विश्व खुकुलाे नीति तर्फः लकडाउनपछिको व्यवस्थापन कसरी गर्ने ?
बैशाख ५, २०७७

विश्वभर कोरोना भाइरसको महामारीले गर्दा सम्पूर्ण मनुष्य त्रसित छन् । यस महामारीको चपेटामा २ सय भन्दा बढी राष्ट्रहरू सङ्क्रमित भएका छन् । हाल विश्वमा २१ लाख भन्दा बढी मनुष्यहरू सङ्क्रमित छन् भने करिब १ लाख ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । सुरुमा चीनको वुहान सहरबाट सुरु भएको महामारी मुख्यतया युरोप तथा अमेरिकी राष्ट्रहरुमा तीव्र गतिमा फैलिरहेको छ । 

हालको अवस्थामा यसको कुनै भ्याक्सिन तथा औषधि नभएको हुँदा सोसियल डिस्टयान्सिङ्ग, क्वारेन्टाइन अथवा लकडाउनको नीति नै धेरैजसो राष्ट्रहरूले अवलम्बन गरिरहेका छन् । सुरुमा सन् २०१९ को नोभेम्बरको अन्त्यतिर देखिएको भाइरसको महामारी ५–६ महिनामै विश्वभर फैलन पुग्यो । भाइरस आफैमा फैलने हैन यसको लागि माध्यम चाहिन्छ । हालको आधुनिक विश्व तथा विश्वव्यापीकरण तथा द्रुत गतिको यातायातको प्रणालीले गर्दा पनि छोटो समयमा विश्वव्यापी हुन पुगेको हो । हालसम्म पनि यसको फैलावटको गति कहिलेसम्म हुन्छ भनेर अनुमान गर्न सकिराखेको छैन ।

विश्वभर प्रायजसो देशहरूले लकडाउनको नीति अवलम्बन गरिरहेका छन् र आधा विश्व हाल घरभित्र छ । सरसर्ति हेर्दा प्रायजसो देशले लकडाउनको घोषणा मार्चको पहिलो तथा दोस्र हप्तामा गरेको पाइन्छ र हाल धेरै जसो देशहरूले लकडाउनको अवधि अप्रिलको अन्तसम्म बढाएको पाइन्छ । अहिलेको मूलभूत प्रश्न के छ भने लकडाउनको अवधि कहिलेसम्म लम्ब्याउने र यस नीतिले गर्दा सामाजिक तथा आर्थिक नीतिमा पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने ? हालसम्म विश्वभरका बुद्धिजीवीहरूसँग प्रस्ट उत्तर छैन । 

सर्वप्रथम कोरोना भाइरसको महामारी फैलिएको देश चीनले लकडाउनको नीति सन् २०२० को जनावरीको अन्त्यतर्फ करिब २० वटा प्रान्त तथा १६ वटा सहरहरूमा लागू गरेको थियो । करिब ७६ दिनको लकडाउनको अवधिमा करिब ८१ हजारभन्दा बढी मानिस सङ्क्रमित भए र करिब ३ हजारभन्दा बढी मानिसको  मृत्यु हुन पुग्यो । उचित व्यवस्थापन र अनुशासनले गर्दा त्यहाँ महामारी हालको अवस्थामा नियन्त्रण गर्न सकेता पनि पुनः महामारी फैलन सक्ने त्रास भने विद्यमान रहेको छ । चीन सामान्य अवस्थामा आउने कोसिस गरिरहेता पनि पुनः महामारी फैलन संभावनलाई विचार गरी  त्यसअनुसारको व्यवस्थापन पनि गर्दैछ ।

सबै जनाले यो बुझ्नु जरुरी छ कि कोरोना भाइरसको महामारीको नियन्त्रण भ्याक्सिन तथा प्रभावकारी औषधि बिना सम्भव छैन । हालको अवस्थामा भ्याक्सिन आउन पनि ६ महिनादेखि वर्ष दिन लाग्न सक्दछ । अतः यति सममयसम्म यसको ठुलो जनसङ्ख्यालाई लकडाउन राख्न सम्भव पनि छैन । धेरै ससमयसम्म लकडाउनमा राख्दा नसोचेको समस्या तथा दुर्घटना पनि हुन सक्दछ  ।

