भारतभर ‘लकडाउन’ वैशाख २१ गतेसम्म

भारतभर  ‘लकडाउन’ वैशाख २१ गतेसम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७७

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि आज मंगलबार समाप्त हुँदैछ । 

प्रधानमन्त्री मोदीले मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भन्नुभयो, 'लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।'

यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री मोदीले गत शनिबार भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कल गरेर अहिलेको लकडाउनको अवस्थालाई के गर्ने भन्ने विषयमा परामर्श गर्नुभएको थियो । 

सबैको सुझावलाई ध्यानमा राखेर नै मे ३ सम्म लकडाउन कायम गरिएको मङ्गलबारको सम्बोधनमा उहाँको भनाई थियो । यो सबै नागरिकको जीवनको सुरक्षाका लागि गरिएकोले सबैलाई यस अवधिमा घरभित्रै बस्न र बाहिर ननिस्किन पनि उहाँले आग्रह गर्नुभयो ।

सरकारले जारी राखेको यही लकडाउनकै कारण भारतमा अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई कम गर्न सकिएको उहाँले बताउनुभयो । 

सो सम्बोधनका क्रममा उहाँले भन्नुभयो– हामीलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो परेको छ, कसैलाई खाने त कसैलाई आउजाउ गर्न पनि समस्या छ । तर पनि तपाईहरु सबै देशवासीले यस्तो अप्ठेरो अवस्थामा पनि अनुशासित रुपमा सरकारको आदेश मान्नुभएको छ र एकजना सिपाहीले जस्तो गरी कर्तव्यको पालना गर्नुभएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९ हजार भन्दा बढी पुगेको छ । मङ्गलबारको समाचारअनुसार यहाँ कोरोना भाइरसबाट ३३९ जनाको ज्यान गइसकेको छ ।