'आज राती सपनीमा....' गीतको रचना सन्दर्भः सपनीमा आमासँग भेटवार्ता र सक्मित गुरुङको स्वर
चैत्र २७, २०७६

हरेक मान्छे गीतको आफैमा स्रोत हो ।  भोगाई फरक हुनसक्छ तर समय उस्तै हो ।  तसर्थ मेरो भोगाइको अवस्था अरूसँग जस्ताको तस्तै नमिल्न सक्छ, तर वास्तविकता भने उस्तै हुनसक्छ । र, त संसारका मान्छेको अनुहार एक आपसमा मिल्दैन । 

गीत,  के हो मलाई पनि थाहा छैन ।  अङ्ग्रेजीमा सोह्रौँ सताप्दीको मध्यतिर ग्रिक लिरिकको कवितालाई गीत भनिएको  रहेछ । गीतलाई वर्गीकरण गर्दा सुख र दुःख भावुक छोटा र साङ्केतिक कथाका रूपमा पनि व्याख्या समेत गरिएको देखिन्छ । मैले रचना गरेको गीत 'आज राती सपनीमा'  पनि आफ्नै भावुकताको उपज हो भन्ने आजभोलि लाग्न थालेको छ मलाई । 

 निरन्तर आफ्नै लयमा खोल्सा झैँ बगिरहेछु ।  यो मोडमा मेरो दुःख र सुखलाई गीतका रुपामा लाखौँ स्रेता माझ पुर्‍याउन प्रसिद्ध गायिका सुक्मित गुरुङ र सङ्गीतकार दिनेश सुब्बाले साथ दिनु भएको गीत रहेको छ - 'आज राती सपनीमा बात मार्न आयौ' 

यो गीतको आफ्नै जीवन छ ।  यसमा आफ्नै विभिन्न समय र भोगाइको गहिरो छायाँ छ । त्यो छाँयाभित्र मैले अनुभव गरेको अनेक तिता मिठा कथाहरूको प्रतिनिधित्व गर्छ ।  गीतको कथाभित्र म उभिएको छु ।  गीतभित्र सुख र दुःख दुवै छ ।  मान्छेले भोग्ने समय नै स्वर्ग रहेछ ।  कोही स्वर्ग जाँदैन र स्वर्ग छँदा पनि छैन । यो त प्राचीन धार्मिक शासकहरूको चलाखी मात्र  थियो ।  

कनै सृजनामा समय, वातावरण र तात्कालिक घटनाको प्रभाव  बढी हुने गर्छ । विचार मात्र पूर्ण होइन त्यसलाई समाजमा ल्याएपछि मात्र संवेदनशील बन्न सक्छ । मान्छेको मन जब लेखकीय शब्दले छुन्छ स्वभाबिक रूपमा एक प्रकारको त्यसले शक्ति आर्जन गर्छ ।  मानिसलाई पीडाबाट मुक्त बनाउँछ । सोचाइमा परिवर्तन ल्याउँदछ ।  गीत लोकप्रिय विधा पनि हो,  यसको नसा तुरुन्तै लाग्छ र त बाँचुन्जेल मान्छे गीतको तालमा जीवनको लय मिलाउने प्रयास गर्दछ । जस्तो हाँसो, रोदन, बेहोशिता भएको अवस्थामा पनि मान्छे गीतको सहारा लिने गर्दछ । गीत गएर बेसोहीमा पनि दुःख मेट्छ । सुखमा पनि गीतबाट सुखी बाँड्छ ।  एक पल्ट आइन्स्टाइनले भनेका थिए – 'म वैज्ञानिक नभएको भए,सांगीतकर्मी हुन्थेँ ' ।  

राती सुतेको थिएँ, एक्कासि आमाले बोलाउनु भयो ! आमा मेरो डेरामा पस्नु भएको थियो । म झस्केर उठ्दा आमाले ढोका खोलेर गएको देखेँ र आमाले घरबाट आलु, गुन्द्रुक, घिउ ल्याइदिनु भएको थियो ।  म उठेर आमाको सम्झनामा निक्कै बेरसम्म रोएँ र अहिलेसम्म  पनि सपनामा आमासँग भेटेको दृश्य मेरो आँखामा झलझलती छ  । याे सपनाले  कहिले घर जाऊ जाऊ जस्तो भएँ र दुई चार दिनसम्म यो छायाँले निराश बनाइरहो तर पनि बाँच्न सहरमा लय मिलाउन करै लाग्दथ्यो ।

