कोरोना महामारी पश्चता विश्वमा आउने आर्थिक मन्दी र मानव जातिको सामर्थ्य

कोरोना महामारी पश्चता विश्वमा आउने आर्थिक मन्दी र   मानव जातिको सामर्थ्य

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  चैत्र २८, २०७६

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा सबै जना आतङ्कित तथा त्रसित भइरहेका छन् । हालसम्म कुनै पनि प्रभावकारी औषधि तथा भ्याक्सिन पत्ता लागि नसेको हुँदा  सम्पूर्ण मनुष्य जातीको अस्तित्वमा सङ्कट पर्ने देखिन्छ । यसले पार्ने स्वास्थ्यको साथसाथै आर्थिक तथा सामाजिक समस्याहरूले सबैलाई चिन्तित तुल्याइरहेको छ । विश्वकाधेरैजसो देशले सोसियल डिस्टायान्सिङ्ग, क्वारेन्टाइन, लकडाउन जस्ता नीतिहरू अपनाएर यसको महामारीको वेगलाई थेग्न कोसिस गरिरहेका छन्  । 

चीनको वुहान सहरमा २०१९ नोभेम्वरमा देखिएको कोरोना भाइरसको महामारी छोटो समयमा विश्वभर देखिन थाल्यो । चीनले यस रोग नियन्त्रणको लागि सन् २०२० जनवरी २० मा सम्पूर्ण रूपले लकडाउनको घोषणा गरेको थियो ।  मुख्यतया वुहान सहरलाई केन्द्रित गरी २० वटा राज्यहरूमा लकडाउनको घोषणा गरेको थियो । यसो गर्दागर्दै पनि ८१ हजार ८ सय ६६ जना व्यक्तिहरूमा सङक्रमित भई ३ हजार ३ सय २५ जना व्यक्तिहरूको मृत्यु हुन पुग्यो । यही अप्रिल ८, २०२० मा चीनले करिब ७६ दिनको लकडाउनका घोषणा फिर्ता लिइसको छ  र हाल वुहान तथा अन्य सहरहरूमा सामान्य स्थितिको अवस्थामा आउन कोसिस गरिरहेको छ । 

चीनपछि  कोरोना भाइरसको महामारी फैलिएको देश हो इटाली,  मुख्यतया इटालीको लोम्वर्डी सहरमा कोरोनाको लक्षण जनवरीदेखि देखिएता पनि सरकारले यसप्रति खासै ठुलो कदम चालेको थिएन । तर भुसको आगो सल्किए जस्तै छोटो समयमा  नै यसले महामारीको रूप लिन थाल्यो । सन् २०२० मार्च १० देखि लागू हुने गरी लकडाउनका घोषणा गर्‍यो र लकडाउनको पनि अवधि अप्रिल १३ सम्म लगाएको छ । हालको अवस्थामा १ लाख ४० हजार भन्दा बढी व्यक्तिमा सङक्रमित भई करिब १८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

 यस्तै प्रकारले युरोपको अर्को देश स्पेन पनि कोरोना भाइरसको महामारीबाट अति नै पीडित छ । करिब ५ करोड जनसङ्ख्या भएको स्पेनमा जनवरीको सुरुवात मै कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको थियो । भाइरसको महामारी बढ्न थालेपछि मार्च १४ मा सम्पूर्ण रुपामा लकडाउनको घोषणा गर्‍यो । सुरुमा १५ दिने घोषणा गरे पनि हाल लकडाउनको अवधि १२ अप्रिलसम्म लम्बाइएको छ । यस्तै प्रकारले फ्रान्स पनि कोरोना भाइरसको असर जनवरी २४ तीर देखिन थालिएको थियो । मार्च १४ मा सम्पूर्ण लकडाउनको घोषणा गरियो र यो अवधि हालसम्म १२ अप्रिलसम्म लगाइएको छ । हालसम्म फ्रान्समा करिब १ लाख २० हजार व्यक्तिहरुमा सङ्क्रमित भई करिब ११ हजारको मृत्यु भएको छ र स्पेनमा पनि करिब १ लाख ५० हजारमा सङ्क्रमित भई करिब १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । युरोपका विकसित राष्ट्रहरू स्पेन, इटाली र फ्रान्सले सुरुमा होसियारी पूर्वक कार्य नगर्दा नै यो दुरदर्श भोग्नु परिरहेको छ । 

अतः विश्वका सबै राष्ट्रहरू एकजुट भएर कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नु जरुरी छ र साथसाथै आर्थिक मन्दी हुने सम्भावनालाई बिचार गरेर ठोस विश्वव्यापी निर्णयहरू गर्नु जरुरी छ । नेपालले अहिले लिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने नीति सह्रानीय नै छ । तर भविष्यमा आउने ठुलो आर्थिक सङ्कटलाई थाम्न सक्ने ठोस आर्थिक तथा सामाजिक नीतिहरू आउन जरुरी छ ।

