प्रतिकूलतामा ऐतिहासिक भौतिकवादको प्रयोग

प्रतिकूलतामा ऐतिहासिक भौतिकवादको प्रयोग

हस्तबहादुर के.सी.  |  जीवनदर्शन  |  फाल्गुन २३, २०७५

माक्र्सवादको प्रतिवादन गर्दा कार्ल माक्र्सले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद काण्डदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवरवको भौतिकवाद तथा हेगेलको द्वन्द्ववादको चरम विकास र आदर्शवाद, फायरवारवमा भौतिकवादको राम्रो विकास भएको मानिन्छ । तर, उनी अधिभूतवादी र धार्मिक–नैतिक–क्षेत्रमा आदर्शवादी रहेको मानिन्थ्यो । यही सन्दर्भमा माक्र्स एंगेल्सले हेगेलको आदर्शवादको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगीकार थिए । माक्र्सले फायरवारव या विद्यमान अधिभूतवाद र आदर्शवादको समेत विरोध गर्दै उनको भौतिकवादलाई भने अँगाल्न पुगेको देखिन्छ । माक्र्स–एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जन, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको रूपमा द्वन्द्वात्मक भौतिकवादको आधारशिला तयार पारेका थिए । अर्थात् माक्र्स–एंगेल्सले हेगेल र फायरवारवको टाउकोले टेकेको दर्शनलाई सुल्टयार खुट्टाले टेकेर उभिने बनाइदिएर द्वन्द्वात्मक भौतिकवादको विकासका रूपमा माक्र्सवादीले व्याख्या गरिरहेका छन् ।

माक्र्सले समाज विज्ञानका रूपमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर ‘वर्ग, वर्गसंघर्ष, इतिहासमा बल प्रयोग भूमिका र इतिहासदेखि आजसम्मका इतिहास वर्गसंघर्षको इतिहास हो’ भनी संश्लेषण गरेको पाइन्छ । यो र यस्तै संश्लेषणका कारण यसभन्दा पहिलेका सम्पूर्ण दर्शन पछाडि पर्न सफल भए, जसले दुनियाँमा नयाँ हलचलसमेत पैदा गर्दै आएको छ ।

लेनिनले माक्र्सवादलाई तीन स्रोतका रूपमा उल्लेख गरेका छन् । र, यसैका आधारमा माक्र्सवादमा तीन संघटका अंग पनि निर्मित भएका छन् । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यसका तीन संघटक अंग हुन भनि उल्लेख गरेका छन् ।

अर्को कुरा दर्शनशास्त्र प्रकृति समाज र चिन्तनका गतिका सामान्य नियमहरूको अध्ययन गर्ने विज्ञान पनि हो माक्र्सवाद । यसलाई माक्र्सले नितान्त नयाँ ढंगले व्याख्या गरेका छन् । यस्तै, राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरूको अध्ययन गर्ने विज्ञान हो । पूँजीवादी अर्थशास्त्रीहरूले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरूको आफ्नो सम्बन्धको अध्ययन गर्ने विज्ञानका रूपमा बुझ्ने गरेका छन् । तर, माक्र्सले राजनीतिक अर्थशास्त्रलाई मानिसहरूको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानको रूपमा स्थापित र व्याख्या गरेको पाइन्छ । मूल्यको श्रमसिद्धान्तलाई माक्र्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउने प्रयत्न गरेको पाइन्छ । ‘वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्ग संघर्ष, बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वर्गहरूको विलोपको सिद्धान्तमा आधारित रहेको हुन्छ ।’

माक्र्सले काल्पनिक समाजवादका विरूद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गरेर महत्वपूर्ण योगदान गरेका थिए । माक्र्सपूर्वका काल्पनिक समाजवादी तथा साम्यवादीहरूले पूँजीवादी उत्पादनबाट मजदुरहरूको मुक्तिको सपना त देखे । तर, त्यसलाई वैज्ञानिक सिद्धान्तको रूपमा अंगिकार गर्न सकेनन् ।

हेगेलको इतिहास हेर्दा अधिभूतवादबाट मुक्त गरी द्वन्द्ववादको रूप त अवश्यै प्रदान गरे । तर, इतिहाससम्बन्धी उनको धारणा मूलतः आदर्शवादी भएको ठहर भयो । यो स्थितिमा माक्र्सले इतिहासको भौतिकवादी मान्यताको आविष्कार अस्वीकार गरेका थिए । माक्र्सले भनेका छन्– अपितु यसको उल्टो त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारण गर्छ ।

इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै माक्र्स–एंगेल्स आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्ग–संघर्षको इतिहास हो भन्ने निष्कर्षमा पुगेका छन् ।

माक्र्स–एंगेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तर्सम्बन्धका ठाउँमा काल्पनिक अन्तर्सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरूद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमलाई राम्रोसँग उत्पादन गरेका छन्  । प्रकृति समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखालाई मुक्त गरी तिनलाई स्वायत्त विज्ञानहरूको हैसियत प्रदान गर्यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरी नयाँ ढंगले विकसित गरिएको छ । यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारा वर्गको वैचारिक अस्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादुर्भाव हुन पुग्यो । माक्र्सले समाज विज्ञानका तीन वटै क्षेत्रमा खासगरी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए । सुरूमा त माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, त्यसका साथै राजनीतिक अर्थशास्त्रका अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवादमा वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वलाई मात्र स्थापित गरेका थिए । 

पेरिस कम्युन कार्यनीतिक रूपमा संसदीय होइन । गैरसंसदीय व्यवस्थाले दोस्रो नम्बरमा पेरिस कम्युनले के गर्‍यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन, एउटा वर्गको हातबाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो । तर, जब पेरिस कम्युन सत्तामा पुगेपछि सर्वहारावर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याइदियो । तेस्रो कुरा त्यो सर्वहारावर्गको अधिनायकत्वको प्रयोगको कुरा थियो । त्यसपछि सर्वहारावर्गको अधिनायकत्व के हो भन्ने कुराको जवाफमा पेरिस कम्युनमा गएर हेर है भन्ने सम्मको अवस्था भयो ।

माक्र्सवाद प्रतिवादन माक्र्सका योगदानलाई छोटकरीमा यसरी पनि लेख्न सकिन्छ कि दर्शनका क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नुका साथै माक्र्सले जर्मन दर्शनशास्त्रका अग्रणीहरू खासगरी हेगेल, काण्ट र फायरवरलाई गहन ढंगले अध्ययन गरेका थिए । उनी काण्टको अज्ञेयवादका विरूद्ध पनि लडे । त्यसैगरी फायरवरका अधिभूतवादी भौतिकवाद र हेगेलका आदर्शवादी द्वन्द्ववाद विरूद्धमा पनि लडे ।

फायरवारको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई लिएर माक्र्सले द्वन्द्वात्मक भौतिकवाद भनी ऐतिहासिक भौतिकवाद उल्लेख गरेको पाइन्छ । ऐतिहासिक भौतिकवाद माक्र्सको मौलिक आविष्कार हो । अर्कोे योगदान भनेको माक्र्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेका थिए । उनले मानव समाजमा एउटा मुठ्ठीभर वर्गले बहुसंख्यक श्रमजीवी वर्गलाई कसरी शोषण गर्छ भन्ने कुरा पत्ता लगाएका थिए । निजी सम्पत्तिको उन्मूलन गरेर नै शोषणको अन्त्य हुने, समाजवाद आउने र त्यसपछि साम्यवादमा पुग्न सकिने उनको विश्वास थियो । सामूहिक उत्पादन र नीति विचरणको अन्तर्विरोध पत्ता लगाएर उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीच चल्ने संघर्षबाट नै समाजवाद प्राप्त हुन्छ भन्ने कुरा माक्र्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा व्याख्या गरेका छन् । त्यसका साथै माक्र्सले वैज्ञानिक समाजका क्षेत्रमा खासगरी समाजमा वर्ग हुन्छन् र त्यसलाई कसरी हल गर्नुपर्छ भनी समाधान दिने प्रयत्न गरेका छन् । उनले वर्ग संघर्ष र यसका लागि पार्टी निर्माण गर्ने प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे खाका दिएका छन् । वर्ग संघर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र संघर्षमा जानैपर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्छ भन्ने माक्र्सको निश्कर्ष छ, जस्तो: फ्रान्सको वर्ग संघर्ष, पेरिस कम्युन शिक्षा लिँदै उहाँले सर्वहारा वर्गको अधिनायकत्व आवश्यक हुन्छ भनेका थिए । साथै सर्वहारा वर्गको अधिनायकत्व किन आवश्यक हुन्छ भन्नेमा माक्र्सले चार कुरा अगाडि सारेको देखिन्छ ।