यो मेरो गीत प्रसिद्ध गायिका सुक्मित गुरुङले गाउनु भएको थियो भने यसमा सङ्गीत दिनेश सुब्बाले भर्नु भएको थियो ।  दिनेश सुब्बा राम्रा युवा सङ्गीतकार हुनुहुन्थ्यो हाल उहाँ हङकङगतिर हुनुहुन्छ । यो गीत बनिसके पछि मैले सुक्मितजिलाई गाउन अनुरोध गरेको थिएँ ।  आज भन्दा २७ वर्ष अगाडि ।  त्यो समय सुक्मितजिको ठुलो 'क्रेज' साङ्गीतिक क्षेत्रमा थियो । अहिले पनि उहाँको  'भोकल' त्यति नै प्रभावपूर्ण छ । गाह्रो गीतलाई सजिलैसँग उठाउने उहाँमा एक खालको  क्षमता छ ।  सुक्मितजिले सजिलै तिस मिनेटमा यो गीतलाई जीवन्तता दिनुभएको  थियो । गीत रेकर्डपछि चिया पिउने समयसम्म छैन सरी भन्दै हतारमा जानुभएको सम्झना अहिले पनि मलाई छ ।  दिनेसजि त्यतिकै शालीन मान्छे, भोलि पर्सि भेट्ने सल्लाहपछि दुइभाई रेडियोबाट छुटिएका थियौँ र गीत भोलिपल्ट नै रेडियो नेपालमा बज्यो  । तर विडम्बना भन्नु पर्छ गीतकारको नाम मेरो नभनेर अर्कै भन्यो । त्यस बेला मेरो कम्ती चित्त दुखेन हप्ता दिनसम्म !  त्यो गीत यस प्रकार रहेको थियोः

आज राती सपनीमा बात मार्न आयौ 
ब्युँझी हेर्दा फेरि ढोका खोली गयौ र 
अँध्यारोमा टोल्याइरर्हें  तिम्रो सम्झनामा 
बास बस्न आऊ तिमी मेरो बिपनीमा 
तिमी तर्ने खोला छ कि बनाई दिन्छु पुल 
आउँछौ भने बाटो भरी छरिदिन्छु फूल र
कुहिरोभित्र आउने को हो चिन्न सकिनँ
तिमी हौ कि भनी सल बलियो मन 
धेरै रात त्यसै बित्यो सम्झनामा डुबी 
आउँछौ भने सधैँ आऊ हावासँग उडी र

यो शब्दको पछाडि आफ्नै जीवनको छायाँहरु पक्कै पनि रहेका छन् र कुनै पनि बस्तुको पछाडि भागभित्र अर्को अमुर्तक दृश्य वा चित्र हुन्छ नै र जसरी अँध्यारोको पछाडि उज्यालो पनि हुन्छ  ।  यो गीतको पछाडि म जीवन प्राप्तिको सपना बिपना बोकेर मौन उभिएको छु र जुन चित्र म लेखेर देखाउने प्रयास गर्छु  ।  

सानो तेह्र वर्षको उमेरबाट स्कुल पड्ने क्रममा मैले घर छोडेको थिएँ र गाउँको स्कुल सकिएपछि खोटाङको भगवती हाइस्कुल पढ्न जाने भएँ र नयाँ ठाउँ दुई घण्टाको टाढा थियो र डेरा लिएर म भन्दा अलिक उमेरले दाइहरू रामकृष्ण, इच्छा, देवी, हर्कहरुसँगसँगै बसेँ र स्कुलबाट डेरा आएपछि भात पकाउन जङ्गलमा दाउरा खोज्न जान्थ्यौ र कोही पानी भर्न र दाइहरूले अलिक माया गर्थे मलाई र मेरो काम आगो फुक्ने यस्तै हुन्थ्यो  ।  एकदम न्यास्रो लाग्थ्यो घर, दिदी,भाइ,आमा बुबालाई सम्झेर र सपनामा कहिले काहीँ घर गएको देख्थेँ र त्यस रातभरि रोएर रात काटेको हुन्थेँ   ।  हप्तामा  एक दिन घर जाँदा कति बेला घर पुग्ने भनेर दुई घण्टाको बाटो एकै घण्टामा हिँडेको अहिले जस्तो लागिरहन्छ मलाई ।  एक रात सुतेर फेरि सातु सामल तरकारी बोकेर शनिवार फर्कन पर्दा कम्ती बेरमाइलो लाग्दैनथ्यो  ।  अझ पनि त्यो दिनका यादहरू सम्झन चाहन्न र कहिले काहीँ दिदीले घरबाट खाजा, उसिनेको आलु  र  चामरे ल्याएर खुवाउनुहुन्थ्यो र फेरि दिदी फर्केर घर गएको दृश्य हेरेर रुन्थेँ  ।  

