स्वास्थ्य र शिक्षामा निजी क्षेत्र छनोट: रहर कि बाध्यता ?
बैशाख ३, २०७७

पछिल्ला दिनमा विभिन्न संचार माध्यममा आएका समाचारमध्ये 'आर्यघाटमा कम हुँदै शव' भन्ने समाचारले आममानिसको मनमा तर्क वितर्क चलिरहेका छन् ।

नेपालमा अहिले भइरहेको लकडाउनका कारण बाहिरी जिल्लाबाट बिरामी नआएकाले कमी हुन पनि सक्छ ।

के अहिले निजी अस्पतालले बिरामीलाई भर्ना नगरेका अवस्थाको कारणले शव घटेकै हो त ! उपचारपछि निको हुने मानिसलाई निजी अस्पतालको लापरवाहीले नै मृत्युको मुखसम्म पुर्‍याएको हो त ?  मेरो मनमा भने यस्ता प्रश्‍न सलबलाई रहे । 

अरूबेला सामान्य अवस्थाको बिरामीलाई पनि जबर्जस्ती अस्पताल भर्ना गराई जिन्दगीभर पसिना बगाएर जम्मा गरेको पैसा लुट्नसम्म पछि नपर्ने निजी अस्पताल यस्तो संकटको बेला आफ्नो दायित्वबाट पन्छिनु कतिसम्मको अमानवीय व्यवहार अनि मनपरीतन्त्र हो, सहजै अनुमान लगाउन सकिन्छ । 

बिरामीका समस्याहरू एउटा अंगमा छन् तर उपचार वा शल्यक्रिया अर्को अंगको गरी बिरामीको मृत्यु भएको समाचार पनि हामीबीच नौलो भने होइन । सरकारी अस्पतालको कुरा गर्ने हो भने त्यसै आङ सिरिङ्ग हुन्छ । सरकारी अस्पतालको वातावरण त्यहाँ हुने हरेक कार्यहरू अस्पतालले दिने सेवा सुविधा कति प्रकियागत हुन्छन्, त्यो त हामी सबैलाई अवगत भएै कुरा हो । 

सले निजी अस्पतालमाथि प्रश्न उठाइरहँदा  सरकारी अस्पतालमा हुने लापरबाही र बेवास्ता पनि कम छैन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्र पूरा जिम्मेवार र इमान्दार देखिँदैनन् । यस कारण पनि सरकार र सम्बन्धित निकायले स्वास्थ्य क्षेत्र व्यवस्थित गर्न र जिम्मेवार बनाउन विशेष पहल गर्नु आवश्यक देखिन्छ ।

सबै सरकारी अस्पतालमा अहिलेसम्म सम्भावित रोग उपचार गर्ने औजारहरू नै छैनन् । भएकाले पनि त्यसको उचित प्रयोग गरेको पाइँदैन । अस्पतालमा आवश्‍यक पर्ने जनशक्तिको अझै अभाव छ । अस्पतालभित्रको वातावरणको कुरा गर्ने हो भने बिरामी कुर्न बसेको स्वस्थ मानिसलाई नै भर्ना गर्ने अवस्था आउन सक्छ । 

बिरामीका लागि इमर्जेन्सी छ वा बिरामीलाई तत्काल उपचार गर्नुपर्ने अवस्था रहेको छ भने पनि उसको पालो कम्तीमा ३ महिना कुर्नुपर्छ । पालो आउँदा उस्तै परे बिरामीले यो संसार छाडिसकेका हुन्छन् । यिनै माथि उल्लेखित कारणले गर्दा नै छिटो छरितोका लागि रोजाइमा पर्छन्, निजी अस्पताल ।

यसले निजी अस्पतालमाथि प्रश्न उठाइरहँदा  सरकारी अस्पतालमा हुने लापरबाही र बेवास्ता पनि कम छैन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्र पूरा जिम्मेवार र इमान्दार देखिँदैनन् । यस कारण पनि सरकार र सम्बन्धित निकायले स्वास्थ्य क्षेत्र व्यवस्थित गर्न र जिम्मेवार बनाउन विशेष पहल गर्नु आवश्यक देखिन्छ ।

यसैगरी समसामायकि बहसको विषयमा पर्ने अर्को क्षेत्र भनेको विद्यालय हो । निजी विद्यालयले गरेको दादागिरी अनि समाजमा बसेको निजी विद्यालयप्रतिको सकारात्मक छापलाई सरकारी विद्यालयसँग तुलना गर्नै सकिँदैन । रहर त आममानिसलाई पनि कहाँ छ र- शिक्षाको नाममा आफ्नो आम्दानीभन्दा बढी शुल्क तिरेर आफ्ना छोराछोरीलाई निजी विद्यालय पढाउन । 

विद्यालयको शुल्क तिर्न हम्मेहम्मे परिरहेको अवस्थामा शिक्षाको नाममा कति बालबनलिका त कुपोषणको चपेटामा समेत परिरहेका छन् । उनीहरूको शुल्क तिर्दा नै उनीहरूलाई आवश्‍यक पर्ने पौष्टिक आहार किन्ने अभिभावको अवस्था हुँदैन र रहम्हदैन पनि ।

निजी विद्यालय लाग्छ, विद्यार्थीको घर जस्तै हो । विद्यालयभित्र हुने लगनशीलता, अनुशासन, विद्यार्थीको अतिरिक्त क्रियाकलाप, परीक्षामा शत प्रतिशत परिणाम, शिक्षकको दक्षता सरकारी विद्यालयसँग तुलना गर्न सकिने छैन । हाम्रा सरकारी विद्यालयमा विद्यार्थी कक्षा कोठामा उपस्थित भएको छ कि छैन, त्यो त परै जाओस्, शिक्षक पनि महिनौँ उपस्थित भएका पाइँदैन । 

यदि उपस्थित भइहाले पनि कि त कक्षा कोठामा नै नछिर्लान्, छिरिहाले पनि उनलाई ४० मिनेटको समय कटाउन साह्रै गाह्रो । मदिरा सेवन गरी शिक्षक कक्षा कोठामा निदाइरहेको समाचार पनि हामीलाई नौलो छैन । 

माथि उल्लेखित कारणले गर्दा पनि आममानिसको निजी क्षेत्रको छनोट गर्ने रहर होइन, बाध्यता बनेको छ । हरेक मानव स्वस्थ र शिक्षित भएर बाँच्न चाहन्छ । यसका लागि उसले कुनै पनि सम्झौता गर्न पछि परेको हुँदैन । सरकारले पनि सरकारी विद्यालयलाई प्रोत्साहन भत्ता दिने, दक्ष जनशक्तिको परिचालन गराउने, आवश्‍यक सेवा सुविधा, भौतिक पूर्वाधारको निर्माण गर्ने, विभिन्न नियम वा कानुन बनाउने आफ्नो कर्तव्य वा दायित्व पूरा नगरेको खण्डमा उसलाई कारबाही गर्ने हो भने आममानिसले सरकारी क्षेत्रलाई छोडेर निजी क्षेत्रमा पक्कै पनि हामफाल्नेछैनन् ।


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।