डोलाकोटको मगर बस्ती काकाकुल

डोलाकोटको मगर बस्ती काकाकुल
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २३, २०७५

डडेलधुरा । जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालका–८ रहेको डोलाकोट क्षेत्रमा पानीका मुहान सुकेपछि गाउँ नै काकाकुल भएको छ । 

आलिताल गाउँपालिकाको डोलाकोटा गाउँमा चुरे क्षेत्र फँडानी तथा मानव बस्ती बढ्दै जाँदा पानीका मुहान सुक्न लागेका स्थानीय सरिता थापामगरले जानकारी दिनुभयो । उहाँले १० वर्षयता चुरे क्षेत्रको वन मासिँदै जाँदा खानेपानीका मूलसमेत सुक्न थालेपछि खानेपानीका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला गाउँमै खानेपानी हुन्थ्यो । केही वर्षयता गाउँमा खानेपानीका मुहानै सुकेपछि खानेपानीका लागि तीन घण्टा हिँडेर सुनखोला जानुपर्ने बाध्यता रहेको छ ।’

डोलाकोटका ज्येष्ठ नागरिक वीरबहादुर थापामगरका अनुसार पहिला गाउँमा धान रोप्नसम्म पानी हुन्थ्यो । तर, अहिले खानेपानीसमेत नहुँदा बर्खे बाली मात्र उत्पादन हुने  उहाँले बताउनुभयो । गाईबस्तुलाई दिन समेत पानी नहुँदा पाल्न छाडेको उहाँको भनाइ छ । 

नेताहरूले खानेपानीलाई चुनावी नारा बनाए पनि चुनाव जितेपछि यसतर्फ चासो नदिएको स्थानीयको गुनासो छ । 

अहिले डालोकोट गाउँमा मगर समुदायका २० परिवार बसिरहेको खबर राससमा छ ।