रोजगारी गुमाउनेलाई राहत दिइने

रोजगारी गुमाउनेलाई राहत दिइने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको कारण रोजगारी गुमाउनेहरुलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

प्रधानमन्त्री  ओलीले भिडीयो सन्देशमार्फत विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने निश्चितजस्तै भएको बताउनु  भयो । । कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले आफू सम्वद्व विभिन्न निकायहरुलाई परिचालित गरिसकेको उहाँले जानकारी दिनुभयो । 

आउँदो हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने भएकाले समग्र मूल्याङ्कनपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था रहेको उहाँको भनाइ छ । कोरोनाका कारण विकास निर्माणमा काममा अवरोध पुगेको भन्दै प्रधानमन्त्री ओलीले प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आधारभूत सुविधा र उपचार सेवाबाट वञ्चित हुन नपरोस् भनेर सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको पनि बताउनुभयो ।