वर्गविभेद अन्त्य, वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरूको उन्मूलन र सामाजिक सम्बन्धबाट पैदा हुने विचारलाई क्रान्तीकरण गर्न सर्वहारा वर्गको अधिनायकत्व हुने कुरा माक्र्सले स्थापित गरेका छन् । यस्तै, पूँजीवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि संक्रमणकाल हो भनेर विश्व सर्वहारा श्रमजीवी वर्गलाई यिनै दर्शन माक्र्सले दिएका छन् ।  

माक्र्सवादको पहिलो प्रयोग पेरिस कम्युनमा गएर भएको पाइन्छ । ऐतिहासिक भौतिकवादले जुन वर्ग संघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व मान्यता र नियमलाई स्थापित गरेको छ, त्यो पेरिस कम्युनमा पहिलो पटक कार्यान्वयनमा आयो । पेरिस कम्युन इतिहासको एउटा परिघटना थियो, जसबारे थुप्रै सामग्री र मूल्यांकन गरिएको पाइन्छ । पेरिस कम्युन छोटो समय टिकेता पनि त्यसलाई विश्व सर्वहारा वर्गको महान् आदर्शका रूपमा लिने गरिएको छ ।

ऐतिहासिक भौतिकवाद, त्यसको सारतत्व, वर्ग संघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी मान्यता जुन माक्र्सले कम्युनिस्ट घोषणापत्रबाट सुरू गरेका थिए, पेरिस कम्युनको संश्लेषण गर्ने बेलासम्म ऐतिहासिक भौतिकवादका महत्वपूर्ण सिद्धान्तहरू परिपक्क भएर आएको देखिन्छ, उदाहरणका लागि: कम्युनिस्ट घोषणापत्रमा सर्वहारा वर्गको अधिनायकत्व भन्ने शब्द छैन, शासक वर्गका रूपमा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने क्रममा संगठित सर्वहारा वर्ग भन्ने कुरा उल्लेख छ । त्यही सिलसिलामा सर्वहारा वर्गको अधिनायकत्वसँग सम्बन्धित कुरामा अलि परसम्म माक्र्स गएको देखिन्छ । पेरिस कम्युनमा जाँदा माक्र्सले यसो भनेका थिए– पेरिस कम्युन कार्यनीतिक रूपमा संसदीय होइन । गैरसंसदीय व्यवस्थाले दोस्रो नम्बरमा पेरिस कम्युनले के गर्‍यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन, एउटा वर्गको हातबाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो । तर, जब पेरिस कम्युन सत्तामा पुगेपछि सर्वहारावर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याइदियो । तेस्रो कुरा त्यो सर्वहारावर्गको अधिनायकत्वको प्रयोगको कुरा थियो । त्यसपछि सर्वहारावर्गको अधिनायकत्व के हो भन्ने कुराको जवाफमा पेरिस कम्युनमा गएर हेर है भन्ने सम्मको अवस्था भयो ।

यसको अर्थ के हो भने कम्युनिस्ट घोषणापत्रदेखि लिएर ऐतिहासिक भौतिकवादको मान्यता वर्ग संघर्ष, सशस्त्र संघर्ष र सर्वहारा वर्गको अधिनायकत्वको मान्यतालाई पेरिस कम्युनसम्म जाँदा के कुरा पुष्टि भयो भने कम्युन त सकियो । तर, माक्र्सले के भने भने भने कम्युनजस्तै गरियो भने त्यो समाप्त भयो भने पनि ‘कम्युनले जुन सर्वहारा वर्गको मुक्तिको आदर्श थालनी गरेको थियो, त्यो मर्दैन । जबसम्म एउटा उत्पीडित वर्ग मुक्त हुँदैन तबसम्म पेरिस कम्युन बारम्बार ब्युँझिँदै जानेछ ।’

माक्र्सले भनेजस्तै सन् १९१७ मा रूसको महान् अक्टुवर क्रान्तिमा पेरिस कम्युन नयाँ ढंगले देखा पर्यो । त्यस्तै चीनमा महान नयाँ जनवादी क्रान्ति हुँदै संसारका विभिन्न मुलुकमा थुप्रै क्रान्ति सम्पन्न भए । ती क्रान्तिमा को प्रक्रियामा पेरिस कम्युन देखापर्यो । सारमा के थियो भने माक्र्सले ऐतिहासिक भौतिकवादको जुन संश्लेषण थियो, त्यो पेरिस कम्युन हो भन्ने पुष्टि हुन पुग्यो ।

माक्र्सले भनेका छन्, ‘माक्र्सवाद कुनै जडसूत्र होइन, यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो ।’ माक्र्सका बेला माक्र्स–एंगेल्सले युरोपका जर्मनी, बेलायतलगायत देशमा क्रान्ति हुन सक्ने बताएका थिए । पूँजीवादको विकास भएपछि संभारभर एकै साथ समाजवाद आउँछ भन्ने कुरा माक्र्स–एंगेल्सको दाबी थियो । तर, बीसांै शताब्दीको सुरूवातसम्म आइपुग्दा पूँजीवाद सडेगलेको पूँजीवाद भन्नु साम्राज्यवादलाई र समाजवादी क्रान्तिका लागि आवश्यक पूर्वाधारहरू तयार भएका कुनै एउटै देशमा समाजवादी क्रान्ति गरेर साम्यवादतिर अगाडि बढ्ने संश्लेषण गरिएको थियो ।

त्यतिबेला प्रकृति विज्ञानमा प्रगति हुँदै गयो, इलेक्ट्रोनको खोज भयो र सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौं आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरूले ‘पदार्थ लोप भयो’ भने । त्यसपछि भौतिकवादमाथि प्रहार हुन थाल्यो । साम्राज्यवाद जम्मिँदा मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादुर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले माक्र्सवादको गम्भीर तोडमोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति केही हदसम्म लेनिनवादवाट हुन पुगेको देखिन्छ  । त्यही परिस्थितिमा माक्र्सवादको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै लेनिनले रूसमा पूँजीवादी जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवादका सफल प्रयोगसमेत गरे । अर्थात् लेनिनकै नेतृत्वमा सन् १९१७ अक्टुवर २५ का दिन महान् रूसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यो क्रान्ति एउटा युगान्तकारी अर्को परिघटना थियो ।

त्यसको प्रभावमा संसारका धेरै मुलुकमा कम्युनिस्ट पार्टीहरू स्थापना हुन पुगे । सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । कोरिया, भियतनाम, कम्बोडिया, क्यूवा आदि देशमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न भए । पूर्वी युरोपका २० औं देशमा रूसी मोडेलको समाजवाद स्थापना हुन पुग्यो । यसरी पेरिस कम्युन विस्तार हुँदै यहाँसम्म पृथ्वीको बहुमत हिस्सा र जनसंख्यामा क्रान्तिहरू सम्पन्न भए । यसरी माक्र्सवादको सफल प्रयोग भयो । यद्यपि रूस, चीन लगायतका समाजवादी देशमा प्रतिक्रान्ति हुन गयो । र, पूँजीवादको पुनस्र्थापना हुन गयो । यसले विश्व कम्युनिस्ट आन्दोलन र विश्व समाजवादी शिविर रक्षात्मक स्थितिमा पुग्यो । यी परिघटना क्षणिक थिए । त्यसपछि पेरू, नेपालमा सशस्त्र जनयुद्ध संचालित भए । क्रान्तिको सफलताको नजिकै पुगिसकेकै बेला गोन्जालोको गिरप्mतारीका कारण पेरूको क्रान्तिले सेडब्याग खान पुग्यो भने नेपालमा दस वर्षसम्म संचालन गरिएको ‘जनयुद्ध’ले त्यसको मुख्य नेतृत्वमा वैचारिक विचलन पैदा भएर त्यसले वर्गीय र राजनीतिक रूपमा देशी विदेशी प्रतिक्रियावादी एवं साम्राज्यवादी तथा विस्तारवादीका सामु आत्मसमर्पण गरेर नवसंशोधनवादको बाटो हुँदै प्रतिक्रियावादमा पतन मात्र होइन, प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्न पुगेपछि महान् १० वर्ष ‘जनयुद्ध’ले गम्भीर प्रकारको धोका खानुपरेको अवस्थामा छ ।

भारतमा सशस्त्र ‘जनयुद्ध’ सशक्त रूपमा संचालन भइरहेको छ । यस्तै, फिलिपिन्सका माओवादीहरूले सशस्त्र ‘जनयुद्ध’ संचालन गरिरहेका छन् । टर्कीमा पनि त्यहाँका माओवादीहरूले सशस्त्र ‘जनयुद्ध’को थालनी गर्ने तयारी गरिरहेको अवस्था छ ।