नयाँ वर्ष !

नयाँ वर्ष !

डा. रत्नावली शर्मा  |  साहित्य  |  बैशाख १, २०७७

विरूप बनिरहेछ विश्व 
सन्त्रस्त छन् मनहरू
नदेखिएको, नछोइएको 
विषाणु सल्बलाइरहेछ 
बन्द छन् जीवनहरू घरभित्र 
नयाँ वर्ष भारी पाइतला लिएर अगाडि बढ्दै छ ।

म चियाइरहेछु संसार झ्यालबाटै 
मन्दिर, मस्जिद, गुम्बा र चैत्यहरूले निषेध गरेका छन् 
तिम्रो पदार्पण 
कतै टेकिन्छ कि 
कतै देखिन्छ कि 
आफैँसँग सशंकित मनहरू 
घरभित्रै बन्दी भएका छन् । 

नयाँ वर्ष भारी मन लिएर झुल्किएको छ 
म चियाइरहेछु संसार झ्यालबाटै 
कतै अघिल्लै वर्षको सन्ताप र पीडा 
गढ्ने त होइन छातीमा ?
किंकर्तव्यविमूढ छ बनेको 
नयाँ वर्ष ।

बन्दी छन् मानिसहरू 
मृत्युपुञ्जले लल्कारेझैँ
सन्नाटा छ ।
नयाँ वर्ष ! महामृत्युञ्जय बनेर आऊ 
सम्पूर्ण अनिष्टहरूलाई पाखा लगाऊ
मृत्योर्मा अमृतं गमय  
र द्यौ शान्तिरन्तरिक्षं ।

शान्तिको नादलाई विश्वमै रन्काऊ
मुस्कुराउनु छ भोलिका लागि । 

नयाँ वर्ष ! 
जित्नु छ तिमीले अप्रत्यासित कहरहरू 
दिनु छ हौसला र आँट विश्वलाई  
तमसो मा ज्योतिर्गमय । 
तमसो मा ज्योतिर्गमय ।।