'बान्नीकि चैतली' मेला, कोरोना महामारी र दुला पसेका एनजिओ/आइएनजिओहरू

'बान्नीकि चैतली' मेला, कोरोना महामारी र  दुला पसेका एनजिओ/आइएनजिओहरू

भरतराज पोखरेल  |  दृष्टिकोण  |  चैत्र २७, २०७६

'केहिदिन यता अछाममा बम्बैबाट आयेका मानिसहरू बिरामी बोक्ने एम्बुलेन्समा पावर लगाएर आउने र चौखुट्टेमा पुग्दा हाम्रा जनप्रतिनिधि जिम्मा लिने र क्वारेन्टाइनमा नबसी गाउँमा जथाभाबी घुमफिर गरिरहने .....' ।  भारतबाट अवैध नाका प्रयोग गरी पैदल मार्गबाट आउने क्रम अछाममा जारी छ । नगरपालिका ,गाउँपालिकामा बनाएका क्वारेन्टाइन खाली फेसनजस्ता मात्र भयका छन । मङगलसेन नगरपालिका बाहेक कुनै ठाममा कुनै पनि व्यक्ति बाहिरबाट आयका क्वारेन्टाइनमा बसेका छैनन् जिल्लामा भएका स्वास्थकेन्द्रहरुमा केही पनी उपकरणहरू छैनन्, विज्ञ स्वास्थक्रमी पनि छैनन्, जति भन्दापनी जनचेतना खास गरी भारतबाट आएका दाजुभाइहरू मान्दैनन्, यस्तो अछामको विषम परिस्थितिमा, समयमा हामी सबै अछामवासी दाजुभाइ, सुरक्षा निकायका साथीभाइहरू,राष्ट्रसेवक साथीभाइहरू सबैले बेलैमा आवश्यक पहलकदमी चाल्नुपर्ने हुन्छ अन्यथा अछाममा भुसमा लागेको आगो सरह माहामारिको रूपमा आयको कोरोनाले सबैलाई सखाप पार्नेछ '।

केही दिन अघि सुदूरपश्चिमका एक जना जिल्ला तहका नेताको सामाजिक सञ्जालमा व्यक्त भएको  चिन्ता र चासो हो  यो । 

अनि सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या थपिएको समाचार सार्वजनिक भएसँगै चैत्र २४ गते बझाङमा 'बान्नीकि चैतली'  एक धार्मिक मेलामा पाँच हजार जति  मानिस जम्मा भएको समाचार आएको छ । त्यो मेलामा संयौं सामेल भएको तस्बिर सार्वजनिक भएसँगै जनचेतनाको विचित्र अवस्था र वेपरवाहाको नमुना छर्लङ्ग भएको छ । 

लुकाएर, झुक्क्याएर यो महामारीबाट पार पाउने कुनै सम्भावना छैन । तसर्थ सामुहिकरुपमा लडौँ, सतर्क होऔँ । यो पसिसकेको छ, यसलाई फैलिन नदिई घेराबन्दीमै राख्नु बुद्धिमानी हुनेछ । अन्यथा यो फैलिँदै गयो भने हाम्रो जस्तो मुलुकको अवस्था के हुन्छ, भन्न सकिन्न । स्वास्थ्य सुविधा उन्नत रहेका इटाली, स्पेनको मात्रै होइन बेलायत र अमेरिका जस्ता शक्ति राष्टको समेत सेखी झारेको कोरोनाले हामीलाई कहाँ पुर्‍याउला ? 

 

विश्वका शक्ति राष्ट्रदेखि गरिबसम्मका प्रायः सबै जसो मुलुक कोरोना भाइरस (कोभिड १९) सँग लडिरहेको बेला देश भित्रैका दुई तिनवटा प्रतिनिधि घटनाले  झनै गम्भीर बनाइरहेको छ । उत्तरी छिमेकबाट सुरु भएको कोरोना महामारी अहिले विशेष छिमेकीबाट भित्रिएको छ । खुल्ला सीमाना अहिले कोरोना नियन्त्रणका लागि गम्भीर चुनौतीको रूपमा खडा भएको छ । 