यस्तै प्रकारले करिब १ अरब ३० करोडभन्दा बढी जनसङ्ख्या भएको भारतमा लकडाउनको घोषणा सन् २०२० मार्च २४ मा गरेको थियो । भारतजस्तो ठुलो जनघनत्व, गरिब तथा मजदुरहरू भएको देशमा एकै चोटि लकडाउनको घोषणा गर्दा सुरुमा केही समस्याहरू पनि देखिएको थियो । जसोतसो २१ दिनको लकडाउनको अवधि पूरा गरेपछि थप १९ दिनको लकडाउनको अवधि मे ३ सम्म लम्ब्याइएको छ । लकडाउन नीति धेरै दिनसम्म लागु गर्दा आउने आर्थिक तथा सामाजिक समस्यालाई अनुमान राखेर अप्रिल २० देखि केही क्षेत्रहरूलाई खुकुलो बनाउँदै लैजाने कोसिस गरेको पाइन्छ । हालसम्म करिब २ लाख ५० हजारको परीक्षण गर्दा करिब १२ हजार सङ्क्रमित देखिएको छ । भारतमा  करिब ४ सय जनाको मात्रै मृत्यु भएको छ । भारत जस्तो देशको निम्ति यो तथ्याङ्क सन्तोषजनक नै मान्नु पर्दछ ।

यस्तै प्रकारले महामारीको चपेटामा परेको मुलुक इटलीमा १० लाखभन्दा बढीको परीक्षण गर्दा करिब १ लाख ७० हजारमा भाइरसको लक्षण देखिएको र करिब २२ हजारको मृत्यु भइसकेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट हुने मृत्युदर २ देखि ३ प्रतिशत भएता पनि १२- १३ प्रतिशतको मृत्युदरले सबैलाई चिन्तित भने बनाएको छ । इटलीले पनि मार्च २४ देखि मे ३ सम्मको लागि लकडाउनको नीतिलाई निरन्तरता दिइएको छ । 

यस्तै प्रकारले फ्रान्सले पनि करिब ३ लाख ५० हजारमा परीक्षण गर्दा करिब १ लाख ४५ हजारमा सङ्क्रमण देखिएर १५ हजार भन्दा बढीको मृत्यु भएको छ । फ्रान्सले पनि मार्च १६ देखि मे ११ सम्म लकडाउनको घोषणा गरेको छ । यस्तै प्रकारले स्पेनमा पनि करिब १ लाख २५ हजारमा सङ्क्रमण देखिएको छ र १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । स्पेनले पनि मार्च १४ देखि अप्रिल २६ सम्मको लागि  लकडाउनको नीति अवलम्बन गरिरहेको पाइएको छ । 

संसारका प्रायजसो देशहरूमा लकडाउनको नीति नै अवलम्बन गरेको पाइन्छ । दक्षिण अफ्रिकाले ३१ अप्रिलसम्म, कोलम्बियाले अप्रिल २७ सम्म, अर्जेन्टिनाले अप्रिल २९ सम्म बेल्जियमले अप्रिल १९ सम्म जर्मनीले अप्रिल १९ सम्म, मलेसियाले अप्रिल २८ सम्म, कुवेतले अप्रिल २६ सम्म । समग्रमा हेर्दा धेरैजसो राष्ट्रहरूले अप्रिलको अन्तसम्मको लागि लकडाउनको नीति अवलम्बन गरेको पाइन्छ । प्रश्न के छ भने अप्रिल महिनापछि पनि लकडाउनको नीति अपनाउने कि अर्को नीति अगाडि ल्याउने ?

यसैक्रममा केही राष्ट्रहरूले लकडाउनको नीतिलाई खुकुलो बनाउने घोषणा गरिसकेका छन् । अष्ट्रियाले मे १ देखि बजारलाई सोसियल डिस्ट्यान्सिङ्ग नीतिअनुसार खुला गर्ने निर्णय गरेको छ । डेनमार्कले अप्रिल १५ देखि विद्यालय खोल्ने नीति अघि सारेको छ । नर्वेले पनि अप्रिल २० देखि पूर्ण विद्यालय र अप्रिल २७ देखि १ देखि ४ कक्षासम्म खोलिने नीति अगाडी बढाएको छ । त्यस्तै प्रकारले चेकोस्लाभियाले पनि अप्रिल १७ देखि सामान्य बजार खोल्ने नीति लिएको छ । यस्तै प्रकारले स्विडेनले पनि सामान्य सोसियल डिस्ट्यान्सिङ्गलाई विचार गरी सामान्य क्रियाकलाप पहिले देखिनै लागू गरेको थियो । यस्तै प्रकारले कोरोना भाइरसको बढी चपेटामा परेको मुलुक अमेरिकामा पनि अप्रिलपछि लकडाउनको नीतिलाई पुनर्विचार गर्ने अवधारणा अगाडी सारेको छ । 

