गरिब र श्रमिकलाई राहत वितरण

गरिब र श्रमिकलाई राहत वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  चैत्र २६, २०७६

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटले आफ्नो वडाभित्र कोरोना भाइरसका कारण गरिएको लकडाउनले समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ । मङ्गलबार बगरफाँट र खबरामा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडासचिव राजाराम शर्मा सापकोटालगायत राजनीतिक पार्टीका प्रतिनिधिहरुले राहत वितरण गरेका हुन् ।

ज्यामरुककोटमा लकडाउनका कारण आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ८९ परिवार राहतका लागि छनोट भएका वडाअध्यक्ष थापाले जानकारी दिनुभयो । उनीहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनोट गरेपछि राहत वितरण शुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिपरिवार एक बोरा चामल, तीन केजी दाल, दुई पोका नुन, चार पोका तेल, दुई केजी चिनी र चार वटा साबुनका दरले वितरण गरिएको छ । वडाका जनप्रतिनिधिहरुमार्फत टोलटोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला गुहँ, तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने र  चैतेधान रोप्न भ्याइनभ्याई हुने समय हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना सङक्रमणको रोगथामका लागि देशमा जारी लकडाउनका कारण कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाइ भएको छ ।