बागलुङमा र्‍यापिड टेस्ट गर्न ढिलाई ‍

बागलुङमा र्‍यापिड टेस्ट गर्न ढिलाई ‍

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  चैत्र २६, २०७६

कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।  
 स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मङ्गलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन्

।  पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय  बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ । 

 हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौं अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।  ‘हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन’, उहाँले भन्नुभयो ‘स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।’ पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो ।