जनस्वास्थ्यविज्ञ डा. पाण्डेका अनुसार यसो गरे जितिनेछ कोरोनालाई

जनस्वास्थ्यविज्ञ डा. पाण्डेका अनुसार यसो गरे जितिनेछ कोरोनालाई

डा. रवीन्द्र पाण्डे  |  स्वास्थ्य  |  चैत्र ३०, २०७६

- कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय १०० प्रतिशर घरभित्र बस्ने हो । सरकारले लकडाउन गर्ला वा नगर्ला, कडा गर्ला वा लचिलो गर्ला- हामी एक महिना घरभित्र बस्यौँ भने ठूलो खड्को काट्नेछौँ ।

- अमेरिका, युरोप, कोरिया, जापान, इरानलगायतका देशमा नयाँ संक्रमण अब तीब्र गतिमा घट्छ । यो एक महिना घरभित्र बस्दा यी देशहरू सुरक्षित हुनेछन् । अस्ट्रेलिया, भारत, खाडी मुलुक तथा अफ्रिकामा कडा लकडाउन र ब्यापक परीक्षण हुँदै छ । लकडाउन, क्वारेन्टाइन, आइसोलेसन र उपचारका कारण यी देशमा छ हप्तामा स्थिति नियन्त्रणमा आउनेछ ।

- नेपाल हालसम्म सुरक्षित छ । सरकारले लकडाउन भारतको समानान्तर बढाउने, बोर्डर सिल गर्ने, परीक्षण/क्वारेन्टाइन/आइसोलेसनलाई थप मजबुत बनाउँदा नेपालमा खतरा देखिँदैन । सीमाका स्थानीय जनतासँग सरकारले एकाकार भएर सशस्त्र प्रहरीसँगै बाक्लो गस्ती बढाउने काम गरेमा नेपाल थप सुरक्षित हुन्छ ।

- कोरोना भाइरसको पुस्तान्तरण हुने तथा नयाँ रूपमा स्वरूप परिवर्तन हुने प्रक्रियाको अध्ययन गर्दा उत्तरोत्तर कान्छो पुस्ता कमजोर हुँदै गएको छ । पहिलो ओरिजिनल स्ट्रेन, जुन वुहान, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिकालगायतका देशमा फैलियो, त्यसपछिको पुस्ता कमजोर देखिएको अनुसन्धानले देखाएको छ । तसर्थ अब संसारका सबै देशमा मोडरेट हुँदै माइल्ड अर्थात् सामान्य संक्रमण मात्र हुने र नयाँ संक्रमितको मृत्युदर निकै कम हुनेछ ।

- कोरोना भाइरस फैलावटको अध्ययन गर्दा धेरै नयाँ तथ्य फेला परिरहेका छन् । यो भाइरस संक्रमित व्यक्ति खोक्दा, हाछ्युँ गर्दा, सुसेली हाल्दा तथा घुर्दा १३ फिटसम्म पुग्ने र सामान्य कुराकानी गर्दा ८ फिटसम्म पुग्न सक्ने अध्ययनले जनाएको छ । तसर्थ व्यक्तिगत दूरी बढाउनु अत्यावश्यक छ । यो तथ्यमा हामी चनाखो हुनु जरुरी छ ।

- त्यस्तै, कोरोना संक्रमितको उपचार तथा स्याहार गर्ने व्यक्तिको जुत्ताको सोलबाट संक्रमण धेरै समयसम्म सर्न सक्ने भएकाले अस्पतालबाहिर निस्केपछि चप्पल/जुत्ता त्यहीँ छाड्नुपर्ने, खुट्टा संक्रमणरहित बनाएर अर्को जुत्ता अनिवार्य लगाउनुपर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

- विश्व स्वास्थ्य संगठनले पहिले भनेको धारणामा परिवर्तन गरेको छ । तदनुसार बाहिर निस्कँदा सबै व्यक्तिले अनिवार्य रूपमा मास्क लगाउनुपर्छ । मास्क उपलब्ध नभए कपडाको २-३ लेयर भएको मास्क, छिद्र नभएको सल आदि भए पनि लगाउँदा थप सुरक्षित हुन सकिन्छ ।

- कोरोना संक्रमण भए पनि इम्युनिटी पावर हाई भएमा डर मान्नुपर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पोषिलो खाना, व्यायाम, मनोरन्जन, पर्याप्त निद्रा, योग, सकारात्मक सोचलाई उत्तरोत्तर ख्याल गर्ने कुरा हाम्रो हातमा छ ।

- अहिले विश्वका सयौँ प्रयोगशालामा खोप तथा औषधिको अनुसन्धान भइरहेको छ । ती अनुसन्धान मान्छेमा प्रभावकारी देखिएका छन् । आशा गरौँ, ती उत्पादन विश्व बजारमा छिटो आउनेछन्  । 

- नबिर्सौं, कोरोना संक्रमण तथा जोखिम हाम्रो हातमा छ । घरमै बसौँ, इम्युनिटी पावर बढाऔँ, चिन्ता नगरौँ ।

(जनस्वास्थ्यविज्ञ डा. पाण्डेको फेसबुकबाट)