नेपाल पर्वतारोहण संघद्वारा चेक हस्तान्तरण

नेपाल पर्वतारोहण संघद्वारा चेक हस्तान्तरण

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ३०, २०७६

काठमाण्डौ। कोरोना भाइरस (कोभिड–१९) माहामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ ।  

उक्त सहयोग रकमको चेक एक समारोहका बीच आज संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गर्नुभयो । संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिनुहुँदै सचिव गुरागाईले कोरोना भाइरसको माहामारीको रोकथाम, नियत्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताउँनुभयो । 

सो अवसरमा संघका अध्यक्ष सन्तबीर लामाले संघबाट प्रदान गरिएको सहयोगबाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका बिपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामगीहरुका निम्ति सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । संघले बिगतमा पनि यस प्रकारका बिपद्को समयमा सामाजिक उत्तरदायित्व सम्झी सहयोग गर्दै आइरहेको जानकारी दिनुहुँदै अध्यक्ष लामाले कोरोना भाइरसको माहाबारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परिरहेको बताउँनुभयो । 

त्यसअवसरमा संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्य शिवबहादुर सापकोटाको सहभागिता रहेको थियो ।