जनताको समर्थन रहेन भने न राजनीतिक सिद्धान्त नै टिक्छ, न त पार्टी नै !

जनताको समर्थन रहेन भने न राजनीतिक सिद्धान्त  नै टिक्छ, न त पार्टी नै !

मनिष केएस भट्टराई  |  दृष्टिकोण  |  बैशाख ५, २०७७

आज भन्दा २०४ वर्ष पुरानो राजसंस्था तानासाही भयो भनेर नेपाली जनता २०६२–६३ सालमा सडकमा ओर्लिए । सारा देश एक ढिक्का भएर राजतन्त्रको विरोधमा निस्किए । अन्त्यमा २०४ वर्ष पुरानो परम्परागत रूपमा चलिआएको राजसंस्थाको अन्त्य भयो  ।

जनताको सङ्घर्ष स्वरूप गणतन्त्र प्राप्त भयो । मुलुकमा गणतन्त्र आएको पनि १५ वर्ष पुरा भइसकेको छ । राजनीतिमा नयाँ नयाँ खालका परिवर्तन र  अभ्यास हुँदै आए । जनयुद्धमा रहेको माओवादी शान्ति प्रक्रिया मार्फत राष्ट्रिय राजनीतिमा  होमिएन मात्र र सरकार सञ्चालनको बागडोर समेत समाल्न पुग्यो ।  देशले अलग्गै खालको गति लिएको दाबी गरिएता पनि जनताको जीवनस्तरमा खासै अनुभूति हुने खालको परिवर्तन देखिन सकेन ।

परिवर्तन समयको आवश्यकता हो । त्यो निरन्तर रूपमा चलिरहन्छ । आज भन्दा करिब १५ वर्ष पछि त्यो फर्केर हेर्दा हामी कुन अवस्थामा पुग्यौँ त ? वर्तमान राजनीतिक प्रणालीमा धेरै परिवर्तन देखापरिसकेका छन् ।  आजको दिनमा नेपाली जनताले राजनीतिक नेतृत्वबाट अपेक्षा गरेका कति कुरा पुरा भय वा भएनन् ? जनता वर्तमान राजनीतिक प्रणालीबाट कतिको सन्तुष्ट छन् ? वा खुसी छन् त ? आज यसको जवाफ खोज्नुपर्ने अवस्थामा छन् ।

नेपालको राजनीतिको विगतलाई कोट्याएर हेर्ने हो भने  लोकतन्त्रको स्थापना सँगसँगै नेपाली जनता नेतृत्वबाट आश्वासन मात्र दिन्छन् भन्ने निश्कर्षमा पुग्न थालेका छन् ।  विगतलाई फर्केर हेर्दा त्यो आश्वासनले जनतालाई आशावादी भन्दा बढी निराशा पैदा गर्दै लगिरहेको छ ।

आजको दिनसम्म आइपुग्दा अधिकांश राजनीतिक दलबाट झुक्क्याउने र आश्वासन बाँड्ने काम मात्र भयो भन्ने जनताको सङ्ख्या अधिक पाइन थालेको छ । नेपाली जनताहरू राजनीति नेतृत्व र राजनीतिक दलहरू प्रति निकै रुष्ट हुन थालेका छन् र आक्रोश समेत व्यक्त गरिरहेका छन् । तत्कालीन माओवादी प्रति नेपालीहरूले निकै आशा र अपेक्षा मात्र होइन विश्वास समेत गरेका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाटजनता र देशको लागि केही हितका कार्य हुने अपेक्षा नेपाली जनताले गरेका थिए  । तर जनताको त्यो आशा एवं भरोसालाई पुरा गर्नुको सट्ट उल्टै सत्ता कब्जा गर्ने तिर लाग्दा जनताको भावनामा चोट पुगेको छ । माओवादी प्रतिको त्यो विश्वास पनि लामो समयसम्म रहन सकेन ।  जसले  जनतामा निराशाको अवस्था सृजना गर्नमा जिम्मेवार रहेको छ ।

