वीरगञ्ज कारागारका कैदीबन्दीबाट कोषमा  ७५ हजार ८४० प्रदान

वीरगञ्ज कारागारका कैदीबन्दीबाट कोषमा  ७५ हजार ८४० प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  चैत्र २९, २०७६

पर्सा ।  वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको  ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ । 

विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले एक दिनको खर्चबापतको ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो ।  कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । 

  सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताउनुभयो ।  हाल कारागारभित्र एक हजार २८६ कैदीबन्दी रहेका छन् । कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ । सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताउनुभयो ।