धन्य सामाजिक संजाल ! तन्नाका बुट्टा गन्नेदेखि फुलेका कपाल गन्नेहरुकाे तर्फबाट !!

धन्य सामाजिक संजाल !  तन्नाका बुट्टा गन्नेदेखि फुलेका कपाल गन्नेहरुकाे तर्फबाट !!

शेखर दाहाल  |  दृष्टिकोण  |  चैत्र २९, २०७६

कोरोना भाइरस अर्थात् कोभिड- १९ कहिलेदेखि र कहाँबाट मान्छेमा फैलियो ? केबाट फैलियो ? यो प्रकृतिकै कुनै जीवमा पहिल्यै थियो र मान्छेमा आयो कि कसैले ल्याबमा बनाएको जैविक हतियार हो ? यो कस्तो विषाणु हो ? यसका नातागोता कति छन् ? यो कुन भाइ हो ? यी प्रश्नको उत्तर वैज्ञानिकले भविष्यमा देलान् र पढ्न पाइएला नै ।

कोरोनाबारे मलाई यति थाहा छ- यो एउटा महामारी फैलाउने भाइरस हो । यसले धनी, गरिब, मास्टर, मिनिष्टर, लिटरवाला, मिटरवाला केही पनि भन्दैन । जसलाई पनि सर्न सक्छ । सरकारको आदेश मान्नुपर्छ । मान्छेसँग दूरी राख्नुपर्छ । भए कोहीकोही बेला करेसाबारी पस्नुपर्छ, नभए घरमै बस्नुपर्छ । बस्, कोरोनाका बारेको मेरो पूर्ण ज्ञान यही हो ।  

म जस्तै तपाईँहरूले पनि यस युगमा घरमै थुनिएर बस्नुपर्ला भन्ने सोच्नुभएको थिएन होला । यो बन्दाबन्दी कटाउन हामीलाई सामाजिक संजाल र संंचार माध्यमले धेरै सहयोग गरे । यी नहुँदा हुन् त हाम्रो समय कसरी कट्थ्यो होला ? त्यतातिर नजाऊँ, यो सान्दर्भिक पनि छैन । यो समयमा सामाजिक संंजालमा जे देखियो, त्यसको संक्षिप्त चर्चा मात्र यहाँ गरेको छु । 

सुरुसुरुमा मान्छेलाई लकडाउन हो कि नेपालबन्द हो, थाहै भएनछ । दिनभर घर बसेका मान्छे पाँच बजेपछि गुरुरु सहर पसेको देखियो । बोराका बोरा चामल, किलोका किलो दाल र चिनी किनेको, स्यानिटाइजर खोज्दै हिँडेको, एउटै परिवारमा सातवटासम्म ग्यासका सिलिण्डर थुनेको पनि सामाजिक संंजालमै देखियो । कोरोनादेखि पनि नडराएर लखरलखर बाटामा हिँड्ने मान्छेलाई प्रहरीले नीलडाम बस्ने गरी बजा'का र साँचाले समा'का दृश्य पनि देखियो । आफू सुत्ने खाटको तन्ना मिलाए कि मिलाएनन् तर धेरैले तन्नाका बुट्टा गन्न भ्याए, कतिले झ्यालका डन्डी र फुलेका कपाल गन्न भ्याए । टिकटक बनाएर प्रतिभा देखाउने र अर्काको फेसबुकमा रहेका पुराना फोटा बुस्ट गर्ने होडबाजी नै चल्यो । 

झन् यो लकडाउनका समयमा यो देशका धर्मशास्त्री, अर्थशास्त्री, जीवशास्त्री, ज्योतिषी, पोषणविद्, कृषिविद्, वनस्पतिविद्, वातावरणविद्, कवि, लेखक, नेता, अभिनेता, वैज्ञानिकहरूले आफ्ना विचारहरू एकसे बढकर एक राखेका देखियो । कसैले कोरोना फैलिनुको कारण बताए । कसैले भविष्यप्रतिको चिन्ता जताए । कसैले जनचेतना जगाए, कसैले कोरोनाबाट बच्ने उपाय सुझाए ।

यो लकडाउनमा धार्मिक पक्ष पनि सशक्त नै देखियो । पण्डितजीले फेसबुक लाइभबाटै महामृत्युञ्जय मन्त्र जपेर र पुराण भनेर भक्तजनको मनमा शान्ति फैलाए । पास्टरले येशुका नाममा झाँक्री बसेर कोरोना भगाए र बाइबलका मन्त्र पढेर पायल्सलगायतका रोगको उपचार गरेर विश्वासीका मनको त्रास र शरीरको रोग दुवै भगाए । घरका श्रीमानहरू अरू बेला भान्सनकोठाको डाइनिङ टेबलभन्दा भित्र छिर्थे कि छिर्दैनथे तर यस पटक श्रीमतीलाई खुरुखरु भान्साका काममा सघाएको देखियो ।

गरिबले राहत नपाएर धुरुधुरु रोएको, धनीले राहत कुम्ल्याएर मुसुमुसु हाँस्दै हिँडेको पनि देखियो । हुँदाहुँदा अघिल्लो दिन '२५ जनाभन्दा धेरै एक ठाउँमा भेला हुन पाइन्न है' भन्ने मन्त्रीजीले भोलिपल्टै २५० भन्दा धेरै पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेको देखियो । 

सामाजिक संंजालले शान्ति र हाँसो मात्र दिएन, कुनैकुनै दृश्यले मान्छेका आँखा पनि रसाए । प्रहरी शान्ति सुरक्षाका लागि दिनरात नभनी डटेको, डाक्टर र नर्सले पीपीईविना पनि बिरामी बचाउन ज्यानको बाजी थापेर खटेको, डाक्टर र नर्स नै स्यानिटाइजरको लाइन बसेको, पत्रकारले दिनरात नभनी खट्नुपरेको, व्यापारीले काल‍‍ोबजारी गरेको तर कारबाहीमा नपरेको, महाकालीपारि देश रोएको, निजी अस्पतालले बिरामी लिनै नमानेको, बिरामी छट्पटाई छट्पटाई एम्बुलेन्समै मर्नुपरेको जस्ता दृश्यहरू कम हृदयविदारक थिएनन् । ती पनि देखियो । 

झन् यो लकडाउनका समयमा यो देशका धर्मशास्त्री, अर्थशास्त्री, जीवशास्त्री, ज्योतिषी, पोषणविद्, कृषिविद्, वनस्पतिविद्, वातावरणविद्, कवि, लेखक, नेता, अभिनेता, वैज्ञानिकहरूले आफ्ना विचारहरू एकसे बढकर एक राखेका देखियो । कसैले कोरोना फैलिनुको कारण बताए । कसैले भविष्यप्रतिको चिन्ता जताए । कसैले जनचेतना जगाए, कसैले कोरोनाबाट बच्ने उपाय सुझाए ।

केही धर्मशास्त्रीले धर्मनष्ट भएर कोरोना फैलिएको देखे । ज्योतिषीले कोरोना फैलिनुमा सूर्य ग्रहणलाई दोषी ठाने । जीवशास्त्रीले प्राकृतिक जीवचक्रमा परेको असर बताए । वातावरणविद्ले वातावरण प्रदूषण नै यसको मूल कारण हो भनेर दावा गरे । खाद्यविद् र पोषणविद्ले खानाका अनेक परिकार सिकाए । सधैँ ह्विस्कीको चुस्की लगाउने मुखलाई पनि गुर्जोको झोल चखाए ।

अर्थशास्त्रीले देशको आर्थिक भविष्यको चिन्ता गरे । वनस्पतिविद्ले चुरे र चारकोसे मासिएकामा दु:ख व्यक्त गरे । कृषिविद्ले तराईको जमिन काँक्रा चिरिएझैँ चिरिएकामा दुःख व्यक्त गर्दै यस्तै विपत्ति पर्ने हुँदा कृषिमा देश आत्मनिर्भर हुनुपर्ने सुझाव दिए । कवि, लेखक पनि पछि परेनन् । कसैले कोरोना रोक्न विज्ञानले केही गर्न नसकेकामा विज्ञानकै धज्जी उडाए । कसैले संवेदनाका गीत गाए । कसैले जनचेतना फैलाए ।

फेसबुक र ट्ववीटरका मात्र विद्वानहरूले पनि धेरै ज्ञानगुनका कुरा सिकाए । कसैकसैको त नेपाली भाषामा लेखिएको स्टाटस पढ्दा लाग्थ्यो, नेपाल राष्ट्र बैंकको भावी गभर्नरमा तिनकै नियुक्ति हुँदै छ । यी सबै देखियो, पढियो । 

अपवादलाई छाडेर विषयविज्ञ र युवा जमातका धेरै लेख, रचना र टुक्रे अभिव्यक्ति हेर्दा लाग्यो, अब नेपालमा केही हुँदै छ । यहाँको प्रकृति संरक्षण हुँदै छ । देश कृषिमा आत्मनिर्भर हुँदै छ । अब देशका युवाहरू काम खोज्दै विदेश भौँतारिनेछैनन् । देशमै स्वरोजगारको बाटो खोजिनेछ । अब युवा जाग्नेछन्, देश विकासमा लाग्नेछन् । यी सबै देखियो, पढियो ।