एक वर्षपछि मेरी साइँली तिम्मा (बुबाको दिदी)ले  मलाई आफ्नो घरमा सधैँको लागि झार्नु भयो र मलाई औधी माया गर्नु हुन्थ्यो र स्कुलबाट दस मिनेटको बाटो थियो र  त्यसपछि मेरो नियास्रोपन सुस्तरी हट्दै गयो र मलाई खेल्ने साथीहरूको समस्या पनि कम भएको थियो ।  लोकल साथीहरू नै क्लासको साथीहरू थिए- कृष्ण, शेषराज बन्जारा, नानीबाबु, भोटे, तिखे ओझा, जहारलाल परिवार  लगायतका  । 

२०२८ सालमा स्कुल पास गरेपछि मेरो अन्तरे बाबै (काका) को पछिलागेर कलेज पढ्न झापा तिर झरेँ  ।  मेरो ठुलो कान्छा बाबै (काका) झापा बिचार्निमा राम्रोसँग बस्नु भएको थियो ।  दुइबर्ष कलेज पढ्दा दुई महिना बाहेक घरबाट कलेज जाने गर्थे र घरको सम्झनाले कहिले कहीँ सपना देखेपछि पिडा दिन्थ्यो र कलेज सकेपछि तुरुन्त शिक्षा कार्यलयको आयोगबाट २०३१ सालमा स्थायी शिक्षक पास गरेँ । काँकडभिट्टा नजिकको नक्कलबन्द प्रावि स्कुलमा काम गर्न थालेँ ।  फेरि एक्लो महसुस हुन थाल्यो । घरको सम्झनाले सताइरह्यो, सायद सानो उमेर भएर नै होला ।  कति बेला बिचार्नीको घर जाऊँ जस्तो हुन्थ्यो र यस्तै साना घटनाहरू मेरो गीतको आधार बन्दै गएछ, सायद ।

काठमाडाैँ  आउने सपना देख्न थालेँ र यहाँ आएपछि लगातार सङ्घर्ष गरेँ । काठमाडौँ आउन चार दिन लाग्थ्यो ।  ठुलो संसारमा सिक्ने अवसर पाएँ र आफ्नो बिचारलाई तिखार्ने मुख्य ठाउँ सबैको काठमाडौँ नै हो ।  घरको सम्झनाले पेलिरहन्थ्यो  ।  डेरा बागबजारमा थियो ।  ३०३४ सालमा खोटाङ जिल्लाका साथीहरू दस पुग्दै थियौँ ।  राती सुतेको थिएँ, एक्कासि आमाले बोलाउनु भयो ! आमा मेरो डेरामा पस्नु भएको थियो । म झस्केर उठ्दा आमाले ढोका खोलेर गएको देखेँ र आमाले घरबाट आलु, गुन्द्रुक, घिउ ल्याइदिनु भएको थियो ।  म उठेर आमाको सम्झनामा निक्कै बेरसम्म रोएँ र अहिलेसम्म  पनि सपनामा आमासँग भेटेको दृश्य मेरो आँखामा झलझलती छ  । याे सपनाले  कहिले घर जाऊ जाऊ जस्तो भएँ र दुई चार दिनसम्म यो छायाँले निराश बनाइरहो तर पनि बाँच्न सहरमा लय मिलाउन करै लाग्दथ्यो । काठमाडौँ आएको तीन दिनपछि हवाई विभागमा अस्थायी खरिदारको काम पाएँ र यसको लागि आदरणीय देवराज ढकाललाई सम्झन चाहन्छु ।  

समय बित्दै गयो र सहरलाई खेददै गएँ, आजतक सहरलाई राम्री चिन्न सकिनँ । जब गीतको चक्कर सुरु भएपछि यो गीतको जन्म भएको हो र मैले आमालाई सपनामा देखेको मिठो घट्नालाई गीतमा रूपान्तर गरेको हुँ र आज पनि यो गीत सुन्नसाथ आमाको हँसिलो मुस्कान सम्झन्छु र मानिसको जीवन यस्तै सम्झना नै अमर बन्दो रहेछ र सुख दुःख सम्पत्ति बाँचिन्जेल मात्र रहेछ । 

मेरो यो सपनालाई जनमानसमा लान सघाउने प्रिय मित्र सङ्गीतकार दिनेश सुब्बा गायिका सुक्मित गुरुङलाई आभार प्रकट गर्दछु र मेरी आमा अहिले हुनुहुन्न तर हरदम सम्झिरहे छु  । 

यो गीत सुन्न चाहनु हुन्छ भने युट्युबमा वा यहाँ पनि सुन्न सक्नु हुन्छ


प्रा. डा‍. विष्णु राई कवि तथा मानव शास्त्री हुनुहुन्छ ।