भारतमा रोजगारीका लागि गएका सैयौं मानिस असुरक्षित तरिकाले एकै पटक गाउँ फर्किदा सुदूरपश्चिम कोरोना महामारीको उच्च जोखिममा छ । नेपाल भारत सीमा नजिक भारत तर्फ रोकिएका सैयौं नेपालीको पीडा आफ्नो ठाउँमा छँदैछ वैध अवैध दुवै बाटोबाट मातृभूमि फर्केकाहरुले झन्डै डेढ लाखले पनि समाजमा चिन्ता थपेका छन् । कोरोना प्रभावित क्षेत्रबाट आएकाहरूले आवश्यक  सावधानी अपनाउन नसक्दा आफुमात्रै होइन परिवार, समाज र देशलाई नै जोखिममा पार्ने काम भएको छ । 

जनचेतनाको कमिले पनि यो क्षेत्र बढी जोखिममा रहेकाे  छ । यस्तो महामारीको बेला जात्रा मेला आदिमा रमाउन खोज्नु भनेको आफैँमा सङ्कट निम्त्याउनु हो । रोग भित्रिनै नदिनु जति बुद्धिमानी अरू केही हुन सक्दैन । त्यसो त स्वास्थ्य सेवा देशव्यापी रूपमै त्यति राम्रो नभएको बेला सुदूरपश्चिमको अवस्था अझै दयनीय छ । यस्तो बेला आफै सतर्क हुनुको विकल्प छैन । 

आफूलाई शिक्षा, स्वास्थ्यको ठेकेदार सम्झिने एनजिओ/आइएनजिओहरू अहिले दुला पसेका छन् । एनजिओ/आइएनजिओहरुले हिजो कतिसम्म गरे भने एड्स रोक्ने नाममा भारत भएको श्रीमानलाई चिठी पठाउँदा कन्डम समेत खामबन्दी गरेर पठाउन लगाए । यति गरिसके पछि जनचेतनाको नाममा कति तमासा देखाए होलान् ? सहज अनुमान गर्न सकिन्छ । छाउपडी हटाउने भन्दै छाउगोठ भत्काएको त अस्ति भर्खर हो ।  तर अहिले कोरोनाले आक्रान्त पारेको बेला ठुलो धार्मिक मेलामा जमघट गर्नुहुँदैन भन्ने कोही निस्किएनन् । अनि कोरोना प्रभावित क्षेत्रबाट आएपछि कम्तीमा १४ दिन सुरक्षित क्वारेन्टाइनमा बसेर परिवार वा समाजमा यो रोग फैलिनबाट जोगाऊँ भन्ने कोही भेटिँदैन । यस्तै ताल हो भने सुदूरपश्चिम कोरोनाको 'इपिसेन्टर' बन्न  सम्भावनालाई नकार्न सकिन्न ।  

                                                                                                                                 फाेटाे उर्वादत्त पन्तकाे फेसबुकबाट

सुदूरपश्चिम मात्रै होइन भारतसँग सीमा जोडिएको क्षेत्र मेची देखि महाकालीसम्म खतरामा छ । विशेष गरी सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या अलि धेरै छ भने अन्य सीमा क्षेत्र विशेष गरी प्रदेश नम्बर दुई रोटिबेटीको सम्बन्धका कारण आवत जावत बढी नै हुने गरेको छ । अस्ति मात्रै भारतमा उपचार गराइरहेका सप्तरीका एक जना कोरोना सङ्क्रमित अस्पताल बाटै भागे । भारतीय प्रहरीले फोटो र ठेगाना सहित सूचना निकालेपछि १२ घण्टा पछि उतै पक्राउ परे । यसरी लुकिछिपी नेपाल पस्नेको सङ्ख्या कति होला  यसबाट पनि अनुमान गर्न सकिन्छ । 

लुकाएर, झुक्क्याएर यो महामारीबाट पार पाउने कुनै सम्भावना छैन । तसर्थ सामुहिकरुपमा लडौँ, सतर्क होऔँ । यो पसिसकेको छ, यसलाई फैलिन नदिई घेराबन्दीमै राख्नु बुद्धिमानी हुनेछ । अन्यथा यो फैलिँदै गयो भने हाम्रो जस्तो मुलुकको अवस्था के हुन्छ, भन्न सकिन्न । स्वास्थ्य सुविधा उन्नत रहेका इटाली, स्पेनको मात्रै होइन बेलायत र अमेरिका जस्ता शक्ति राष्टको समेत सेखी झारेको कोरोनाले हामीलाई कहाँ पुर्‍याउला ?