तर, मलाई लाग्छ- यी सबै फुर्सदका गफ मात्र हुन् । २०७२ सालको भूकम्प र नाकाबन्दीमा हामीले यस्तै कुरा गर्‍यौंँ  तर ती कुरा कति कार्यान्वयन भए ? देश केमा आत्मनिर्भर भयो ? राज्यले उत्पादनमूलक क्षेत्रमा कति लगानी बढायो ? 

महासयहरू ! हामी नेपालीहरू सुध्रनका लागि बिग्रेका नि होइनौँ । यी त केवल समस्यामा पर्दा चलेका स्यालका हुइँया हुन् । समस्या सकिएको भोलिपल्टै हामी हाम्रै तालमा आइपुग्छौँ । 

हाम्रो पूर्वीय दर्शनले परोपकारका लागि वा समाज र राष्ट्रका लागि बाँच भन्छ । हामीले यसलाई आफ्नै उपकारका लागि बाँच भनेको बुझ्यौँ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि नै हाम्रोमा आत्मोपकारका लागि बाँच्ने चलन चलेको देखिन्छ । शाह वंशीय राजा, महाराजाले भोग विलासका लागि रानी थुपारेको, रानीहरूले आफ्नो छोरो राजा बनाउन पाए आफ्नो आत्मोपकार हुन्छ भनेर गाँड कोराकोर गरेर देश ध्वस्त पारेको इतिहासमा हामीले पढेका छौँ । राणाहरू आत्मोपकारमै रमाए । प्रजातन्त्रपछि यसका हिमायतीहरू आत्मोपकारमै लागेकाले पंंचायत आयो । यसले पनि परोपकार गर्न सकेन ।

पुन: प्रजातन्त्र र गणतन्त्रको पनि हालत उस्तै छ । सबैले परोपकारलाई आत्मोपकार बुझे । उल्टो कुरा बुझ्ने चलन पुर्खादेखि नै चलिआएको संस्कार हो । यसको उल्लंघन गर्नु हुुुँँदैन।

म प्रसंगबाहिर जान्नँ । फेसबुकमा एक जना मित्रले कोभिड- १९ को महामारीमा दिनरात नभनी आफ्ना जनताको ज्यान बचाउन खटिएका मन्त्रीजीप्रति व्यंग्य गरेर लेखेका थिए- 'विना सुरक्षा सामग्री कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरको टोली मन्त्रीजीकहाँ पुगेर मन्त्रीजी ! यस्तै हो भने त हाम्रै काल आयो भनेका त मन्त्रीजीले  माल आयो भनेको सुनेछन् ।'

उनको दाबी के कति सत्य हो, थाहा भएन तर यो विषयको पक्ष र विपक्षमा दोहोरी चलेको देखियो । पक्षका सबैले एकै पटक हनुमान र विपक्षका सबैले शकुनिको संज्ञा पाएको पनि देखियो । यसै प्रसंगको समाचार पनि रातारात अनलाइनबाट नै हराएको अर्को समाचार पनि पढियो । मन्त्रीजीले स्पष्टीकरण दिएको पनि देखियो ।

तर, उल्टो मात्र बुझ्न बानी परेका तपाईँ हामीले उल्टै बुझे पनि त्यसमा मन्त्रीजीको दोष होइन, तपाईंं हाम्रै दोष हुने हो । 

फेरि पनि भन्छु= हामी सुध्रँदैनौँँ । कोरोना त्रास मत्थर भएका भोलिपल्टबाट मच्चिनेहरू अस्तिझैँँ मच्चिनै रहनेछौँ । घरमै थच्चिनेहरू थच्चिनै रहनेछौँ । काममा जोतिनेहरू जोतिई नै रहनेछौँ ।

यो समयमा कतिले नाम कमाए, कति भाइरल भए, कतिले कला सिके, कति लेखक र कवि बने । आफू भने खाँदै, बस्दै र सामाजिक सञ्जाल हेरेरै बिताइँदै छ । धन्न ! यो सामाजिक सञ्जाल थियो र यति धेरै ज्ञानगुनका कुरा सिक्न पाइँदै छ । यति लामो बन्दाबन्दीको समय कटाइँदै छ । सामाजिक सञ्जालका ती सबै पात्रको जय होस् ।