यसको विपरीत जर्मनीले ठोस कदम चालेको हुँदा त्यति धेरै विपत्ति झेल्नु परेको छैन । जनवरी २७ मा जर्मनीमा कोरोना भाइरसका बिरामी फेला पारिएको थियो । त्यसपछि केही ठोस कदमहरू चाल्दै बिस्तारै सोसियल डिस्ट्यान्सिङ्गको नीतिहरू अवलम्बन गर्न थालियो । मार्च २० मा केही प्रान्तहरूलाई लकडाउन अथवा सोसियल कर्फ्युको घोषणा गरियो  र हालसम्म करिब १ लाख २० हजार व्यक्तिमा सङ्क्रमित भए पनि करिब २३ सय जनाको मात्रै मृत्यु भएको छ । यो तथ्याङ्कले सबैलाई अचम्मित बनाएको छ । 

यस्तै प्रकारले अन्य युरोपेली देश नर्वेमा पनि फेब्रुअरी २६ मा कोरोना भाइरसको लक्षण देखियो र मार्च १६ देखि अप्रिल १५ सम्म लकडाउनको अवधि बढाइएको छ । नर्वेमा करिब ६ हजार व्यक्ति सङ्क्रमित छन् र करिब १ सय जनाको मात्रै मृत्यु भएको छ । यस्तै प्रकारले बेल्जियममा ४ फेब्ररीमा कोरोना भाइरसको लक्षण देखियो र लकडाउनको अवधि १७ मार्च देखि १९ अप्रिलसम्म बढाइएको छ । बेल्जियममा करिब २४ हजारमा सङ्क्रमणको लक्षण देखिएको छ  र करिब २२ सय जनाको मृत्यु भएको छ । यस्तै प्रकारले डेनमार्कले पनि लकडाउनको अवधि १८ मार्च देखि १३ अप्रिलसम्म बढाएको छ र करिब १६० जनाको मृत्यु भइसकेको छ । यस्तै प्रकारले आयरल्यान्डमा पनि लकडाउन अवधि १७ मार्च देखि १९ अप्रिलसम्म बढाइएको छ र करिब २ सय ३५ जनाको मृत्यु भइसकेको छ ।  

कोरोना भाइरसको महामारीले प्रताडित युरोपियन मुलुक हो बेलायत, सुरुमा यस भाइरसको सङ्क्रमण फेब्ररीको पहिलो हप्तामा देखिएता पनि मार्च देखि महामारीको रूप लिन थालेको थियो । हालसम्म करिब ६० हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ र करिब ४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । सुरुमा मार्च २४ मा ३ हप्ते लकडाउनको घोषणा गरे पनि मार्च ३० मा आवश्यक परेमा ६ महिनासम्म लकडाउनको अवधि बढाउन सकिने भनाइले सबैलाई अचम्मित बनाएको छ । समग्र रूपमा युरोपका देशहरू स्पेन, इटली, जर्मनी, फ्रान्स, टर्की, बेल्जियम, स्वीटजरल्याण्ड, नेदरल्याण्ड,पोर्चुगल, अस्ट्रेलिया, रसिया, नर्वे, डेनमार्क, चेकोसलाभिया, रोमानिया,सर्भिया, फिनल्याण्ड,युक्रेन, ग्रिस आदिमा फैलिएको छ । तर, पश्चिमी युरोपभन्दा पूर्वी युरोपमा कम मात्रै फैलिएको छ र युरोपियन युनियनका सबल राष्ट्रहरूमा बढी मात्रामा फैलिएको छ । 

विश्वभर कोरोना भाइरस १५ लाख भन्दा बढी मानिसहरूमा सङ्क्रमित भइसकेका छ र करिब ९० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको  छ । यसमध्ये संयुक्त राज्य अमेरिका (युएसए)मा करिब ४ लाख ५० हजार भन्दा बढीमा सङक्रमित भई करिब १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वभरको सङ्क्रमित विचार गर्ने हो भने सबैभन्दा बढी अमेरिका छ,  यो सङ्ख्या बढ्दै छ र मृत्युदर पनि बढ्दै छ । सुरुमा फेब्रुअरी २६ मा देखिएको भाइरसको सङ्क्रमण मुख्यतया सहरी क्षेत्रहरूमा महामारीको रूपमा फैलिएको छ । मुख्यतया तटीय क्षेत्र  जस्तै  न्यूवोर्क, न्युजर्सी, मिचिगन, फ्लोरिडियामा  बढी देखिएता पनि करिब ५० भन्दा बढी राज्यमा फैलनुले पनि चिन्तित बनाएको हो  । यस्तै प्रकारले क्यानडा तथा दक्षिण अमेरिकाका अन्यदेशहरु ब्राजिल, चिली, कोष्टारिका , होन्डरस, पानमा, पाराग्वे आदि देशमा पनि बढ्दै छ । जसले गर्दा सम्पूर्ण उत्तर अमेरिकादेखि दक्षिण अमेरिकाका देशहरूमा फैलिसकेको छ । 

यस्तै प्रकारले एसियाली देश भारत पनि कोरोना भाइरसको सङ्क्रमण जनवरी ३० मा देखिएको थियो । हालसम्म करिब ६ हजारभन्दा बढीमा सङ्क्रमण देखिएता पनि करिब २ सय भन्दा बढीको मृत्यु भएको छ । भारतले २४ मार्च देखि १४ अप्रिलसम्म सम्पूर्ण देशमा लकडाउनको घोषणा गरेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी सङ्क्रमित दोस्रो मुलुक हो इरान । हालसम्म इरानमा ६५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् र करिब ४ हजारभन्दा बढीको मृत्यु भइसकेको  छ । यस महामारीले मध्यपूर्वका राष्ट्रहरू जस्तै साउदी अरेबिया, कतार, कुवेत, इराक, जोर्डन आदिमा पनि सङ्क्रमित भएका छन् भने पूर्वी एसियाका राष्ट्रहरू थाइलेण्ड, मलेसिया, फिलिपिन्स आदिमा पनि संड्क्रमित भएका छन् । अफ्रिकी राष्ट्रहरूमध्ये सबैभन्दा बढी सङ्क्रमित भएको राष्ट्र हो दक्षिण अफ्रिका र यहाँ २ हजार भन्दा बढी सङ्क्रमित भएका छन र १८ जनाको मृत्यु भइसकेको छ । नेपालको बारे कुरा गर्ने हो भने हालसम्म ९ जनामा संङक्रमण देखिएता पनि कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । नेपालले पनि २४ मार्च देखि १५ अप्रिलसम्म लकडाउनका घोषणा गरेको छ । 

हाल करिब २०० भन्दा बढी राष्ट्रहरूमा फैलिएको कोरोना भाइरसको महामारीले सबैलाई चिन्तित बनाएको छ । तर चीनको वुहान सहरबाट फैलिएको भाइरसको महामारी चीनमा निर्मूल हुनु तर अमेरिका तथा युरोपेली राष्ट्रमा फैलनुले सबैलाई त्रसित बनाएको छ । मुख्यतया धनी तथा विकसित राष्ट्रहरूमा बढी रूपमा फैलनु तर एसियाली तथा अफ्रिकी राष्ट्रमा कम मात्रामा फैलनुले पनि सबैलाई अचम्मित भने बनाएको छ । मुख्यतया यस भाइरसको महामारीको मृत्युदर सरदर २ प्रतिशत मात्रै भएता पनि केही राष्ट्रमा १० देखि १२ प्रतिशत पुग्नुले पनि यसको अवस्था बारे निर्क्योल गर्न सकिरहेको  छैन । 

समग्रमा धेरै राष्ट्रहरूमा यस भाइरसको अवस्थाबारे जानकारी जनवरी अन्त्यदेखि फेब्ररीको सुरुमा भएता पनि महामारीको विस्तार चाही मार्च महिनामा हुन पुगेको देखिन्छ । समग्रमा बिचार गर्दा धेरैजसो राष्ट्रहरूले लकडाउनको नीति पनि मार्च १५ देखि अप्रिल १५ सम्मलाई लिएका छन् । तर हालको अवस्था हेर्दा धेरै जसो राष्ट्रहरूमा महामारीको नियन्त्रण हुने सम्भावना देखिँदैन । केही राष्ट्रहरू थप लकडाउनको नीति नै अवलम्बन गर्ने देखिन्छ ।

सबैभन्दा मुख्य प्रश्न के छ भने लकडाउनको नीति कहिलेसम्म लम्ब्याउने ?  यसले आर्थिक तथा सामाजिक क्षेत्रहरूमा पर्ने प्रभावलाई कसरी व्यवस्थापन गर्ने ? विश्वभरका धेरै जसो आर्थिक विश्लेषकहरू सहमत छन् कि आगामी दिनमा विश्वभर ठुलो आर्थिक मन्दी आउने छ र यसले सम्पूर्ण राष्ट्रहरूलाई असर गर्नेछ ।मानवताको दृष्टिकोणबाट हेर्दा स्वास्थ्य तथा जीवन नै महत्त्वपूर्ण कुरा हुन्छ । तर आर्थिक मन्दीले ल्याउने भोक तथा गरिबिको समस्या पनि उत्तिकै छ । यदि आर्थिक समस्या विकराल भएमा अहिलेको महामारीले भन्दा बढी मानिसको मृत्यु भोक र  रोगबाट हुन जान्छ ।

अतः विश्वका सबै राष्ट्रहरू एकजुट भएर कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नु जरुरी छ र साथसाथै आर्थिक मन्दी हुने सम्भावनालाई बिचार गरेर ठोस विश्वव्यापी निर्णयहरू गर्नु जरुरी छ । नेपालले अहिले लिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने नीति सह्रानीय नै छ । तर भविष्यमा आउने ठुलो आर्थिक सङ्कटलाई थाम्न सक्ने ठोस आर्थिक तथा सामाजिक नीतिहरू आउनु जरुरी छ । यसको लागि विशेषज्ञहरूसँग परामर्श गरी कार्यान्वयनमा जानु अति जरुरी छ । अन्यथा हामी पनि ठुलो आर्थिक समस्याको भुमरीमा फस्नेछौँ ।