सामान्यतया सुरुमा भाइरसको महामारी फैलँदा सोसियल डिस्ट्यान्सिङ्ग तथा लकडाउनको नीति लिनु नै बुद्धिमानी हुन जान्छ । यस नीतिलाई प्रमुख आधार बनाएर लम्ब्याउँदै जाने हो भने यसले पार्न सक्ने आर्थिक तथा सामाजिक समस्याहरू थाम्नै नसक्ने हुन्छ । मूलभूत रूपमा कोरोना भाइरसको प्रकृतिलाई बुझ्नु पर्दछ । यो कोभिड–१९ अन्य कोरोना भाइरस, सार्स र मर्स भन्दा कम प्राणघातक तर अति तीव्र गतिमा सङ्क्रमण हुने भाइरस हो । चीन, ताइवान तथा हङकङले पहिलेको सार्स भाइरसको अनुभवलाई आधार मानेर चाडै नै नियन्त्रणमा लिन सके तर  बाँकी राष्ट्रहरूले त्यस्तो तयारी गर्नै सकेनन् । जसले गर्दा विश्वभर फैलन पुग्यो । 

लकडाउनको नीतिले अवश्यले नै सङ्क्रमणको दरलाई नियन्त्रण गर्न मद्दत पुग्दछ तर पूर्ण रूपले नियन्त्रण गर्न सकिँदैन । अतः लकडाउनको अवधिमा स्वास्थ्य नीति निर्माणकर्ताहरुले आवश्यक व्यवस्थापन मिलाएर क्रमैसँग लकडाउनको नीति खुला गर्दै लैजानु पर्छ । अन्यथा महामारीको चपेटाले भन्दा पनि भोक, रोग तथा गरिबीको कारण विश्वभर मानिसको बढी मृत्यु हुन सक्छ ।  लकडाउनको अवधिमा स्वास्थ्य नीति विज्ञहरूले यो कुराहरू ध्यान दिन जरुरी पर्दछ । 

१.देशको जनसङ्ख्या, अवस्था तथा क्षमताअनुसार टेस्टकिट व्यवस्थापन गरी बढी भन्दा बढी सङ्ख्यामा टेस्ट गर्नु पर्दछ ।

२.यसको आधामा सङ्क्रमितको सङ्ख्याका पहिचान गरी सङ्क्रमित दरको निरीक्षण गर्नु पर्दछ ।

३.सङ्क्रमितको दरको आधारमा आधारभूत  स्वास्थ्य सामाग्री तथा स्वास्थ्य निरीक्षक जनशक्तिको व्यवस्थापन तथा डाक्टर तथा नर्सहरूलाई चाहिने आवश्यक सामाग्रीको व्यवस्थापन गर्नुपर्दछ । 

४. लकडाउनको अवधि समाप्तभएपछि गरिने आर्थिक तथा सामाजिक क्रियाकलापको पहिचान गरी त्यसअनुसार निर्देशन जारी गर्नु पर्दछ । 

५.जति सक्यो सोसियल डिस्ट्यान्सिङ्ग नीतिलाई अवलम्बन गरी सामान्य अवस्थामा ल्याउने कोसिस गर्नु पर्दछ ।

६.सबै जनालाई यस महामारीको बारे चेतना जागृत गराई सामान्य सावधानी नीति अवलम्बन गराउनु पर्दछ ।

७.  मूलरुपले लकडाउन खुकुलो गर्दा बढ्न जाने संक्रमणदरलाई नियन्त्रण गर्ने चुस्त रणनीति तथा व्यवस्थापन हुन जरुरी पर्दछ ।

सबै जनाले यो बुझ्नु जरुरी छ कि कोरोना भाइरसको महामारीको नियन्त्रण भ्याक्सिन तथा प्रभावकारी औषधि बिना सम्भव छैन । हालको अवस्थामा भ्याक्सिन आउन पनि ६ महिनादेखि वर्ष दिन लाग्न सक्दछ । अतः यति सममयसम्म यति ठुलो जनसङ्ख्यालाई लकडाउन राख्न सम्भव पनि छैन । धेरै समयसम्म लकडाउनमा राख्दा नसोचेको समस्या तथा दुर्घटना पनि हुन सक्दछ  । हालको अवस्थामा विश्वले ठुलो आर्थिक मन्दीको सामना गर्न परी सकेको छ । फेरी अप्रिल पछि पनि लकडाउन नीति अवलम्बन गर्ने हो भने विश्व नै ठुलो आर्थिक भुमरीमा फस्नेछ र जसबाट निस्कन दशौँ वर्ष लाग्न सक्दछ । अतः यस अवधिलाई सदुपयोग गरी लकडाउनको पछिको अवस्थालाई कसरी व्यवस्थापन गर्ने हो त्यसप्रति ध्यान दिनु अति जरुरी छ ।