सबैलाई जनतालाई एकजुट बनाएर राज्यको मूल अङ्गमा पुर्‍याउने र राष्ट्रलाई सबल, आत्मनिर्भर र विकास दिने खालको नेतृत्व आजको आवश्यकता हो । यसको लागि राजनीतिक परिदृश्य स्पष्ट हुन जरुरी छ । जबसम्म राजनीतिक अन्योल कायम रहन्छ तबसम्म कुनै पनि राष्ट्र सफल बन्ने कुराको अपेक्षासम्म राख्न सक्दिनै । हालसम्म  राजनीतिक अन्योल नै विकास नहुनुको मुख्य कारणका रूपमा लिइएको थियो ।

 आजको वर्तमान सरकारमा नेपाल कम्युनिस्ट पार्टीको दुइतिहाइ सहितको सरकारमा छ ।  निकै ठुलो उत्साहका साथ निर्वाचनकाे माध्यमबाट नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई आसाका साथ बहुमत समेत  दिलाएका थिए । समय र परिस्थितिको अन्तरालसँगै विभिन्न निकायबाट भए गरेका भ्रष्ट्राचार र अनियमितताको खबर सार्वजनिक भइरहेका छन् । कतिसम्म भने आमजनताले भन्नु नै पर्ने  सृजना भइरहेको छ ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको चरितार्थ हुन थालेको छ ।

यस्तो अवस्थामा छिट फुट रूपमा जनाताहरु निराश हुँदै वैकल्पिक पार्टी र व्यवस्थाको आवाज गुन्जन थालेको छ । यसरी नेतृत्व माथि नै प्रश्न उठाउन थालिएको पाइन थालेको छ । कतिसम्म भने कोही त  १५ वर्ष पहिला फलिएको राजतन्त्रको पक्षमा वकालत गर्न थालेको पाइन्छ भने कति त दलहरूको अचैचित्य माथि नै प्रश्न उठाउन थालिसकेका छन् कोही भने  विशिष्ट जनता मुखी राजनीतिक दल र नेतृत्वको खोजी गरिरहेका छन् ।

नेपालका आफ्ना राष्ट्रिय आखण्ता र राष्ट्रिय भौगोलिकता सहितका विशिष्ट  खालका गुण रहेको छ । नेपाल र नेपालीहरूलाई विभिन्न समयमा राष्ट्रियता माथि राजनीतिक नेतृत्वबाट घात र धोका भइरहेको छ ।  जसले समय समयमा गम्भीर खालका चुनौतीहरूको सामना गरिरहनुपरेको छ । अर्थव्यवस्थादेखि  भ्रष्ट्राचार र विभिन्न अनियमितता नेपाली जनताले भोग्नु परिरहेको छ । नेपाल सरकारमा रहेकाहरू विभिन्न स्वार्थ समूहहरूको घेराबन्दीबाट आफ्नो अडानबाट चुकेको अवस्था छ । 

 यस्ता गतिविधिबाट असन्तुष्ट जनताको 'मुड' लाई सहज ढङ्गले बुझ्न सक्छौ । यदि यस्ता सहनशील जनताको धैर्यताको बाँध फुट्यो भने परिणाम भयावह हुन सक्छ । संघीयमन्त्रीदेखि स्थानीय तहसम्मका पदाधिकारीहरूमा हुने गरेको कमिसनको सेटिङ, जनताले तिरेको कमा रुझाइ गर्ने प्रवृत्तिबाट जनता आजित भइरहेका कुरा प्रस्टसँग देख्न सक्छौ  । सरकारद्धरा घोषित नीतिहरूको कमजोर कार्यान्वयनले राष्ट्रलाई झनै पछि धकेल्दै लगी राखेको सर्वत्र महसुस हुन थालेको छन् ।

