नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७७

काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पछि संक्रमितको संख्या १६ पुगेको छ । । सोमबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उहाँका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ ।

सह प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ । योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।