प्रधानमन्त्रीबाट अपेक्षा जनस्तरमा उठेका प्रश्नका बारेमा उचित छानबिन गर्छु /गराउँछु भन्ने थियाे, ओठे जवाफ हाेइन

लाेकस‌ंवाद टिप्पणी

प्रधानमन्त्रीबाट अपेक्षा  जनस्तरमा  उठेका प्रश्नका बारेमा उचित छानबिन गर्छु /गराउँछु भन्ने थियाे, ओठे जवाफ हाेइन

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  चैत्र २५, २०७६

विश्व कोरोना कहरबाट गुज्रिइरहेका बेला नेपाल पनि अहिले लकडाउनको अवस्थामा छ । कोरोना संक्रमण व्यक्तिबाट सर्ने हुँदा सामाजिक दूरी अर्थात व्यकतिहरूबीचको दूरी कायम गर्नु नै यसको संक्रमण रोकथामको उपयुक्त विकल्प हो । 

यही कारण नेपाललगायत धेरै देशले अहिले लकडाउन गरेका छन र यसले पक्कै पनि कोरोना भइरस फैलिनबाट रोकेथाम केही हदसम्म भएकाे  अवस्था छ ।

नेपाल दुई सातादेखि लकडाउनमा छ र आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा संबोधन गर्दै आठ दिनका लागि लकडाउन लम्ब्याएको बताउनुभएको छ । सँगसँगै अरू एक साता थप हुन सक्ने पनि संकेत गर्नुभएको छ । यो वर्तमान अवस्थामा स्वाभाविक हो पनि । 

त्यसो त पछिल्लो समय केही गल्ती/कमजोरीका बबजुद सरकारले कोरोना कहरको व्यवस्थापनमा सक्दो सकारात्मक कदम चालिरहेको छ, जुन सरकारलाई धन्यवाद दिनै पर्ने  हुन्छ । तथापि, यसबीच सरकारका मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारमार्फत जेजस्ता कृत्य भएका भनी सार्वजनिक भएको छन् ।  त्यसबाट सरकारलाई आलोचना मुक्त्त हुन भने सकेन । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा रक्षामन्त्री र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको उनीहरूका छोरामार्फत भएको अनियमितताको प्रश्न, प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञको एउटा अनलाइन 'ह्याक' प्रकरण आदि सरकारको चर्को विरोधका आधार बनेएका  हुन् । विभागीय मन्त्री भानुभक्त ढकालको छुद्र टिप्पणी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका जनताको चित्त दुखाउने भनाइ आदिका कारण पनि वर्तमान सरकार आलोचना रहित भने बन्न सकेन् । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा मन्त्रालयकाे नेतृत्व चुकेकाे  विषयमा सम्झौता रद्द गरेको विषय र चाइनाकाे राजदुताबासले सार्वजनिक  गरेरकाे मूल्य सूचिका आधारमा सञ्चार माध्यम  र सामाजिक सञ्जालमा  प्रश्न उठाएका हुन् । जुन कुरा  विभागीय मन्त्री भानुभक्त ढकाल  स्विकार गरिसकेकाे  विषयलाई छानविनकाे  दयारामा ल्याइसकाे कुरा प्रधानमन्त्रीकाे सम्बाेधनमा आम जनताकाे अपेक्षा थियाे । 

यसबीच सरकार परिवर्तन र मध्यावधि निर्वाचनका अफवाह पनि फैलिए/फैलाइए । यो अहिले बेकारको कुरा हो किनभने संसार कोरोना कहरमा डुबेका बेला यो न आवश्यकता हो, न त संभावना नै ।

तथापि, केही मन्त्री र सल्लाहकारमाथि उठेका यति धेरै प्रश्नको जवाफ भने दुनियाँले खोजिरहेकै छ । आज गरिएको प्रधाममन्त्रीको संबोधनमा धेरैले कान ठाडा पारे- कतै यी प्रश्नको संबोधन प्रधानमन्त्रीद्वारा हुन्छ कि भनेर । तर, दुर्भाग्य ! प्रधानमन्त्रीले उल्टै यस्ता प्रश्न उठाउनेलाई ओठे जवाफ जवाफ दिनुभयाे- उठेका प्रश्नका बारे उचित संबोधन/छानबिन गर्छु/गराउँछु भन्ने आएन । जाे जनताबाट अपेक्षा राखिएकाे  थियाे । 

यसले प्रधानमन्त्रीको छविलाई उजिल्याउँदैन, बरु धमिल्याउँछ । गलत गरेको, अनियमितता र भ्रष्टाचार गरेको भनेर आफ्नै परिषद्का मन्त्री र सल्लाहकारमाथि प्रश्न उठिरहँदा चुपचाप बस्ने र उल्टै प्रश्न उठाउनेमाथि ओठे जवाफ  दिनुले प्रधानमन्त्रीको कद बढाउने भन्दा घटाउने छ नै, सँगसँगै सरकार यस्तो संकटका बेला पनि अनियमितता र भ्रष्टाचारमा आँखा चिम्लिएर तस्कर, माफिया र फटाहाको मतियार बनिरहेको छ भन्ने ठाउँ दिइरहेकाे  छ ।

प्रधानमन्त्री आफैँमा सफा नियतले काम गर्दै हुनुहोला तर उहाँका मन्त्री, सल्लाहकार र आसेपासेले उहाँलाई गुमराहमा राखेर कतै बदनाम गरिरहेका त छैनन भनेर सोच्नु पनि बुद्धिमानी ठहर्छ ।

गलत सल्लाहकार र सहयोगीको पासमा पर्दा कौरवले हस्तिनापुरसँगै कुल नै गुमाएको तथ्य प्रधानमन्त्रीज्यूलाई अरूलाई भन्दा बढी नै थाहा छ किनभने लामो समय जेलजीवन व्यतीत गर्दा महाभारत धेरै पटक पढ्नुभएको भन्ने सुनिएको छ ।