावह परिणाम भोग्नुपर्नेछ । थोरै सोचौँँ ।

सचेत भएर लकडाउन छिटो अन्त्य गर्ने गरेर 'एक्सन'मा जानुबाहेक अर्को विकल्प छैन  ।