वर्तमान नेकपाको दुइतिहाइ सहित सरकारमा निकै कमजोर  भएको र राज्य प्रति नै वितृष्णा फैलाउने खालका रहेका गतिविधि भइरहेका छन् । सामाजिक रूपान्तरणमा मुख्य भूमिका खेल्दै समाज र राष्ट्रप्रति उत्तरदायी सरकारको अपेक्षा माथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ ।

अतः नेकपा र यसको सरकारले दीर्घकालीन रूपमा समस्याको समाधान खोज्ने र भए गरेका कमीकमजोरी हटाइ जनताको विश्वास जित्नु आजको आवश्यकता हो । सत्तामा बसेर जे गर्दा पनि हुन्छ भन्ने भ्रमबाट मुक्त भई जनताले सरकार र सरकारी गतिविधिलाई सूक्ष्म ढङ्गले नियाली रहेका छन् भन्ने कुरा भुल्नु हुँदैन । जनताको आत्मविश्वास, सजकता र दूरदृष्टि नै नेतृत्वलाई सबल बनाउने प्रमुख आधार हुन भन्ने कुरा बिर्सनु हुँदैन । सर्वसाधारणलाई केही थाहा नभएजस्तो अगाडि बढ्ने चेष्टा नगर्दे राम्रो ।

अर्को कुरा राष्ट्रियताको सवालमा पनि अहिलेको जस्तो सङ्कटको घडीमा सचेत र अडिग हुनु अति जरुरी छ । जनभावना अनुरूप राष्ट्र र जनताप्रति उत्तरदायित्व पहिलो कर्तव्य हुन आउँछ । यसको लागि हाम्रो राजनीतिक संरचना मजबुत हुन अति आवश्यक छ । कारणवश हाम्रा संरचनाहरू त्यति मजबुत हुन सकिरहेका छैनन् ।  देश बषौंसम्म पछाडि धकेलिनुमा  जनता पनि त्यतिकै जिम्मेवार छन्  ।  नागरिकको  आफ्नो प्रतिनिधि चयन गर्दा   गलत मानिस चयन गरेका कारण पनि  यस्तो भएको हो । यसको दोष दिएर मात्र पनि हुँदैन । तसर्थ जनभावना अनुरूप नै राजनीतिक बहस गरेर जनताको मर्म बुझ्नु प्रतिनिधि छनोट आजको आवश्यकता हो । जनभावना अनुरूप राज्य शासन प्रणालीमा अघि बढ्ने मानिसलाई प्रतिनिधि छनोट गर्न सकियो भने मात्र घात हुँदैन भने त्यसको मानिस छनोट गर्ने कुरामा पनि चुकिनु हुँदैन ।  यसो गर्न सकियो भने मात्र  राज्यमा जनता भनेको नै सर्वोपरि हुन भन्ने कुराको प्रमाणित हुन जान्छ । जब जनताको समर्थन रहेन भने न राजनीतिक सिद्धान्त टिक्छ, न त पार्टी नै !

 सबैलाई जनतालाई एकजुट बनाएर राज्यको मूल अङ्गमा पुर्‍याउने र राष्ट्रलाई सबल, आत्मनिर्भर र विकास दिने खालको नेतृत्व आजको आवश्यकता हो । यसको लागि राजनीतिक परिदृश्य स्पष्ट हुन जरुरी छ । जबसम्म राजनीतिक अन्योल कायम रहन्छ तबसम्म कुनै पनि राष्ट्र सफल बन्ने कुराको अपेक्षासम्म राख्न सक्दिनै । हालसम्म  राजनीतिक अन्योल नै विकास नहुनुको मुख्य कारणका रूपमा लिइएको थियो । अब त्यसो भन्ने छुट नेकपा र नेकपाकाे सरकारलाई त्याे छुट छेन ।  त्यस कारण समग्रमा भन्नु पर्दा जनभावनालाई कदर गर्दै राष्ट्रियता, सार्वभौमसत्ता र अखान्डताको पक्षमा उभिन सक्नु पर्दछ । राजनीतिक अन्योललाई परास्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्नु जरुरी छ ।