निर्मला हत्या प्रकरण : डिल्लीराज विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर

निर्मला हत्या प्रकरण : डिल्लीराज विष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा दायर

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २३, २०७५

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

सरकारी वकिल कार्यालय, कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । 

घटनापछि बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ । यस्तै, प्रहरी निरीक्षक (इन्सपेक्टर) एकेन्द्र खड्का तथा जगदीश भट्ट, प्रहरी नायब निरीक्षक (सई) हरिसिंह धामी तथा रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरूको बयान आजबाट सुरु हुनेछ । 

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरिएको थियो । उनको शव भोलिपल्ट बिहान उखुबारीमा भेटिएको थियो ।

घटनापछि गठित छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाहीका साथै प्रमाण नष्ट गरेको र घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकालाई यातना दिएर अपराध स्वीकार गर्न दबाब दिएकोे औंल्याएको थियो ।